दशैं, बालापन र अहिलेको समाज

               विनिता बोगटी

आयो–आयो भन्दाभन्दै हाम्रो महान चाड दशैं पनि आगनमै आइपुग्यो । दशैं आयो कि घरको याद आउँछ । घरको, गाँउको र त्यो बालापनको । यो चाडँहरू आउने–जाने प्रकिया नै हो, र हामीले मान्दै आएको हिन्दुहरूको विशेष पर्व पनि हो । लाग्दो हो, घरमा बस्नेहरू खुशीले भरिएका हुन्छन् भने घर छोडि परदेश गएकाहरूको मनमा ढुगां राखेर दशंैको सम्झनामा बसेका हुन्छन् ।

नेपालमा दशैं मान्यजनहरूको हातबाट टिका लगाई सकेपछि मिठा–मिठा परिकार भोजन गरेर गाउँ वरिपरी पिङ्ग खेल्ने चलन रहेको छ । दशैँ सुरू भएलगत्तै नेपालमा लिगें पिङ्ग बनाएर गाउँघरमा दशैं आएको संकेत पनि दिइन्छ । नेपालमा दशंैको दिन देवि भगवतीको सबै दुःख हरेर खुशियाली ल्याउने पौराणिक मान्यता भएकाले पनि पुराण लगाएर देवि भगवतिको पुजाआरधना गरिन्छ ।

मलाई याद छ, सानोमा घण्टौं लगाएर टुकु–टुकु हिंड्दै मामा घर टिका लगाउन गएको । मलाई त्यो पनि सम्झना छ, दशैंमा लुगा नकिनिदिंदा धुलोमा पल्टिएर रोएको । नयाँ–नयाँ लुगा लगाउन भुत्तुकै पर्ने स्वभावकी थिएँ म । जहिले पनि दशैंमा टिका लगाउँदा सानोको पालो अन्तिममा आउँछ । हजुरआमाले अरूलाई टिका लगाइदिंदा क–कसलाई कति दक्षिणा दिनुहुन्छ भनी आँखा ठूला बनाई–बनाई हेरेको सम्झनाले अहिले पनि मन तरंगित हुन्छ ।

मेरो प्यारो मामाहरूले दशैंमा जहिल्यै नयाँ लुगा किनि दिनु हुन्थ्यो । म त्यही लगाएर हिँड्थेँ । ‘नयाँ नाना हेर’ भन्दै फुपुका छोरीहरूलाई देखाउन जाँदाको बेग्लै रोमाञ्चकता थियो । अहो कस्तो अचम्मको मेरो बालापान ! सम्झदा मात्र पनि आनन्दानुभूति हुने ।

समय फेरियो । उमेर बढ्दै गयो । सोच र मानसिकता थप विकसित हुँदै गए । दशैं उही हो । उसैगरी आउँछ हरेक वर्ष । तर त्यसो रंग फेरियो । मेरा अनुभूति बदलिए । उसो त दशैंको विम्ब नै बदलिंदै गएका छन् । दशंै आउँदा साथीहरूले लुगा किन्न जाम भन्छन् । म झसंग हुन्छु । मामाहरूको याद आउँछ । बाल्यकालकै दशैंको सम्झना आउँछ । म सोचमग्न हुन्छु । सोच्छु, के म पहिलेको जस्तै गरी अहिले धुलोमा लडिबुडी गरेको सुहाउला ? उसैगरी रोएको सुहाउला ? परिवारले स्वीकार्ला ? त्यस्तैगरी दशैंको टिका थाप्न जाने घर कहाँ छ भनि म त घर गन्दै बस्दथँे, फेरी एक्लै जान पनि मन मान्दैनथ्यो । यता ममी–बाबासगँ गयो भने पैसा नै नदिने डरले जाँदैनथेँ । उता आफु जत्रैसगँ गए पछि १० रूपैयाँ भन्दा बढि पाउने आश पनि हुन्थेन । त्यसैले म त अलि ठुलो दिदीहरू र अंकलहरूसँगै पछि लागेर पुरै परिवारको घरमा टिका लगाउन पुग्थँे ।

