दशैं र बलि प्रथा

                 मास्टर जेबी गाउँले

यतिबेला दशैंको रौनकले पुरै माहोल तातेको छ । बसपार्कमा गाउँ फर्किनेहरूको घुइचो, पसल तथा सपिङ–मलहरूमा सपिङ गर्नेहरूको भिडभाड, राजमार्गहरूमा गाडिको चाप । यी सब दशैंका पूर्वसंकेत भए । यो स्वभाविक पनि हो । लामो समयदेखि घरबाट टाढिएका आफन्तहरू जमघट हुनु, सुख–दुःख साट्नु र रमाइलो गर्नु यो पनि त हाम्रो पूर्विय मान्यता नै हो क्यार ।

उसो भए के हो त दशैं ? यसबारेमा छोटो चर्चा गरौं न । दशैं हिन्दु धर्मालम्वीहरूको महान चाड । कतै यसलाई विजया दशमी, कतै नवरात्र, कतै बडा दशैंको नामले बुझिन्छ । जता जुन नामले चिनें पनि । जता जसरी मनाए पनि । यसको मूल्य मान्यता एउटै हो । सामान्य रूपले अथ्र्याउँदा पनि बुझिन्छ दशैं अर्थात दशौं नम्बर, दशौं दिन जे भए पनि दशलाई बुझाउँदछ । हाम्रो संकृती र परम्परा अनुसार परापुर्वकालमा महिषासुर नामको राक्षसले देवलोकका देवताहरू र ऋषिमुनिहरूलाई धेरै दुःख दिने सताउने गर्दथ्यो । देवताहरू भन्दा ऊ एकदमै शक्तिशाली थियो । उनीहरू उसलाई पराजित गरेर हराउन सक्तैनथें । त्यो राक्षसबाट आजित भएका देविदेवता र ऋषिमुनिहरू महादेवको भक्ती गर्न थाले । त्यसबाट प्रशन्न भएका महादेवले देवी दुर्गालाई महाकालिको अवतारमा देवलोकमा पठाए । उनै देवी दुर्गाले लगातार दश दिनसम्म युद्ध लडेर महिषासुर नामको राक्षसलाई पराजित गरी विजय प्राप्त गरेको दिनको सम्झनामा ऋषिमुनिहरूले विजय उत्सव मनाएको र त्यसै परम्परालाई निरन्तरता दिदै असत(राक्षस)माथी सत(देवता)को विजयको स्मरण गर्दै हरेक वर्ष असोज शुक्ल प्रतिप्रदादेखि दशमीसम्म भए पनि पुर्णिमाको दिनसम्म विजया दशमी अर्थात दशैं मनाइने गरिन्छ ।

कतै रामले रावणमाथि विजय प्राप्त गरेको स्मरण गरेर दशैं मनाउने चलन पनि छ । जसले जुन घटना र प्रसंगको स्मरण गरेर दशैं मनाए पनि मुलतः असतमाथी सतको विजय भएको प्रसंगलाई लिएर विजय उत्सव मनाउने परम्परामा सबैको एक मत पाइन्छ । दशैं आफैंमा नराम्रो त हुँदै होइन । वर्षभरिका दुःख पिडा भुलेर हर्ष उल्लासका साथ खुशियाली मनाउनु आफैंमा राम्रो परम्परा भैगो । तर राम्रो हुँदाहुँदै पनि हामिले यसको अपव्याख्या गरेर देवताको नाममा बली चढाउनेदेखि लिएर अनावश्यक तडक भडक देखाएर यसलाई अलि खल्लो बनायौं कि ? भन्ने पनि लाग्छ । हुनसक्छ यो बलि दिने परम्पराका पनि केही विस्वास होलान् तर कसैको ज्यान लिएर खुशियाली मनाउदा कसलाई कति खुशी मिल्छ होला ? म यसै भन्न सक्तिनँ । यहाँनेर मैंले एउटा सत्य घटनालाई कथात्मक शैलिमा जोड्न चाहें । घटना यसरी सरू हुन्छ ।

त्यो समय, ति पात्र म राम्ररी सम्झिन सक्तिनँ तर त्यो घटना बिर्सुँ भन्दा पनि बिर्सिन सक्तिनँ । कुरो त्यस्तै अनुमानित डेढ र दुई दशक पहिलाकै होला । दसैं तिहारकै समय थियो । त्यतिबेला सप्पैको मन हर्षले पुलकित हुने नै भयो । वर्षदिनको चाड । त्यो पनि हामी हिन्दु नेपालीहरूको लागि त महान चाड नै भैगो । कतिलाई नयाँ लुगाको लोभ हुँदो हो, कतिलाई मीठो मसिना खानाको लोभ पनि हुँदो हो । कतिलाई नाचखेलको रमाइलो हुँदो हो । सबका सब खुशी देखिन्थे । तर मेरो मनमा रतीभर उमङ्ग थिएन । कारण त्यो दशैंमा बलिदानी दिने पालो हाम्रै खसीको थियो ।

