विश्व शिक्षक दिवसले खोजेका युवा

           ध्रुबकुमार अधिकारी

विषय प्रवेश
‘योङ् टिचरस्, द फ्युचर अफ द प्रोफेसन्’ अर्थात ‘युवा शिक्षक, शिक्षण पेशाको भविष्य’ यस वर्षको विश्व शिक्षक दिवस, २०१९ को नारा तय भएको रहेछ । नेपालमा पनि विभिन्न कार्यक्रमका साथ शिक्षक दिवस मनाइयो । धेरै शिक्षकहरूलाई त यो दिवसको बारेमा थाहा पनि रहेनछ । नेपालमा सरकारी राष्ट्रसेवकको प्रवृत्ति अलि भिन्न देखिन्छ । सार्वजनिक विदा पाइने दिवसको बढी चासो र बहस हुन्छ भने अन्य विदा नपाइने दिवसको त्यति महŒव रहन्न । हरेक वर्ष अक्टोबर ५ मा विश्व शिक्षक दिवस मनाइन्छ । सन् १९६६ मा आइएलओ र युनेस्कोले विद्यालय स्तरको शिक्षा र शिक्षकको स्तर उकास्न चाल्नुपर्ने कदमका बारेमा युएनओलाई सुझाव दिएको थियो । सन् १९९७ मा त्यसको परिपूरकको रूपमा युनेस्कोले उच्च शिक्षा र यसका शिक्षकहरूको स्तर उकास्नको लागि के–के गनुपर्ने भनेर सुझाव प्रदान गरेको थियो । विद्यालय र उच्च शिक्षाका सम्बन्धमा सबै प्रकार र सबै किसिमका शिक्षा दिने शिक्षालयलाई समेटेर सुझाव प्रस्तुत भएको थियो । सन् १९६६ र १९९७ ले तय गरेका शिक्षकसम्बन्धी अन्तर्राष्ट्रिय स्तरभित्र थुप्रै कुराहरू सुझाइएको थियो । वास्तवमा ती सुझावहरू सबै मुलुकले लागू गर्ने हो भने शिक्षामा गुणस्तरको सुनिश्चितता गर्न सकिन्छ तर पनि हाम्रा अपरिपक्व मानसिकता, साधन र स्रोतको कमी जस्ता कुराहरूले यी सुझावहरूलाई अहिले पनि हुबहु लागू गर्न कठिन रहेको छ ।

शिक्षक दिवसको विकास

सन् १९६६ मा आईएलओ र युनेस्कोले शिक्षण एउटा पेशाको रूपमा स्थापना हुनुपर्दछ भनेर पहिलो पटक भनेको थियो । यसका अतिरिक्त सन् १९६६ ले यसरी अन्य सुझावहरू पनि प्रदान गरेको थियोः शिक्षण एउटा यस्तो सार्वजनिक सेवा हो, जसले गहन र निरन्तर अध्ययनबाट शिक्षकले प्राप्त गर्ने विज्ञता र विशेष प्रकारको सीपको माग गर्दछ । शिक्षाको उद्देश्य तय गर्दा र यसको नीति व्याख्या गर्दा सम्बन्धित शिक्षाका अधिकारीहरू शिक्षक संगठन, कर्मचारी, अभिभावक, साँस्कृतिक संगठन र अनुसन्धानमूलक संस्थाकाबीच सहकार्य हुनुपर्दछ । शिक्षक तालिम प्राप्त हुनुपर्दछ । तालिम दिने संस्थाका विज्ञ, योग्य हुनुपर्दछ र ती उच्च शिक्षामा पनि काबिल हुनुपर्दछ । झन् शिक्षण विधि पढाउने शिक्षक त विद्यालयमा पढाउने अनुभव हासिल गरेको र बेलाबेलामा फिल्डमा गएर पढाएर अनुभव बटुलेको व्यक्ति हुनुपर्दछ । पेशागत स्वतन्त्रतामा पनि शिक्षकलाई आफूले पढाउने विषय र कक्षामा स्वीकृत शैक्षिक कार्यक्रमको परिधिमा रही पाठ्यपुस्तक, शैक्षिक सामग्री, शिक्षण विधिको छनौटको स्वतन्त्रता दिनुपर्नेछ । व्यावसायिकता निर्वाह गर्न उनीहरूले प्राज्ञिक स्वतन्त्रता उपभोग गर्न पाउनुपर्छ । जिम्मेवार शिक्षक संगठनले आचारसंहिता बनाउने, त्यसलाई स्वीकृत सिद्धान्तको आधारमा लागू गर्दै पेशाको व्यावसायिक धर्म निर्वाह गर्नु पर्दछ । यसले पेशा र व्यावसायिकताको सम्मान बढाउँछ ।

