अतिरिक्त सुविधामै सवा करोड

सुर्खेत : कर्णाली प्रदेश सभाका सदस्यहरूको मासिक पारिश्रमिक बाहेकको सुविधामा मात्रै करिब साढे एक करोड रूपैयाँ खर्च भएको छ । डेढ वर्षको अवधिमा सरकार र प्रदेश संसदका पदाधिकारीबाहेकका सांसदहरूको भत्ता र अन्य सुविधामा मात्रै एक करोडभन्दा बढी खर्च भएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ । सचिवालका अनुसार सरकारका मन्त्री तथा सभामुख र उपसभामुख बाहेक अन्य ३१ जना सांसदहरूको घरभाडा, सञ्चार सुविधा, बैठक भत्ता, ईन्धन खर्च लगाएतका शीर्षकमा एक करोड २३ लाख दुई हजार एक सय २१ रूपैयाँ खर्च भएको छ । वि.सं. २०७४ माघ ७ गतेदेखि ०७५ सालको असार मसान्तसम्ममा ३१ जना सांसदहरूले विभिन्न शीर्षकमा जम्मा ३२ लाख ३१ हजार आठ सय ३२ रूपैयाँ खर्च भएको थियो भने वि.सं. २०७५ सालको साउन एक गतेदेखि २०७६ सालको असार मसान्तसम्मा ९० लाख ७० हजार दुई सय ८९ रूपैयाँ खर्च गरेको संसद सचिवालयले जानकारी दिएको छ ।

आर्थीक वर्ष २०७४÷०७५ मा सञ्चार सुविधा वापत दुई लाख ६९ हजार तीन सय ९० रूपैयाँ सांसदहरूले लिएका छन् । त्यस्तै धारा र विजुली वापत समेत दुई लाख ६९ हजार तीन सय ९० रूपैयाँ, निजी सचिवालय बन्दोबस्त वापत ४३ हजार चार सय ८८ रूपैयाँ, घरभाडा वापत १६ लाख १० हजार चार सय ७६ रूपैयाँ सांसदहरूले खर्च गरेका छन् । सचिवालयका अनुसार अथिती सत्कारमा सांसद जीवनबहादुर शाही र यामलाल कंडेल दुवैले गरी १७ हजार तीन सय ३८ रूपैयाँ खर्च गरेका छन् । बैठक भत्तामा भने दश लाख २१ हजार सात सय ५० रूपैयाँ सांसदहरूले खर्च गरेको कर्णाली प्रदेश संसद सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार आर्थीक वर्ष २०७५÷०७६ सालमा सञ्चार सुविधा वापत सांसदहरूले ६ लाख ७७ हजार एक सय ९५ रूपैयाँ खर्च गरेका छन् । त्यस्तै धारा बिजुली वापतको पाँच लाख ६८ हजार चार सय २६, निजी सचिवालय बन्दोबस्त खर्च वापत एक लाख ७४ हजार तीन सय ४२ , अथिती सत्कार वापत ८९ हजार आठ सय ५०, घरभाडा वापत ४७ लाख ५६ हजार एक सय ६३ रूपैयाँ रकम सांसदहरूले खर्च गरेका हुन् ।

त्यस्तैगरी बैठक भत्ता वापत सांसदहरूले ११ लाख ६९ हजार सात सय ५० र यातायात ÷अनुगमन÷ भ्रमण खर्च वापत १० लाख २५ हजार दुई सय ४० रूपैयाँ रकम सांसदहरूले खर्च गरेका छन् । पौडेलका अनुसार सांसद जीवनबहादुर शाहीले हालसम्म दुई लाख १९ हजार सात सय ९० रूपैयाँ सवारी साधन मर्मतमा खर्च गरेका छन् भने सांसद यामलाल कँडेलले समेत दुई लाख १९ हजार सात सय ९० रूपैयाँ नै खर्च गरेको संसद सचिवालयले जानकारी दिएको छ ।

आर्थीक वर्ष २०७५ सालको भदौदेखि हालसम्म सांसद जीवनबहादुर शाहीले ईन्धन खर्च वापत एक लाख ४५ हजार चार सय ९८ रूपैयाँ खर्च गरेका छन् । त्यस्तै सांसद यामलाल कँडेलले समेत आर्थीक वर्ष २०७५ सालको भदौदेखि हालसम्म ईन्धन खर्च वापत् एक लाख ४५ हजार चार सय ९८ रूपैयाँ खर्च गरेका छन् ।

त्यस्तै ईन्धन खर्च वापत सांसद अम्मरबहादुर थापाले २४ हजार दुई सय ४९ रूपैयाँ खर्च गरेका छन् । सांसदहरू हिमबहादुर शाही, दिनबन्धु श्रेष्ठ, गुलाबजंग शाह, सिताकुमारी नेपाली, पदमबहादुर रोकाय र राजु नेपालीले समेत २४ हजार दुई सय ४९ रूपैयाँ खर्च गरका हुन् । घरभाडा वापत भने सांसद यामलाल कँडेल र सांसद पद्मा खड्काले रकम खर्च नगरेको सचिवालयले बताएको छ ।

यसबाहेक मासिक पारिश्रमिकमा मात्रै यो अवधिमा साढे दुई करोडभन्दा बढी खर्च भएको छ । सरकार र संसद पदाधिकारीबाहेकका ३१ सांसदको पारिश्रमिकमा दुई करोड ७४ लाख ४९ हजार रुपैयाँ खर्च भएको छ ।

प्रकाशित मितिः   १ कार्तिक २०७६, शुक्रबार १०:४३