दुई सय रिक्सा चालक कारबाहीमा
सुर्खेत : प्रहरीले सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएका करिब दुई सय अटोरिक्सा चालकलाई कारबाही गरेको छ । मंगलबार मात्रै जिल्ला ट्राफिक कार्यालय सुर्खेतले दुई सय अटोरिक्सा चालकलाई नियन्त्रणमा लिएर जरिवाना गराएको हो ।
लापरबाही रूपमा रिक्सा चलाउँदा दुर्घटना निम्तााएको गुनासो बढेपछि चालकलाई नियन्त्रणमा लिएर कारबाही गरिएको हो । जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालयले र विभिन्न इकाईहरूले वीरेन्द्रनगर, बड्डीचौर, बाबियाचौर, छिन्चु, मेलकुनालगायतका ठाउँहरूमा लाइसेन्स नभएका अटोरिक्सा चालकहरूलाई कारबाही गरेका हुन् । प्रहरीले पहिलो पटकका लागि सवारी चालकहरूलाई सम्झाई–बुझाई गरी जरिवाना गरेर छोडेको छ ।
वीरेन्द्रनगरमा यातायात व्यवस्था कार्यालय सुर्खेतका प्रमुख सुनिल लिम्बु, जिल्ला प्रहरी कार्यालयका प्रमुख दिल्लीराज पन्त, जिल्ला ट्राफिक प्रमुख उदय सिजापतिले सवारी चालकलाई प्रशिक्षण समेत दिएका थिए । जिल्ला प्रहरी प्रमुख एसपी पन्तले सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएकाले नियन्त्रणमा लिएर कारबाहीसँगै सम्झाई–बुझाई गरेर छोडेको बताए । सुर्खेतमा जथाभावि रूपमा अटोरिक्सा चलाउने गरेको र दुर्घटना निम्ताउने गरेको गुनासो आएपछि जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयले सुर्खेतका यातायात व्यवसायीहरूसँग छलफल गरेको थियो । प्रहरी र यातायात व्यवसायीको बैठकले लाइसेन्स विना सवारी साधन चलाएको पाइएमा कारबाही गर्ने निर्णय गरेको थियो । सोही अनुसार आफूहरूले लाइसेन्स नभएका अटोरिक्सा चालकहरूलाई नियन्त्रणमा लिएर कारबाही गरिएको प्रमुख पन्तले जानकारी दिए ।
अटोरिक्सा मात्र नभएर अन्य सवारी साधन पनि लाइसेन्स विना चलाएको पाइएमा कारबाही गरिने उनले बताए । लाइसेन्सविना सवारी साधन चलाउँदा विभिन्न समस्या हुने गरेकोले सवारी चालक अनुमतिपत्र लिएर मात्र सवारी साधन चलाउन प्रमुख पन्तले आग्रह गरे ।
‘अटोरिक्साले दुर्घटना हुन थाल्यो । दुर्घटनामा पीडितले बिमा पाएनन् भन्ने गुनासो आउन थालेपछि हामीले कारबाही गरेका हौँ’ एसपी पन्तले भने, ‘अटो मात्र नभएर अन्य सवारी साधन पनि लाइसेन्सविना चलाएको र मापसे गरेर चलाएको पाइएमा कानुनी कारबाही गछौँ ।’ यातायाता व्यवस्था कार्यालय सुर्खेतका प्रमुख सुनिल लिम्बुले भविष्यमा हुने असुरक्षा र दुर्घटनाले ठूलो क्षेती पु¥याउने सक्ने भन्दै यसलाई कम गर्न सवारी चालक अनुमतिपत्र लिएर नियमानुसार नै हिंड्नुपर्ने बताए । उनले सवारी व्यवस्था ऐनले सवारी चालक अनुमतिपत्र नभई चलाएको पाइएमा पाँच सयदेखि दुई हजारसम्म जरिवाना हुने जनाए ।
प्रकाशित मितिः २९ आश्विन २०७६, बुधबार १२:०५
साझा बिसौनी ।