‘अब सुत्केरीको ज्यान जाँदैन’

सुर्खेत : कर्णालीमा कुनै पनि सुत्केरी महिलाको ज्यान जान नदिने प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले बताएका छन् । शुक्रवार मन्त्रालयले आयोजना गरेको विजयादशमी, दीपावली तथा छठ पर्वको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

सुत्केरी महिलाहरूको उद्धारका लागि सरकारले विशेष व्यवस्था गरेको भन्दै मन्त्री रावलले कुनै पनि कारणले महिलाहरूको ज्यान जान नदिने प्रतिबद्धता व्यक्त गरे । ‘कसैले खबरै गर्नुहुन्न’ उनले भने ‘सरकारलाई जानकारी भएसम्म विकट जिल्लाहरूमा सुत्केरी हुन नसकेका महिलाहरूको तत्काल उद्धार गर्ने गरेका छौं ।’

कर्णाली प्रदेश अस्पताल समेत अबको पाँच महिनाभित्रमा तीन सय शैयाको हुने उनले बताए । ‘हामीहरूले अस्पतालमा विभिन्न सामग्री खरिदको लागि समेत ४० लाख रूपैयाँ विनियोजन गरेका छौं’ उनले थपे ‘कर्णाली प्रदेश अस्पताल तीनसय शैयाको भएपछि विशेषज्ञ डाक्टरहरूको समेत अभाव झेल्नु पर्ने छैन ।’

कार्यक्रममा मन्त्रालयले एक वर्षभित्रमा गरेको प्रगति विवरण समेत सार्वजनिक गरिएको थियो । एकवर्षमा मन्त्रालयले १५ जना सुत्केरी महिलाको हवाइ उद्धार गरेको, विभिन्न जिल्लाहरूमा एम्बुलेन्स खरिद, प्रदेशका ५० स्थानमा सामुदायिक र सहरी स्वास्थ्य इकाईहरूको स्थापना गरिएको, प्रदेश अस्पताललाई तीन सय शैयाको निर्माण, एक सय ५६ विद्यालयमा चार सय ६२ नयाँ कक्षाकोठा निर्माण, प्रदेशमा ५० वटा बर्थिङ्ग सेन्टरहरूको सुधार, प्रदेशका एक सय ७७ जना छोरी–बुहारीलाई छात्रवृत्ति लगायतका कार्यक्रम मन्त्रालय गरेको प्रगति प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै प्रत्येक प्रादेशिक निर्वाचन क्षेत्रमा एक–एक वटा विद्यालयका खेल मैदान निर्माण, ४१ सडक बालबालिकाहरूको पुनस्र्थापना, ३३ जना साहाराविहिनहरूको आश्रयसहितको सेवा, ६ सय ८३ जना हिंसा प्रभावित महिला तथा बालबालिकाहरूलाई सेवाकेन्द्रमार्फत सेवा दिइएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मितिः   १८ आश्विन २०७६, शनिबार ०९:१८