शिक्षक संगठन र शिक्षक नियुक्ती गर्ने पदाधिकारी बीचको सहमति सम्झौताको आधारमा शिक्षकको कार्यशर्त र पारिश्रमिक निर्धारण हुनुपर्दछ । कार्य समय निर्धारण गर्दा शिक्षकको कार्यभारको पनि ख्याल राख्नुपर्दछ । प्रतिदिन र प्रतिहप्ता कति विद्यार्थी पढाउनुपर्दछ भन्ने कुराको आधारमा कार्य समय निर्धारण न्यायोचित हुन्छ । विद्यार्थीको प्रगतिको बारेमा अभिभावकसँगको परामर्श पनि शिक्षककै कार्य समयभित्र समावेश हुनुपर्छ । शिक्षकलाई दिने पारिश्रमिक पनि शिक्षकको आवश्यकता, शिक्षण कार्यको महत्व, शिक्षणको अनुभव समेतको प्रतिविम्ब बन्न सक्नुपर्दछ । साथै केही पदले उच्च योग्यताको माग गर्ने तथा धेरै जिम्मेवारीयुक्त हुने भएकाले पारिश्रमिक निर्धारण गर्दा त्यसलाई पनि ध्यान दिनु पर्दछ । विद्यालयमा शिक्षक कमी भएको अवस्थामा बाहिरबाट शिक्षण पेशाको गरिमा र महत्व नघट्ने गरी अन्य शिक्षकको व्यवस्था गर्न सक्ने वातावरण हुनुपर्दछ ।

सन् १९९७ मा विद्यालय शिक्षक साथै उच्च शिक्षाका बारेमा पनि केही कुराहरू बोलिएको थियो जुन ः उच्च शिक्षा शिक्षण पनि एउटा पेशा हो । व्यावसायिकताको गहन र जीवनपर्यन्त अध्ययन र अनुसन्धानको आधारमा प्राप्त ज्ञान र उच्च सीप पहिलो आवश्यकता हो । यसभित्र विद्यार्थी र सम्बन्धित समुदायको कल्याणको लागि शिक्षकको व्यक्तिगत र कलेजको संस्थागत जिम्मेवारी आवश्यक पर्दछ, ताकि छात्रवृत्ति तथा अनुसन्धानमा उच्च व्यावसायिक स्तरको प्रतिबद्धता होस् । प्राज्ञिक कार्य, स्तर निर्धारण, सार्वजनिक जिम्मेवारी र उत्तरदायित्व, राज्यबाट प्राप्त आर्थिक स्रोतप्रतिको दायित्व, प्राज्ञिक स्वतन्त्रको सम्मान र मानव अधिकारको प्रतिवद्धताको लागि उच्च शैक्षिक संस्थाहरूमा स्व–प्रशासन आवश्यक पर्दछ । यसको गहना भनेकै स्वायत्तता हो र उनीहरूले यसको भरपूर उपयोग गर्न पाउनु पर्दछ ।

उच्च शिक्षामा अध्यापन गर्ने शिक्षकले विना रोकतोक व्यक्तिगत रूपमा अनुसन्धानात्मक काममा संलग्न हुन पाउनु पर्दछ । यसरी गरिएका अनुसन्धान प्रकाशित गर्ने हक उनीहरूलाई हुनुपर्दछ । यो उनीहरूको व्यावसायिक जिम्मेवारी हो । बौद्धिक चिन्तन, वैज्ञानिक सिद्धान्त एवं अनुसन्धानको उनीहरूको प्राज्ञिक धर्म हुनुपर्दछ । रोजगारी र सेवामा वृत्ति–विकासका अवसर पनि पेशामा हुनुपर्दछ । राज्यले रोजगारीको सुरक्षा गर्नुपर्दछ । शैक्षणिक मूल्याङ्कन र शिक्षकको मूल्याङ्कनका कुराहरू समेत यसमा पर्दछन् । सामुहिक लेनदेनको कुरालाई पनि त्यत्तिकै महत्व दिएको छ ।