खसी एकदमै प्यारो लाग्थ्यो मलाई । पचासको नोट हेर्दा अझैं झलझल्ती याद आउँछ । त्यसमा भएको भेडाको चित्रसंग दुरूस्त मिल्दो जुल्दो थियो । खसी नकाट्न मैले धेरै कर गरें तर मेरो कुरो कसैले सुनेनन् । त्यसलाई काट्न तयार पारियो । अन्तिम पल्ट त्यसले वरिपरिका सप्पैलाई हे¥यो । मलाई झन पटक–पटक हेरेको थियो । म पनि निरीह भएर उसलाई हेरिरहें । एकै छिनमा ऊ माथि हँसिया प्रहार गरियो । एकै प्रहारमा उसको टाउको र शरीर अलग भयो । त्यो काटेर अलग पारिएको खसी पनि लामो समय फड–फडाइ रह्यो, टाउको एकातिर अरू शरीर अर्कैतिर । मलाई लाग्यो यो खसी हैन कुनै मान्छे नै रगताम्मे बनाएर ढालिएको हो । असैह्य पीडा भएको थियो त्यतिबेला मलाई ।

एकैछिन पछि त्यही खसी काट्ने मान्छेलाई नै मैंले सोधेको थिएँ, ‘दाइ, दशैंमा खसी बाख्राको बलि नै किन दिइन्छ ?’ उनले भने, ‘देवी देवतालाई बलि दिनुपर्छ क्या ।’ मलाई अझैं चित्त बुझेन । सोधें, ‘ज्युँदा प्राणिकै बलि चाहिँ किन दिने नि ? नदिए पनि हुन्न र ? देवताले खाने हैनन् क्यारे । चढाउनकै लागि त फलफुल नै चढाए भैगो नि ।’ फेरि पनि उनले सहजै भनिदिए, ‘देवतालाई खुशी बनाउनलाई हो क्या लाटा । फलफूलले मात्रै कहाँ हुन्छन त ? देवताका लागि त बलि नै चढाउनुपर्छ, खुन चढाउनुपर्छ के ।’

‘देवताको खुशिको कुरो गर्नु भयो, उसो भए एउटा कुरा भनिदिनुस् न, भर्खर एउटा खसीको ज्यान तपाइँले नै लिनुभयो, के तपाईं खुशी हुनुहुन्छ त ?’ तिनी अघि भन्दा अलि गम्भीर भएर भने, ‘कसैको ज्यान लिएर खुशि त कसरी हुनु र ? तर के गर्नु बाबू, देवी देवताको खुशिको लागि यत्ती त गर्नै प¥यो । दशैं–तिहारमा खसी, बोका, राँगा, भैसीको बलि दिने प्रथा त उहिले देखिकै हो क्यारे ।’

मैंले फेरि भने, ‘भैगो यी सब कुरा छोड्नुस । तपाईं मान्छे हो, र म पनि । त्यो खसीको ज्यान लिँदै गर्दा हामी मान्छे नै खुशी हुन सकेनौं भने, के साँच्चिकै देवीदेवता खुशी होलान् त ? मलाई लाग्छ मान्छे देवताभन्दा ठुलो हुनै सक्तैन ।’ उनी नाजवाफ भए । अगाडि एक शब्द बोलेनन् । सायद उनीसित यसको जवाफ नै थिएन क्यारे । भए त मुखाले जवाफ फर्काइ पनि हाल्दा हुन ।

त्यो रहस्यको खोजीमा उनी वर्षौं भौतारिएछन् । तर जवाफ पाउँदै पाएनछन् । धेरै वर्षपछी सुने उनी त साधु बनेछन् । हत्याहिंसा त पहिले नै त्यागिसकेका थिए, अहिले माछा मासु सब थोक त्यागेछन् । पोहोर साल हो क्यारे मैंले उनलाई भेटेको थिएँ । गफै गफमा उनले भनेका थिए, ‘बाबू, तिम्रो एउटै सवालले मेरो त बाटो नै मोडिदियो । सत्यको खोजीमा वर्षौं भौतारिएँ तर खुनको खोला बगाएर देवी देवता खुशी हुने कुरो कतै पनि भेटिनँ । साँच्ची हामी ठूलो भ्रममा रहेछौं बाबु । धेरैलाई लाग्न सक्छ जाबो एउटा ७÷८ वर्षे बच्चाको कुराले कसरी जीवन बदलिन सक्छ ? त्यो पनि भ्रम नै हो । सत्य हरेक व्यक्ति भित्रै लुकेर बसेको हुन्छ । ऊ चाहे बूढो होस्, चाहे बच्चा नै किन नहोस् । रहस्यको खोजी गर्दा गर्दै ज्ञान प्राप्त हुने हो । म तिमिलाई कसरी धन्यवाद भनौं जसको एउटै प्रश्नले म भ्रमजालबाट मुक्त भएर सत्मार्गमा हिड्ने भएँ ।’

