रारा जाने पर्यटक बढे
सुर्खेत : रारा घुम्न जाने पर्यटकको संख्यामा वृद्धि भएको छ । रारा यात्राको लागि यो मौसम अनुकुल मानिन्छ । बर्खा सकिएसँगै अधिकांश पर्यटक सडक मार्गबाट रारा जान थालेका छन् । सडक मार्गबाट आउने पर्यटकको संख्या बढेपछि कर्णाली राजमार्गमा आर्थिक गतिविधि बढ्दै गएको छ । सिजनमा एक दिन एउटै होटलमा सय बढी पर्यटक आउने गरेको व्यवसायीको भनाइ छ । कर्णाली राजमार्ग हुँदै सुर्खेत, बाँके, कैलाली, दाङ, बुटवल, काठमाडौं, चितवन, नवलपरासी लगायतका जिल्लाबाट आन्तरिक पर्यटक आउने क्रम बढिरहेको हो । साना गाडी र जिप रिजर्भ गरी आन्तरिक पर्यटक रारा जाने गरेको व्यवसायीको भनाइ छ ।
केही पर्यटक मोटरसाइकलबाटै रारा पुग्ने गरेका छन् । ताडीस्थित होटल एभरेस्ट कर्णालीका सञ्चालक देवेन्द्र पाण्डेले असोज लागेपछि दिनहुँ करिब दुइ सय पर्यटक रारा जान थालेको बताए । ‘विगतमा दशैं–तिहारमा सबैजसो होटेल सुनसान हुन्थे,’ उनले भने, ‘अहिले राजमार्ग आसपासका सबैजसो होटेल भरिभराउ छन् ।’ उनले विराटनगर, बुटवल, सल्यान, चितवनलगायत जिल्लाका पर्यटकले कार्तिक नौ गतेसम्मका लागि होटेल बुक गरेको जनाए ।
रारा वरिपरि विभिन्न प्रजातिका फूल फूल्ने र चिसो धरै नहुने भएकाले राराको सिजन असोजदेखि सुरू हुने कर्णाली पर्यटन विकास समिति सदस्य मर्मजंग बमले बताए । उनका अनुसार हिमपात नहुँदासम्म रारा घुम्न उपयुक्त मानिन्छ । ‘जुम्ला र मुगु विमानस्थलमा जहाज सेवा नियमित नभएकाले सडकबाटै
अधिकांश पर्यटक रारा आउने गरेका छन्,’ उनले भने, ‘सडकको स्तरोन्नति र अन्य पूर्वाधार विकास भए पर्यटकको संख्या बढ्दै जाने अपेक्षा छ ।’
घटस्थापनापछि दैनिक दुई सयको संख्यामा पर्यटक सडक मार्गबाट रारा गएको होटल व्यवसायी संघका अध्यक्ष जनकबहादुर शाहीले बताए । ‘गत वर्षभन्दा यस वर्ष बढी आए,’ होटल चन्द्रसूर्यका सञ्चालक समेत रहेका उनले भने, ‘पाहुनाले होटल भरिभराउ हुन थालेका छन् ।’ उनले दशैं बिदाको सदुपयोग गर्दै पर्यटक रारा घुम्न आएको सुनाए । कर्णाली राजमार्ग सञ्चालनमा आएपछि आन्तरिक पर्यटक कालिकोटको बाटो हुँदै जुम्लाको सिंजाबाट रारा जाने क्रम बढेको उनी बताउँछन् ।
विभिन्न जिल्लाका जनप्रतिनिधि, कर्मचारी, व्यापारीलगायत अन्य पर्यटक कर्णाली राजमार्गबाटै रारा पुग्ने गरेका हुन् । तर सबैले सडक साघुँरो र अप्ठ्यारो भएको गुनासो गर्दै आइरहेका छन् । रारा जान बुटवलबाट आएका नमराज केसीले सडक अप्ठ्यारो भए पनि ठाउँ निकै रमाइलो लागेको सुनाए ।
प्रकाशित मितिः १ कार्तिक २०७६, शुक्रबार १०:४१
साझा बिसौनी ।