सुर्खेतमा विश्व शिक्षक दिवस

यही असोज १७ गते अथवा अक्टोबर ५ को दिन सुर्खेतमा पनि विश्व शिक्षक दिवस शिक्षक महासंघ सुर्खेतको आयोजनामा मनाइयो । यो वर्ष बुढापाका शिक्षकहरूका विगतका त्याग, तपस्या र अनुभवहरूलाई वर्तमान शिक्षकहरू र नेतृत्वले ग्रहण गरेर मनाउनका लागि अग्रज शिक्षक नेताहरूबाट धारण, विचार तथा अनुभव बाँड्ने मौका प्रदान गरियो । सुर्खेती इतिहासमा चर्चित अग्रज शिक्षक नेताहरू, जो हाल सेवा निवृत्त जीवनमा रहेका बालाराम शर्मा, देवेन्द्र बि.सी., लीलाधर गौतम, महेन्द्रप्रसाद शर्मा, झकबहादुर डाङ्गी, डण्डीप्रसाद शर्मा, शिवप्रसाद उपाध्याय, रामबहादुर शाही लगायतका व्यक्तित्वहरूले अनुभव बाँड्नु भएको थियो । यस कार्यक्रममा अन्य राष्ट्रिय स्तरदेखि स्थानीय स्तरसम्मका शिक्षक नेताहरूको पनि बाक्लै उपस्थिति रहेको थियो । वर्तमान नेतृत्वले शुभकामना आदानप्रदानको साथै आफ्ना अग्रजबाट अनुभव लिने आँट गरेको थियो । शिक्षक दिवसलाई विद्यालयसम्म पु¥याउन नसकिएको वर्तमान सन्दर्भ रहेको अवस्थामा यसले केही जागरूप बनाएको महशुस भएको थियो ।

यो दिवस दशैंको वरिपरि पर्ने हुनाले पनि यसको शिक्षकहरूमा नै अनभिज्ञता भएको सन्दर्भ पनि जोडिएको थियो । यस कार्यक्रममा पनि सहभागी शिक्षकहरूबाट धेरै त आफ्ना हक र अधिकारका कुराहरू व्यक्त भएका थिए, कम मात्रामा कर्तव्यका कुरा आएका थिए । तर सबै अग्रज शिक्षकहरूको जोड अत्यन्तै सान्दर्भिक र गठजोड शिक्षकको एकतामा नै रहेको थियो । कार्यक्षेत्रबाटै समाधान खोज्न प्रेरित गरिएको थियो । वर्तमान नेतृत्वप्रति या त वर्तमान शिक्षकहरू आकर्षित हुन सकेनन् या त शिक्षकहरूमा नै अनुशासनको खडेरी भएको हो भन्ने प्रश्नहरू पनि सुझावको रूपमा आएका थिए । सबैभन्दा बेवास्ता त स्थायी शिक्षकहरूबाट भएको प्रसङ्ग अग्रजहरूले राखेका थिए । यति मात्र होइन, अग्रजहरूको स्थायी शिक्षकहरूलाई जसरी पनि नेतृत्वले डो¥याउनु पर्ने धारणा थियो । यसैगरी कार्यक्रमको अपनत्व बोध नगरी हिंड्नुले आन्दोलनको मर्म र भावना पनि अधुरै रहन सक्ने खतरा पनि औँल्याइएको थियो । शिक्षकहरू राजनैतिक आधारमा विभाजन होइन, त्यसभन्दा माथि उठेर पेशागत हित र वर्ग संघर्षबाट मात्र सामुहिक सौदाबाजी गरेर राज्यबाट आफ्ना माग पूरा गराउनु पर्ने कुरा अग्रज शिक्षक नेताहरूको थियो ।