‘दाइ, अनि आजभोलि दशैं कसरी मनाउनु हुन्छ त ? देवतालाई के चढाएर खुशी पार्नु हुन्छ नि ? खसी बाख्रा काट्न त परकै कुरो भयो । माछा मासु पनि छाडी नै सक्नु भएछ क्यारे ।’ मैले ठट्टै ठट्टामा उनलाई सोधेको थिएँ । तर उनले जवाफ ठट्टा गरेर भनेनन् बरू अझैं गम्भीर भएर भनेका थिएँ, ‘बाबु, दशैं त किन मनाउन छोड्नु र ? त्यो त हाम्रो पुर्खौंदेखि मान्दै मनाउदंै आएको सनानत धर्म र परम्परा हो । यो पर्व मात्रै हैन पर्वहरूको पनि पर्व हो । हिन्दु नेपालीहरूको महान पर्व । जतिसुकै आधुनिक हुन खोजे पनि आफ्नो सनातन धर्म परम्परा रितिथितीलाई छोड्नु हुन्न बा ! हाम्रा धर्म संस्कृति र परम्पराभित्र पनि केही गलत संस्कारहरू त छन् । त्यस्ता गलत परम्परालाई परिमार्जन गर्दै अहिलेको समाज र परिवेश सुहाउँदो तरिकामा ढाल्न सक्नु पर्छ । कट्टर पुरातनवादी भएर पुराना रूढ र अन्ध परम्पराहरू हुबहु लागू गरेर पनि हँुदैन ।

आधुनिक भए भन्दैमा धर्म संस्कृतिलाई पूर्णरूपले बेवास्ता गर्दै लत्याउदै हिड्नु पनि हुन्न । जस्तो हेर्नुस न ३०० वर्ष अगाडि जर्मनमै उत्पती भएको माक्र्सवाद अहिले जर्मनमै पनि हुबहु लागू गर्न थाल्यो भने काम लाग्दैन । १०० वर्ष अगाडि चिनबाटै उत्पत्ति भएको माओवाद पनि चिनमै पनि हुबहु कहाँ छ र ? त्यसैले हरेक नीति सिद्धान्त धर्मसंस्कृति समय परिवेश अनुकुल परिवर्तन र परिमार्जन गर्दै सोही मौलिक मान्यतालाई खलबलिन नदिइ नयाँ मोडेल तयार गर्न सक्नु पर्छ । यहि नै त विकास हो । विकास भन्दैमा सम्पुर्ण संरचना नै ढालेर नयाँ संरचना नै खडा गर्नुपर्छ भन्ने होइन । जहाँसम्म तपाईले भन्नु भयो अचेल तपाईं देवतालाई खुशी बनाउन के गर्नु हुन्छ ? म केही पनि गर्दिनँ, तिनको भक्ती शिवाय । देउताको लागि भक्ति गर्नु भन्दा ठूलो अरू के हुन सक्छ ? भक्ती गर्नलाई मन्दिर मस्जिद जानू पर्दैन । दिनदिनै पुजा पाठ गरिरहनु जरूरी पनि छैन । महायज्ञ, सप्ताह लगाइ करोडौं रकम दान गर्नु र गराउनु पनि जरूरी छैन । बस् शुद्ध मनले ध्यान आराधना गरे हुन्छ । स्वच्छ र निर्मल हृदयमै ईश्वरको बास हुन्छ । ईश्वरको खोजीमा बाहिर–बाहिरै भौतारिनु जरूरी छैन । आफूभित्र नै ईश्वर खोज्न सक्यो भने यी दुनियाँदारका भ्रमजालबाट मुक्त भइन्छ । हामी सित फलफूलहरू छन् क्यारे । देवतालाई सम्झेर तिनै फलफूल चढाइदिए पुग्छ । आजभोली म पनि त्यसै गर्छु । दशैमा बलि चढाउने हाम्रो मुल्यमान्यता छ त्यतिबेला पनि म विभिन्न फल–फलारहरूका बलि बनाएर चढाउँछु । यसबाट बलि दिने प्रथालाई पनि निरन्तरता दिन सकियो कुनै जिवित प्राणिको ज्यान लिनु पनि परेन ।’

