बँदेलको डरले जमिन बाँझै

सुर्खेत : वीरेन्द्रनगर नगरपालिकाको वडा नं १४ मा जंगलबाट बँदेल आएर लगाएको बाली खान थालेपछि जग्गा बाँझै रहन थालेका छन् । वडा नं १४ को गोठीकाँडा, बयलकाँडा, राम्रीकाँडा लगायतका ठाउँमा नजिकै रहेको जंगलबाट बँदेल आएर लगाएको बाली खान थालेपछि कृषकहरूले खेती गर्न नै छोड्न थालेका हुन् । अहिले गाउँका झण्डै आधा जग्गा बाँझै रहेका छन् ।

आफूहरूले लगाएको बालीमा ब“देलले क्षति गर्न थालेपछि बर्षभरि खाने अन्नबाली भित्र्याउन नपाउँदा कृषकहरू चिन्तित बनेका छन् । गाउँको नजिकै रहेको भैरब सामुदायिक वनबाट बँदेल आएर मकै, गहुँलगायतका बाली खाइदिँदा आफूहरूले बाली भित्र्याउन नपाएको कृषकहरूको गुनासो रहेको छ । स्थानीय शिव गौतमले लगाएको बाली जंगली बँदेलले खाएर सास्ती दिएको बताए ।

उनले भने, ‘केही बाली लगायो कि बँदेलले हुनखान दिँदैन । खेती लगाएर बँदेलले सबै खाइदिने भएकाले आधा जग्गा बाँझा छन् । गाउँको बीचमा लगाएको बाली रातभरि नसुतेर कुर्नुपर्छ । नगरपालिकामा यो समस्या राखेको हो तर अहिलेसम्म कहिँकतैबाट सहयोग भएको छैन ।’

अहिले मात्र नभएर वर्षौदेखि यो समस्या भोग्दै आएको स्थानीयले बताएका छन् । जंगलबाट आएर बँदेलले खेती खाइदिने र नष्ट गरिदिने समस्या बर्षौदेखि भोग्दै आएको स्थानीय राधा हमालले बताइन् । दुःख गरेर लगाएको खेती बँदेल र बाँदरले खाइदिन थालेपछि लगाउनै छोडेको उनको भनाइ छ । जंगल नजिक भएकाले दिउँसोको समयमा बाँदर र रातिको समयमा बँदेलले बाली खाइदिने गरेको उनले बताइन् ।

जंगली जनावरले बर्षौदेखि बाली खाइदिने समस्या भएपनि अहिलेसम्म यसको समाधान नभएको उनको भनाइ छ । ‘पहिले रातभरि बँदेल धपाएर पनि बाली बचाउँथ्यौँ । सधंै नसकिएपछि जग्गा बाँझै राख्नुपर्ने बाध्यता छ ।’ खेती नभएपछि अहिले अधिकांश जग्गामा झाडी मात्र छ । वीरेन्द्रनगर वडा नं १४ का वडा अध्यक्ष टोपबहादुर दर्लामीले समस्या समधानका लागि ठूलो मात्रामा बजेट लाग्ने भएकाले गर्न नसकिएको बताए । नगरपालिका र वन कार्यालयमा कुरा राखे पनि तारबार गर्न झण्डै दुई÷तीन करोड लाग्ने भएकाले केही पनि गर्न नसकिएको उनको भनाई छ ।

‘नजिकैको जंगलबाट बँदेल आएर लगाएको बाली खाइदिंदा कृषकहरूले भित्र्याउन पाउँदैनन् । यसको समाधानका लागि जंगलको छेउमा तारबार लगाउनुपर्छ । करोडौँ बजेट वडा कार्यालय धान्न सक्दैन । मैले वन कार्यालय, नगरपालिकामा गएर कुरा राखेको छु तर क्षमताभन्दा ठूलो बजेट लाग्ने भएकाले केही गर्न सकिएको छैन ।’ लादे, गोठीकाँडा, बयलकाँडा, राम्रीकाँडा हुँदै सिद्धापाइलासम्म मात्र तारबार गर्न ठूलो बजेट लाग्ने भएकाले समस्या समधान गर्न नसकिएको वडा अध्यक्ष दर्लामीको भनाई छ ।

प्रकाशित मितिः   २६ आश्विन २०७६, आईतवार १२:१३