समय सधैं उस्तै रहँदैन । परिस्थिति पनि बदलिरहन्छन् । बालापन सधैं रहँदैन । त्यो एक समय थियो, जुन स्वर्णिम थियो । जसै समय बित्दै गयो सधैं दशैं मनाउन पाइएन । परिवारमा दुःख पर्दा चाडपर्व मनाइँदैन । त्यो बेलाको दशैंले हर्ष होइन पीडा बोकेर ल्याउँछ । दशैंै आयो भन्नेबित्तिकै मनभरी कस्तो उत्सुक्ता बढेर आउँछ । मौसम पनि फेरी त्यस्तै भइदिन्छ, यस्तै खुशी पनि बढ्दै गएको हुन्छ । तर कस्तो बिडम्बना म त्यस परिवारबाट अलि टाढा पुगेको हुन्छु अनि फेरी दशैं आइरहेको हुन्छ नजिक नजिक, मेरो मनको खुशी र उत्सुकताले मन हरर भइरहेको हुन्छ ।

कारणबस मैले मेरो परिवारसँग एक वर्ष दशैं मनाउन पाएको थिइनँ । त्यस समयमा म धेरै रोएकी थिएँ । अलि बच्चै पनि थिएँ, त्यसैले सानो मन गरेको हुँला । त्यही समयमा मैले पुरै बालापनभन्दा पनि कत्ति विदेशिएका दाजुभाइ र दिदीबहिनीहरूलाई सम्झिएँ । उनीहरूको पनि त महान पर्व हो तर किन उहाँहरूले आफ्नै भुगोलमा र परिवारको साथमा अझैँ मनाउन पाउनु भएको छैन ? यही सम्झनेर आफूलाई सम्हालेँ । फेरी यता जातिय विभेदमा भएका मेरा प्यारा दिदी, दाइहरू पनि बिहे गरेपछि आफ्नो माइती घरमा टिका थाप्न जाने बाटो पनि खुलेको छैन । के हाम्रो देविदेवताले छुवाछुत हुन्छ भन्नुभएको छ र ? वास्तवमा त्यहाँ पनि पीडा भएको छ, आफ्नो माइती घरमा टिका लगाउन नपाउँदा कस्को मन रून्न होला ?

फेरी हाम्रो परम्परागत हिसाबको हरेक समाजका चाहानालाई स्वीकारेको छ । आज त्यस्ता घटनाहरू के पनि छ भने हाम्रो जातमा तलमाथि भएका युवायुवतीहरूलाई किन आफ्नो परिवारमा स्वीकारेको छैनन् । त्यस्ता जोडीहरू आज आफ्नो माइती घरमा दशंैको टिका थाप्न आएका छैनन् भने कोही आमाका छोराछोरीहरूलाई परिवारले अस्वीकार गर्दा ति वृद्ध आमाबाुवाको आशिर्वाद र टिका लगाउन आउन पाएका छैनन् । कोही छोराहरू दशैंमा खाडी मुलुकबाट घरको टिका सम्झिदै बसेका छन् । यो माया र परिस्थितिको बिचको बिडम्वनामा भएर पनि दशैंको दिन सम्झनामै बाँच्नु परेको छ ।

यस वर्षको दशैं पनि आगनमै आइपुगेको छ । मेरो मनमा उही हर्ष छाएको छ । उत्सुकता बढेको छ । त्यो बालापन छाडेर ती वर्षको अन्तरमा म मेरो परिवारसगं दशैं मनाउँदै छु । फेरी यसपटक पनि त्यस्तै बालापन जोडिएको छ । आज म ठुलो हुँदा पनि मामा, अकंलहरूले लुगा किनिदिनुभएको छ । म पुरै बच्चाजस्तै भएकी छु । त्यसैमा हराएकी छु । मेरो पुरै परिवारसगँ यो रगिंन दशैं मनाउँदैछु । रमाइलो गरी दशैंमा रातो टिका र जमरा लगाई मनाउने छु । मलाई त्यो पनि आशा छ प्यारी दिदी र दाइहरूको जोडीले पनि यस पटकको दशैंमा टिका लगाउनु हुनेछ । बहिर रहनुभएको सम्पूर्णले पनि छिटै परिवारसगं दशैं मनाउन पाउनुहुनेछ ।

र अन्तिममा म चाहन्छु, यो शुभविजयादशमीले जातीय विभेद र छुवाछुत अन्त्य गर्न मद्दत पु¥यायोस् । अन्तरजातीय विवाह गरेकै कारण घर र माइतीमा प्रवेश निशेध गरिएका छोरीज्वाईहरूलाई हरेक आमाबावुले घरमा बोलाएर दशैंको टिका लगाई आशिर्वाद दिनुहोस् । दशैं सद्भाव र मिलनको पर्व पनि हो ।

* सबैलाई शुभकामना *

प्रकाशित मितिः   १८ आश्विन २०७६, शनिबार ०९:३५