कुनैबेला उनलाई एक हत्याराको रूपमा देखेका मेरा आँखाले एकाएक साधुको रूपमा देख्दा अचम्म लाग्नु अस्वभाविक थिएन । अझैं झन् ती आदर्श, दार्शनिक विचारले एकछिन म असमञ्जस्यमा परें र मनमनै सोच्न थालें, साँच्चिकै मान्छे सधैं एकै हुन्न रहेछन् । कतिबेला कुन घटना र प्रसंगले उसलाई कुन स्वरूप र अवस्थामा पु¥याउँछ, कसले पो जानेको हुन्छ र ? कुनै बेला लुटपाट चोरी गर्दै हिड्ने रत्नाकर नामका डाकु एक ऋषिसंगको भेटले संस्कृत साहित्यका महाकवी वाल्मीकि बनेको कथा त पढेकै हो । तर मलाई त्यो स्वेरकाल्पनिक जस्तो लाग्थ्यो । जब आफ्ना आँखै अगाडि त्यो सब घटना घटेको मैले देखें तब मलाई वाल्मिकिको जिवनी माथी कुनै आशंका रहेन अब ।

यो घटना मैले किन जोड्न चाहेको भन्दा जसरी मान्छे सधैंभरी उहीं र उस्तै रहँदैन, त्यसरी नै हाम्रा संस्कार संस्कृती पनि सदैव उहीं र उस्तै हुनु हुँदैन । पुरातन रूढ र अन्धपरम्परालाई हुबहु रूपले अंगिकार गर्नु भन्दा पनि त्यसको मौलिक मुल्यमान्यतालाई खलबलिन नदिइ वर्तमान समय र परिवेश सुहाउदो तरिकाले परिवर्तन र परिमार्जन गर्दै आफ्नो संस्कार संस्कृतिको जगेर्ना गर्दै जानुपर्छ । अनि एक पिँढिबाट अर्को पिँढिमा हस्तान्तरण गर्दै जानुपर्छ । यति मात्रै ग¥यौं भने पक्कै पनि हामी हाम्रा चाडपर्व रितिथितिलाई जोगाइरहन त सक्छौं त्यसलाई आफ्नो पहिचान र चिनारी पनि बनाउन सकिन्छ ।
बलि प्रथासंगै दशैंको अर्को विकृती हो देखासिकी र तडकभडक । हुनेले महङ्गा पोशाक लगाउने मिठा परिकार बनाएर खाने, नहुनेले पनि आफ्नो लाज ढाक्न भन्दै ऋण कर्जा गरेर भएपनी नक्कल गर्न खोज्ने जुन परम्परा हामीले चलाउँदै आएका छौं । यो विलकुलै खराब परमपरा हो । मैले पहिला पनि भनिसकें कि दशैं असतमाथी सतको विजयी भएको उपलक्ष्यमा मनाइने विजय उत्सव नै हो । सबैले खुशी र हर्सोल्लासका साथ मनाइनु पर्छ । उत्सव मनाउन कुनै प्राणिको हत्या गरिनुपर्छ जरूरी छैन र महङ्गा पोशाक लगाउनै पर्छ, राम्रा परिकार खानै पर्छ भन्ने जरूरी छैन । भित्री मनदेखी खुशी र हर्षका साथ चाडपर्व मनाऔं । आफुसंग शक्ति सामथ्र्य छ जहिले खाए पनि हुन्छ । जहिले लगाए पनि हुन्छ । दशैं–तिहारकै मौका छोपेर हुनेहरूले फजुल खर्च गरेर आफ्नो पौरखत्व देखाएर केहि नहुनेमाथी गरूङ्गो भारिले च्याप्ने काम नगरौं ।

यो पर्वलाई कोहि हर्ष र उल्लासको साथ खुशियाली मनाउने कोहि भने दसा सम्झेर हिनताबोध गरिराख्ने, यो त उत्सव भन्दा नि आफ्नो क्षमता प्रदर्सन गर्ने प्रतियोगिता जस्तो भएन ? यस्तो अस्वच्छ खालको प्रतिस्पर्धा भन्दा पनि यस पर्वलाई उत्सवकै रूपमा मनाइनु पर्छ । सबैले वर्षभरिका दुख पीडा एकछिन, एकदिनलाई भए पनि भुल्ने वातावरण सिर्जना गरौं । एक दिनको तडकभडकको लागि ऋण कर्जाले गरेर वर्षभरी नै पिरोलिरहनु पर्ने अवस्था कसैको नबनोस् । त्यसैले पनि म के भन्दछु भने यो खुशियालिको पर्व हो, खुशिमै सिमित राखौं । भन्छन नि घाँटी हेरेर हाड निल्नुपर्छ । आफ्नो क्षमता र हैसियले धान्न नसक्ने खर्च गर्यौं भने, एकदिनको खुशिले वर्षभरी नै ठूलो संकट बेहोर्नुपर्ने अवस्था नआउला भन्न कहाँ सकिन्छ र ?

(लेखक सुर्खेतको मटेला निवासी हुन् ।)

प्रकाशित मितिः   १८ आश्विन २०७६, शनिबार ०९:३०