नाम जस्तै काम पनि उत्तम

वीरेन्द्रनगर–२ सुर्खेतका उत्तम शर्मा जिल्ला प्रसाशन कार्यालय सुर्खेतका प्रशासकिय अधिकृत हुन् । वि.सं. २०४६ साल चैत्र १७ गते बुवा नारायणप्रसाद शर्मा र आमा पुष्पा शर्माको कोखबाट जन्मिएका उत्तम कर्मचारी मात्रै होईनन् कलाकार पनि हुन् । कलाकारिता र जागिरलाई उनले सँगसँगै अगाडि बढाएका छन् । वि.सं. २०६८ सालमा नेपाल सरकारको खरिदार पदबाट निजामती सेवामा प्रवेश गरेका उनी आफूलाई कलाकार–कर्मचारी भन्न रूचाउँछन् । जागिरे जीवनको अवकाशपछि पनि नाट्य र नृत्य विधालाई जगेर्ना गर्ने लक्ष्य बोकेका उत्तम शर्माले आफ्नो पेशागत जीवनको कथा हाम्रा सहकर्मी सीता वलीसँग यसरी साटे ः
बालापनमा कलाकारको लक्षण थिएन
म सानैदेखि शान्त स्वभावको थिएँ । आमाले किनेर ल्याईदिएको कपडाजस्तो भएपनि लगाउने । मेरो कुनै रोजाई थिएन । पढाईमा भने म सानैदेखि उत्कृष्ट नै थिएँ । विद्यार्थी जीवनमा वक्तृŒवकला प्रतियोगिता, कविता प्रतियोगितामा भने खुब भाग लिन्थेँ । धेरै पटक मेडल समेत हात पारेको अनुभव छ । तर सानैदेखी म मा कलाकार हुने लक्षण भने थिएन । वि.सं. २०६० सालमा एस.एल.सी. उत्तीर्ण गरेपछि म कलाकारितामा प्रवेश गरेको हुँ । मलाई कलाकारितामा प्रेरणा अथवा सहयोग गर्ने संगिता वली हुनुहुन्छ । आवाज संस्था सुर्खेतबाट पहिलो पटक नाटक खेल्ने अवसर उहाँकै सहयोगमा पाएको थिएँ ।
कलाकारितामा प्रवेश गरेपछि मेरो स्वभाव नै परिवर्तन भयो । पहिला भन्दा धेरै बोल्ने र चञ्चले स्वभाव विकास भयो । विस्तारै नृत्य विधा समेत सिक्न थालेँ । क्याम्पस रोडमा रहेको दिपज्योती कला केन्द्र सुर्खेतमा छोटो समय नृत्य सिकेँ । वि.सं. २०६१ सालतिर वागिना समूह सुर्खेतमा कुलमान नेपाली सरसँग नृत्य सिकेँ । कलाकारिताकै माध्यमबाट मैले विभिन्न देशहरू समेत घुम्ने अवसर पाएको छु । मैले लेखन तथा निर्देशन गरेको नाटक ‘मुक्ति’ वि.सं.२०६६ सालमा नेपाल प्रथम समेत भएको थियो । नृत्यमा समेत विभिन्न क्षेत्रिय प्रतियोगिताहरूमा प्रथम भएको छु ।
बुवाआमा दुवैको सपना पुरा गरेको छु
मेरो बुवा नेपाल सरकारको लेखा अधिकृत हुनुहुन्थ्यो । त्यसैले पनि होला मलाई बुवाले निजामती सेवामा प्रवेश गरोस् भन्ने चाहाना राख्नुहुन्थ्यो । मेरो आमालाई भने छोरो कलाकार भईदेओस् भन्ने ठुलो चाहाना थियो । त्यसैले मैले बुवाआमा दुवैको चाहाना पुरा गरेको छु जस्तो लाग्छ ।
मेरो नृत्य वा नाटक टेलिभिजनमा आयो भनेपनि मेरो आमा धेरै खुशी हुनुहुन्छ । पछिल्लो समय मेरो जीवन साथी आरती ढकालले समेत मलाई कलाकारितामा धेरै सहयोग गरेकी छन् । म कर्मचारी भएपनि अझै कलाकारिता छोडेको छैन । मेरी जीवनसंगिनी पनि कलाकारिता क्षेत्रबाटै अगाडि बढेकोले होला उनको साथ मलाई भईरहन्छ । हाल उनी वन निर्देशनालयमा खरिदार पदमा कार्यरत छिन् । कर्मचारी र कलाकारको भुमिका एकैपटक निभाउँदा गाह्रो त अवश्य पनि हुन्छ । तर मेहेनेत र लगनशिलताले मलाई सहज बनाएको छ ।