विश्वमा शिक्षक दिवस मनाउने तरिका

विश्वका विभिन्न देशहरूले विश्व शिक्षक दिवस विभिन्न तरिकाले मनाउने गर्छन् । कतै ¥याली, कतै कार्यशाला, कतै अन्तरक्रिया, कतै शुभकामना आदानप्रदान कार्यक्रम गरेर मनाइयो । हाम्रो छिमेकी देश भारतमा त्यहाँका भूतपूर्व राष्ट्रपति सर्वपल्ली राधाकृष्णन्को जन्मदिन सेप्टेम्बर ५ तारिखका दिन मनाइन्छ । फिन्ल्याण्डमा सेप्टेम्बर ५ देखि अक्टोबर ५ सम्म एक महिना मनाइन्छ । चीनमा सेप्टेम्बर १० मा शिक्षक दिवस मनाइन्छ । नेपालमा नेपाल राष्ट्रिय शिक्षक संगठनले चैत्र २९ गतेलाई शिक्षक दिवसको रूपमा मनाउने गर्छ । रुसले सन् १९६५ देखि सन् १९९४ सम्म अक्टोबर महिनाको पहिलो आइतबार मनाउदै आए पनि हाल भने सेप्टेम्बर ५ तारिखमा नै मनाउने गरिन्छ । यो दिवसलाई जहाँ जसरी मनाए पनि शिक्षकले अनुशासन, शिष्ट, सदाचार, सौहार्द, नम्र, सहयोगी र भातृत्वको भावना जागृत गराउने मर्यादित पेशा हो । नवीनतम् ज्ञान, सीप, प्रविधि र प्रवृत्तिबाट सुसज्जित हुन प्रेरित हुने पेशा पनि हो । विना स्वार्थ मानव मात्रको चिन्ता गर्ने एक मात्र पेशा शिक्षण हो र सो चिन्ता व्यक्त गर्ने पात्र शिक्षक हो भन्दै कतै शिक्षकलाई उपहार, खानेकुरा दिएर त कतै शिक्षकलाई कुनै नयाँ ठाउँको भ्रमण गराएर पनि मनाउने चलन रहेको छ ।

उपसंहार

विश्वका सयभन्दा बढी मुलुकहरूले एकै साथ मनाइरहेको शिक्षक दिवसले शिक्षण पेशामा युवा मानव संसाधनलाई भित्र्याउनु पर्ने कुरामा जोड दिएको छ । साथै शिक्षण पेशालाई जागिरे मानसिकताबाट भन्दा पनि व्यवसायीक मानसिकताबाट बुझ्नको लागि प्रेरित गरेको जस्तो लाग्छ । बढी परिश्रम, जवाफदेही र समयको महत्वलाई बुझेर विद्यालयमा शैक्षिक लगायतको व्यवस्थापन गर्नु पर्ने शिक्षकले विभिन्न संस्कार र संस्कृतिमा हुर्केका तमाम विद्यार्थीहरूको मनोविज्ञानका आधारमा भविष्य निर्माणतर्फ डो¥याउनु पर्ने हुन्छ । विद्यालयको वातावरण समूचित राख्नको लागि निरन्तर विद्यार्थी, अभिभावक, समुदाय र सरोकारवालाहरूसँग परामर्श लिएर काम गर्नुपर्ने पेशा पनि शिक्षण हो ।

पारदर्शिता, सहभागितामूलक निर्णय प्रक्रिया, विकेन्द्रीत जिम्मेवारी, रचनात्मक समन्वय र सहकार्यको धरातलबाट आएको सोझो, इमान्दार र कर्तव्यनिष्ठ पेशा शिक्षण अँगाल्ने नेपाली शिक्षकहरू पनि अन्तर्राष्ट्रिय शिक्षक बन्ने साहस, आँट र कर्मतिर उन्मुख हुने अवसर प्राप्त होस् । यस्तै युवाहरूको खोजीमा विश्व शिक्षक दिवस लागेको बुझ्न सकिन्छ । ढिलै भए पनि हाम्रा सम्पूर्ण शिक्षक मित्रहरूलाई हार्दिक शुभकामना !

(लेखक अमरज्योति माध्यमिक विद्यालय, नेवारेमा कार्यरत शिक्षक हुन् ।)

प्रकाशित मितिः   २६ आश्विन २०७६, आईतवार १२:५५