दशैं आयो के खाउँला ?

बराहताल–५, चेपाङकी डल्ली सुनार । तस्बिर सौजन्यः युवराज वली

सुर्खेत : एकान्तमा घर छ । घर भन्नु मात्रै हो भत्किनै लागेको कच्ची झुपडी । माटोले लिपेको भित्ता चर्किएका छन्, पर्खालका ढुङ्गा नै देखिने गरी । भित्ता अड्याउने काठ कुहिएका छन्, भाँचिनै लागेका । खरको छानो पनि सद्दे छैन । झट्ट हेर्दा कुनै गोठजस्तो देखिने यही झुपडीभित्र डल्ली सुनारको बास छ । वर्षले उनी ७३ पुगिन् । सहाराको नाममा थोत्रिएको चुहिने घरबाहेक अरु केही छैन, कोही छैनन् । एक्लो परानी धान्न उस्तै मुस्किल छ । वृद्ध शरीरले काम गरीखान सक्ने अवस्था छैन । प्राण त धान्नै प¥यो । के गर्नु ? उनी मागेरै गुजारा चलाउँछिन् ।

श्रीमान् हुँदासम्म त डल्लीलाई मागेर खानु पर्दैनथ्यो । श्रीमान्को मृत्यु भएको १३ वर्ष पनि बितिसक्यो । जब श्रीमान्को मृत्यु भयो डल्लीको जीवन दुःखको भूमरीमा फस्यो । आकाश खसेझैँ भयो, जमिन भासिएझैं भयो । उनले श्रीमान् मात्रै गुमाइनन् जीवनको सहारा गुमाइन्, भरोसा गुमाइन् ।

भएको एक कठ्ठा जमिनमा समेत खेती गरिदिने कोही छैन । न आफूले केही गर्न सक्छिन् । त्यसैले पनि बराहताल गाउँपालिका–५ चेपाङकी डल्ली सुनारलाई हरेक दिन बिहान बेलुकाको छाक टार्नकै पिरलो हुन्छ । हरेक दिन मागेरै दुई छाकको जोहो गर्ने सुनार अहिले भने दशैंको पिरलोमा छिन् । दशैं सुरु भइसकेको छ । काम विशेषले शहर पसेका र विदेश गएकाहरू गाउँ फर्किदैछन् । दशैंको रौनक गाउँमा पनि सुरु भइसकेको छ । तर डल्लीको मनमा भने हर्षभन्दा बढी पीडा छ । उनलाई बिहान खाए साँझ के खाउँला भन्ने चिन्ताले सताउँछ । त्यसमाथि दशैं त उनका लागि दशाजस्तै हुन्छ ।

भएकी एउटी मात्रै छोरी समेत उनको सहारा बन्न सकेकी छैनन् । उनी एक्लो जीवन बिताइरहेकी छिन् । अधिकांश वृद्धवृद्धाहरूले दशंैको मुखैमा सरकारले दिने सामाजिक सुरक्षा भत्ता पाए । तर डल्ली भने त्यसबाट पनि वञ्चित छिन् । कारण, उनको अहिलेसम्म पनि नागरिकता बनेको छैन । ‘सबैले वृद्धभत्ता पाए भन्छन्’ उनले भनिन् ‘तर मैले अझैसम्म पनि कुनै पनि भत्ता पाएकी छैन ।’

सधैं मागेरै गुजारा गर्ने उनले दशैं पनि मागेरै चलाउने बताइन् । चाडपर्व भनेकै मिठोमसिनो खाने दिनको रूपमा लिइन्छ । उनलाई पनि मासु खान मन छ । गाउँमा कसैले खसी काटेमा त्यहीँबाट मागेर खानुबाहेकको विकल्प नभएको उनले बताइन् । ‘सरकार गाउँ–गाउँमा आएको छ भन्छन्’ उनले थपिन् ‘तर मेरो लागि सरकार कहाँ छ थाहा नै छैन ।’ अहिलेसम्म सरकारबाट कुनै पनि सहयोग नपाएको गुनासो सुनारले गरिन् ।

दशैंमा परिवारसँगै बसेर खान नपाए पनि एक छाक मिठो खाने डल्लीको सपना छ । तर मागेर मिठो मसिनो खाने सपना पूरा नहुने हो कि भन्ने चिन्ताले पनि सताइरहन्छ । नागरिकताको लागि धेरै ठाउँमा धाए पनि बनेको छैन । नागरिकता मात्रै बनेको भए सामाजिक सुरक्षा भत्ताले दशैं आएको अनुभूति दिने आशा उनको छ । तर चिनेजानेका सबैलाई गुहारिसक्दा पनि उनले कसैबाट सहयोग पाउन सकेकी छैनन् । त्यसैले विगतमा जस्तै यस पटकको पनि ‘बिहान के खाउँला, साँझ के खाउँला’ भन्दै डल्लीको दशैं बित्ने भएको छ ।

प्रकाशित मितिः   १८ आश्विन २०७६, शनिबार ०९:२४