विपन्न बालिकालाई सहयोग

सुर्खेत : विजया दशमी तथा शुभ दीपावलीको अवसरमा सुर्खेत महिला जेसिजले विपन्न बालिकालाई शैक्षिक सहयोग गरेको छ । वीरेन्द्रनगर नगरपालिका वडा नं. २ कोलडाँडाकी सपना विकलाई सहयोग गरिएको हो ।

जेसिजले वीरेन्द्रनगरमा विजया दशमीको अवसरमा शुभकामना आदान–प्रदानको कार्यक्रम आयोजना गरी सपनालाई सहयोग गरेको हो । सपनालाई शैक्षिक खर्च वापत १२ हजार रकम सपनाकी दिदी कोपिला विकलाई हस्तान्तरण गरेका छन् । जेसिज वर्ष २०१९ का अध्यक्ष सिया कार्की प्रधानले पाँच हजार पाँच, संस्थाका सदस्य प्रियंका मल्ल भट्टराईले दुई हजार, अनु गुरुङ्गले एक हजार पाँच सय, कृष्णा शाही र सुमित्रा श्वाँर गौतमले एक हजार एक सयका दरले सहयोग गरेका थिए ।

यस्तै लक्ष्मी गुरुङ्ग, पवित्रा गुरुङ्ग, सिता गुरुङ्ग र प्रतिमा मल्लाहले पाँच÷पाँच सयका दरले सहयोग गरेका छन् । त्यसैगरी कार्यक्रममा सपना विकको दिदी कोपिला विकलाई मोन्टी ब्यूटी पार्लरमा निःशुल्क ब्यूटीसियन तालिमको लागि प्रमी शाक्यले जिम्मा लिएकी छन् । विपन्न बालिकालाई पढाइको साथै घरखर्च जुटाउन सहयोग होस् भन्ने उद्देश्यले सहयोग रकम प्रदान गरिएको जेसिजका अध्यक्ष सिया कार्की प्रधानले बताइन् । ‘चाडपर्वमा हुने अनावश्यक खर्च कटौती गरेर विपन्न बालिकालाई सहयोग गरेका हौं’ उनले भनिन्, ‘यसबाट विपन्न बालिकालाई केही राहत भए पनि हुनेछ ।’

सपना सानै छँदा बुवाको निधन भएको थियो । आमाले पनि छोडेर गएपछि सपनालाई उनका दाइ र दिदीले मजदुरी गरेर पाल्दै आएका थिए । मजदुरीबाट साँझ बिहानको दुई छाक जोहो गर्न पनि मुस्किल हुने हुँदा पढाइ खर्च जुटाउन मुस्किल परेको थियो । जसले गर्दा सपनाका दाइ र दिदीले पढाइ छोडेर मजदुरी गर्दै आएका थिए ।

प्रकाशित मितिः   १७ आश्विन २०७६, शुक्रबार ११:२४