डीपीआर बनाउनै ढिलाइ

जाजरकोट : नलगाड जलविद्युत आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) बनाउनै ढिलाइ भएको छ । ३० महिनामा बनिसक्नु पर्ने डीपीआर ४१ महिना बित्दा पनि बन्न सकेको छैन । डीपीआर तयार गर्ने जिम्मा लिएको परामर्शदाता कम्पनीको लापरबाहीले ढिलाइ भएको हो ।

डीपीआर निर्माणका लागि नलगाड हाइड्रोपावर कम्पनी लिमिटेडसँग परामर्शदाता कम्पनी अस्ट्रेलियाको स्मेक, अमेरिकाको एमडब्लूएच र नेपालको उदय कन्स्ट्रक्सन प्रा.लि. जेभीले २०७३ बैशाख २४ गते ९४ करोड आठ लाखको ठेक्का सम्झौता गरेका थिए । ठेक्का सम्झौता गरेको मितिले ३० महिनाभित्र आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार पार्ने सम्झौतापत्रमा उल्लेख थियो । निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि नलगाड हाइड्रोपावर कम्पनी लिमिटेडले परामर्शदाता कम्पनीलाई पहिलो पटक ६ महिना र दोस्रो पटक तीन महिना चार दिनको समय थप गरेको थियो । परामर्शदाता कम्पनीका लागि दोस्रो पटक थप गरिएको समय पनि गत साउन ३० गते समाप्त भइसकेको नलगाड हाइड्रोपावर कम्पनी लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत रामगोपाल लागेजुले जानकारी दिए । तर अझै काम सम्पन्न हुन सकेको छैन ।

तोकिएको समयसीमामा बनाउन नसकेपछि परामर्शदाता कम्पनीले सरकारलाई हर्जाना दिनुपर्ने अवस्था आएको छ । ठेक्का सम्झौताअनुसार दुई पटकभन्दा बढी म्याद थप गर्न नसकिने भएकाले अबको विकल्प भनेकै हर्जान तिरेर जतिसक्दो छिटो काम सक्नुपर्ने निमित्त प्रमुख कार्यकारी अधिकृत लागेजुले बताए । कार्यालयले म्याद थप नगरेपछि अब परामर्शदाता कम्पनीले खरिद ऐनमा भएको व्यवस्थाअनुसार सरकारलाई दैनिक हर्जाना तिर्नुपर्ने भएको छ । परामर्शदाता कम्पनीले ठेक्का सम्झौता भएको कुल बजेटको शून्य दशमलव ०५ प्रतिशत दैनिक हर्जाना तिर्नुपर्ने प्रावधान छ । आयोजनाको डीपीआर तयार पार्दासम्म परामर्शदाता कम्पनीले झन्डै १० प्रतिशत हर्जाना तिर्नुपर्ने हुन सक्ने अनुमान गरिएको छ । १० प्रतिशत हर्जाना करिब १० करोड रूपैयाँ हुन्छ । परामर्शदाता कम्पनीले डीपीआरको ड्राफ्ट डिसेम्बरसम्म आयोजनामा बुझाइसक्ने बताएको छ । तर डीपीआर आउनलाई माघ फागुनसम्म लाग्ने अनुमान छ । परामर्शदाता कम्पनीले आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) सकिसकेको भए पनि सुरूङ टेस्ट अडिट, रक मेकानिकल अडिट जस्ता काम गर्न अझै बाँकी छ । बाँधस्थल अँधेरी खोलामा ६०–६० मिटरका चार सुरूङको टेस्ट अडिट भइसकेको छ तर पावरहाउसमा गर्नुपर्ने सुरूङ टेस्ट अडिट अझै बाँकी रहेको परामर्शदाता स्मेकका भू–गर्भविद् धनबहादुर श्रेष्ठले बताए । उनका अनुसार पावरहाउसमा तीन सय ३२ मिटरको सुरूङको अडिट गर्नुपर्नेमा हालसम्म दुई सय ८० मिटरको मात्र गरिएको छ । अझंै ६० मिटरभन्दा बढी सुरूङ टेस्ट अडिट गर्न बाँकी छ ।

प्रकाशित मितिः   २६ आश्विन २०७६, आईतवार १२:१५