कर्मचारीको भुमिकामा पनि म जिम्मेवार पदमा र जिम्मेवार कार्यालयमा छु । कलाकारिता मेरो नशा–नशामा छ । दुवै पेशा मेरा लागि जीउने आधार हुन् । दुवैलाई सँ–सँगै अगाडि बढाएको छु । कार्यालयमा समेत इमान्दार भएपछि हाकिमहरूबाट पनि राम्रै सहयोग पाईदो रहेछ । मेरो अनुभव बटुल्ने मौका मेरो कार्यालयले मलाई दिएको छ ।
सेनामा जागिर खाने सपना अधुँरै
मेरो बालापनको सपना सेनामा जागिर खाने थियो । तर विद्यालय उमेरमा एकजनाले गुलेलीले हानेर मेरो आँखामा समस्या भयो । अनि मेरो सेनामा जागिर खाने सपना पूरा हुन सकेन । तर मलाई त्यसमा कुनै पछुतो छैन । कलाकार कर्मचारीको पहिचानबाटै म सन्तुष्ट छु । आफुलाई कर्मचारी मात्रै पनि भन्न रूचाउँदिन र कलाकार मात्रै पनि । म आफूलाई कलाकार कर्मचारी भन्न रूचाउँछु । कर्मचारी हुँदा मेरो आर्थीक समृद्धि भएको छ भने कलाकारिताले मेरो शोख पूरा गरेको छ । जसका कारण मलाई आर्थीक संकट छैन ।
जीवनमा खुशी त धेरै पटक आउँछन् तरपनि मलाई पहिलो पटक नेपाल सरकारको खरिदार पदमा प्रवेश गर्दा खुब खुशी लागेको थियो । कलाकारितामा चर्चित हुन सकेको छैन । कारण मैले त्याग गर्न सकिनँ र कर्मचारीको भुमिका लिएँ । जसले कलाकारितामा त्याग गर्छ उ चर्चित हुन्छ । तर मलाई यही कलाकार कर्मचारीको पहिचान प्यारो लाग्छ ।
दुःखका क्षणहरू पनि जीवनमा आइरहन्छन् । मेरो आँखामा जतिबेला गुलेलीले चोट लाग्यो, देब्रे आँखाको ज्योती केही कम भयो । मलाई त्यो क्षण सम्झदा दुःख लाग्छ । अझै भुकम्प गएको बेलामा भुकम्पको कम्पनले दायाँ आँखामा समेत समस्या भई तीन महिना बेड रेस्ट गर्नु प¥र्यो । भर्खरै बिहे गरेको, एकातिर जागिर त्यो बेलामा जीवननै यति रहेछजस्तो लागेको थियो । डाक्टरले समेत आँखाको ज्योती फर्कन पनि सक्छ नर्फन पनि सक्छ भनेको थियो । त्यो तीन महिना मलाई वर्षौजस्तो लागेको थियो ।
अवकाशपछिको योजना
अहिले पनि मैले कलाकारिता छोडेको छैन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सुर्खेतको निर्वतमान अध्यक्ष समेत हुँ । तर जागिरे जीवनको अवकाशपछि लोक संस्कृतीकै जगेर्नामा लाग्ने सपना छ । जीवनमा सफलता हुन काममा लगनशिलता, धैर्यता र सामान्य स्वभाव हुनु जरूरी छ । सामान्य स्वभावले सबैसँग मित्रता कायम हुन्छ । मलाई खुशी यो मानेमा लाग्छ कि सबैसँग मेरो उत्तिकै मित्रता छ । कलाकारिता गर्दा होस् या जागिरे जीवनमा होस् म सधंै सामान्य स्वभावको छु । मेरा दुवै पेशालाई मैले मेरा दुई आँखा सम्झेको छु । दुवै उत्तिकै प्यारो लाग्छ ।
प्रकाशित मितिः २९ आश्विन २०७६, बुधबार १२:१५
सीता वली ।