महरा थप तीन दिन हिरासतमै रहने

काठमाडौं : संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि बलात्कार गर्न खोजेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई ती दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । न्यायाधीश दीपक कुमार दाहालको एकल इजलासले महरामाथि लागेको बलात्कार आरोपको थप अनुसन्धान गर्न तीन दिन म्याद थप गर्न अनुमति दिएको हो ।

अदालत म्यादथप भएसँगै महरा शुक्रबारसम्म प्रहरी हिरासतमा रहनेछन् । त्यसपछि म्याद थप हुने÷नहुनेबारे फेरि अदालतले निर्णय दिनेछ । बलात्कार प्रयास आरोपबारे जिल्ला सरकारी वकिलको कार्यालयमा भएको थुनछेक बहसपछि म्याद थपका लागि सोमवार महरालाई काठमाडौं जिल्ला अदालत पेस गरिएको हो । सरकारी वकिलका तर्फबाट बहस गर्दै उमाकान्त पौडेलले महरालाई १३ दिन हिरासतमै राखेर अनुसन्धान गर्न पनि म्याद थप गर्न माग गरेका थिए । उता महराको तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले भने बन्दी प्रत्यक्षीकरणको मुद्दामा २४ घण्टाभन्दा बढी हिरासतमा राख्न नमिल्ने भए पनि गैरकानुनी थुनामा राखिएको भन्दै म्यादथप गर्न नहुने बहस गरेका थिए । तर प्रहरीले महरालाई २० दिन म्याद थप्न माग गरेको थियो ।

उनलाई यही असोज १९ गते जिल्ला अदालत काठमाडौंले पक्राउका लागि प्रहरीलाई अनुमति दिएको थियो । अनुमति पाएसँगै प्रहरीले उनलाई सोही दिन बालुवाटारस्थित सरकारी निवासबाटै पक्राउ गरेको थियो। पक्राउपछि महरा सिंहदरबार वृत्तमा प्रहरी हिरासतमा रहँदै आएका थिए । तर स्वास्थ्य अवस्था बिग्रिएपछि केही दिनयता महरा नर्भिक अस्पतालमा उपचाररत थिए । मंगलबार अस्पतालबाटै उनलाई सरकारी वकिलको कार्यालय लगेर थुनछेक बहस गरेपछि म्याद थपका लागि काठमाडौं जिल्ला अदालत पेस गरिएको थियो। अदालतले उनलाई तीन दिन प्रहरी हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएसँगै प्रहरीलाई थप अनुसन्धानको बाटो खुल्ला भएको छ ।

काठमाडौं जिल्ला अदालत स्रोतका अनुसार महराको तर्फबाट उनका वकिलहरूले बलात्कार आरोपको पुष्टि नभएकोले म्याद थप गर्न नहुने जिकिर गरेका थिए । तर, न्यायाधीश दाहालको एकल इजलासले प्रहरीले संकलन गरेको प्रमाणका आधारमा थप अनुसन्धान गर्नुपर्ने भएकोले म्यादथप गरी अनुसन्धान गर्न अनुमति दिएको हो ।

महरामाथि संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेको छ । यही असोज १२ गते राति ति कर्मचारीकै कोठामा गएर बलात्कार प्रयास गरेको भन्दै महिलाले एक अनलाइनलाई भिडियो अन्तर्वार्ता दिएपछि घटना सार्वजनिक भएको थियो ।

प्रकाशित मितिः   २९ आश्विन २०७६, बुधबार १२:०७