बलात्कारको आरोपमा सात जना पक्राउ
सुर्खेत : सुर्खेतमा एक बालिकालाई बलात्कार गरेको आरोपमा सात जना पक्राउ परेका छन् । उनीहरूमाथि १३ वर्षीया बालिकालाई सामुहिक रूपमा पटक–पटक बलात्कार गरेको आरोप लागेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार असोज १५, १६ र २३ गते बालिका बलात्कारमा परेकी हुन् । एक पटक चार जनाले र एक पटक दुई जना गरी बालिकालाई बारम्बार करणी गरिएको जाहेरी जिला प्रहरी कार्यालयमा परेको छ ।
बालिकाले जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतले सात जनालाई नियन्त्रणमा लिई अदालतबाट म्याद थप गरिसकेको छ भने अन्य केही फरार अभियुक्तको खोजी तीव्र पारेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रवि रावलले जानकारी दिए । बलात्कारको आरोपमा पक्राउ पर्नेहरू १८ देखि २३ वर्षसम्मका छन् । जिल्ला प्रहरी कार्यालयले घटनाको थप अनुसन्धान गरिरहेको बताएको छ ।
प्रकाशित मितिः १ कार्तिक २०७६, शुक्रबार १०:४५
साझा बिसौनी ।