चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपालमा

कर्णालीले लिनसक्ने लाभ

सुर्खेत : नेपाली कांग्रेस सुर्खेतका नेता गोविन्द कोइरालाले शनिवार बिहान आफ्नो फेसबुक वालमा लेखे, ‘सीसँग कर्णाली प्रदेश ः काँक्रेविहार–सिमीकोट–हिल्सा–मानसरोवर सडक, एक हजार पाँच सय शैयाको शिक्षण अस्पताल, ५० हजार क्षमताको रंगशाला, जटिबुटी प्रशोधन केन्द्र, बृहत् कोल्ड स्टोर, दुग्ध चिस्यान केन्द्र, ऊर्जा र शिक्षामा सहयोगका लागि पैरवी गर्नुपर्छ ।’ चीनका राष्ट्रपति सी चिनफिङको नेपाल आगमनको सन्दर्भमा उनले चीनबाट कर्णाली प्रदेशले लिन सक्ने लाभका केही उदाहरण राखेका हुन् ।

यस्तै सुर्खेतका युवा व्यवसायी भानुभक्त खड्काले सी शनिवार नेपाल आइपुग्नु दुईघण्टा अघि लेखे, ‘विकास वा कनेक्टिभिटीका कुरा गर्दा सधैं कालीगण्डकी पूर्वको नेपालबारे मात्रै सोच्ने कुन रोग होला ? त्यहाँभन्दा पश्चिमको झण्डै आधा नेपाल चाहीँ नेपाल हैन ? कर्णाली करिडोर हुँदै हिल्सा नाकाबाट मानसरोवर पुग्ने बाटो पश्चिम नेपालको विकासको गेम चेन्जर हुन सक्छ ।’ खड्काको तर्क कर्णालीलाई बेवास्ता गरिएको बारे छ । साथै उनले कर्णाली करिडोरमा चिनियाँ लगानी भिœयाउन सकिने सम्भावनालाई संकेत गरेका छन् ।

सीको नेपाल भ्रमणलाई लिएर सर्वत्र चर्चा र चासो व्यक्त भइरहँदा कर्णाली प्रदेशले पनि यसलाई उच्च चासोका साथ हेरिरहेको छ । चीनसँग मात्रै सीमाना जोडिएको कर्णालीले सबैभन्दा बढी लाभ लिनसक्ने छिमेकी मुलुक पनि चीन नै हो । त्यसैले पनि चीनका राष्ट्रपतिको नेपाल आगमन कर्णालीका लागि महŒवको विषय बनेको हो । त्यसमाथि सी र नेपालका प्रधानमन्त्री केपी ओलीबीच आइतवार द्विपक्षीय सम्झौता हुँदैछ । उक्त सम्झौतामा कनेक्टिभिटीलाई विशेष जोड दिइएको छ ।

यता कर्णाली प्रदेश सरकारले पनि सुरुवातदेखि नै चिनियाँ लगानी भिœयाउन पहल गर्दै आएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको चीन भ्रमणका बेला पनि कर्णालीमा लगानी भिœयाउन प्रयास भएको थियो । यतिबेला चीनका राष्ट्रपति नै नेपाल भ्रमणमा रहँदा प्रधानमन्त्रीसँग हुने सम्झौतामा कर्णालीको कुनै पनि आयोजना समेट्ने प्रयत्न प्रदेश सरकारको छ । दुई मुलुकबीच हुने समझदारीमा कर्णालीले बढी लाभ आफूले पाउनुपर्ने भन्दै प्रदेश सरकारले यसका लागि उच्चस्तरीय ‘लबिइङ’ समेत शुरु गरिसकेको छ ।

कर्णालीका दुई वटा आयोजना द्विपक्षीय सम्झौतामा समेटिने प्रवल सम्भावना रहेको छ । एउटा, हुम्लाको यारी नाका र दोस्रो, जमुनाह–हिल्सा नाका जोड्ने द्रुतमार्ग । चीनतर्फको बन्दरगाह जोड्न प्रयोग हुने सम्भावना भएका नाकाहरूमध्ये हुम्लाको यारी पनि एक हो । नाकामा कण्टेनरलगायत ठूला सवारी साधन आउ–जाउ हुने गरी पूर्वाधार बनिसकेको छैन । यारी नाका जोड्ने सडक निर्माण, स्तरोन्नतिलगायत पूर्वाधारका विषयमा पनि सम्बोधन हुने र कामले छिट्टै पूर्णता पाउने अपेक्षा गरिएको छ ।

समुद्री सतहबाट ३६ सय ४० मिटर उचाइमा रहेको हुम्लाको यरी नाका नेपाल–चीन जनस्तरमा जोडिएको नाका हो तर यो नाका दुई देशबीचको केन्द्रीय व्यापारसँग जोडिएको छैन । हुम्लाका स्थानीयबासीहरू दैनिक उपभोगका खाद्यन्न तथा निर्माण सामग्रीका लागि चिनियाँ बजार ताक्लाकोटसम्म पुग्ने गरेका छन् । ताक्लाकोटबाट सीमा नाका यारीसम्म चीनले सडक निर्माण गरेको भए पनि त्यहाँबाट यता नेपाली भूमि सडक सञ्जालसँग जोडिएको छैन ।

यसैगरी कर्णाली सरकारले ‘लाइफलाइन’ का रूपमा अघि बढाउन खोजेको ‘सुर्खेत–हिल्सा दु्रतमार्ग’लाई पनि सम्झौतामा समेट्न प्रयास भइरहेको छ । यसका लागि प्रदेश सरकारले संघीय सरकारसमक्ष प्रस्ताव समेत पेश गरेको आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले जानकारी दिए । प्रदेश सरकारले प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री डा. युवराज खतिवडा, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, भौतिक पूर्वाधार विकास मन्त्री रघुवीर महासेठलगायतलाई यो द्रुतमार्गलाई सम्झौतामा समेट्नका लागि पटक–पटक ध्यानाकर्षण गराइसकेको मन्त्री ज्वालाले बताए । यसैगरी फुकोट कर्णाली जलविद्युत आयोजनालाई पनि समेट्न अनुरोध गरेको उनले जनाए । शनिवार नेपालआएका चिनियाँ राष्ट्रपति सी चिनफिङ दुई दिने नेपाल भ्रमण पछि आइतवार स्वदेश फर्कने छन् ।

प्रकाशित मितिः   २६ आश्विन २०७६, आईतवार १२:१७