महिलामैत्री बन्दै वीरेन्द्रनगर


सुर्खेत : वीरेन्द्रनगर नगरपालिकाले पहिलो नगर सभाबाटै छोरी बचत खाताको सुरुवात गर्ने निर्णय ग¥यो । नगरसभाबाट गरेको निर्णयलाई आर्थिक वर्ष २०७४/०७५ बाट लागु गरी हालसम्म नगरभित्र जन्मिएका ९१ जना छोरीका नाममा बैंकमा बचत खाता खोलिएका छन् ।

नगरपालिकाको महिला तथा बालबालिका शाखाकी प्रमुख सरला रेग्मीका अनुसार नगरपालिकाले एक हजार बराबरको खाता खोलिदिने भएपछि बालिकाहरूको समयमै जन्मदर्ता हुने गरेको छ । गर्भमा रहेको शिशु छोरा हो या छोरी भनी जाँच गराई छोरी भए भ्रूण हत्या गर्ने प्रक्रिया समेत यो कार्यक्रमले रोकेको उनले बताइन् ।

उनले आर्थिक वर्ष २०७४/०७५ मा वीरेन्द्रनगरका १६ वटै वडाका ५८ जना छोरीहरूले छोरी बचत खाताको सेवा लिएको बताइन् । आर्थिक वर्ष २०७५/०७६ मा भने ३३ जना छोरीहरूले यो सेवा लिइसकेका छन् । त्यस्तै हिंसा प्रभावित महिला तथा सडक बालबालिकाका लागि नगरपालिकाको वडा नं. ८ मा सेफ हाउस भवन निर्माणको टेण्डर समेत भएको उनले जानकारी दिइन् । दुई करोड ७५ लाखको लागतमा उक्त भवन निर्माण हुन लागेको हो ।

यस्तै आर्थिक वर्ष २०७४/०७५ मै गर्भवती महिलाको स्वास्थ्यलाई हेरी निःशुल्क भिडियो एक्सरे सेवा दिने योजना समेत नगरपालिकाले ल्याएको थियो । ‘कतिपय अवस्थामा भिडियो एक्सरे गर्ने पैसाको अभावमा गर्भवतीको ज्यान जान सक्छ’ उनले भनिन् ‘वीरेन्द्रनगरमा लागु भएको यो कार्यक्रम समेत प्रभावकारी ढङ्गले अगाडि बढ्यो ।’ वीरेन्द्रनगरका गर्भवती महिलाहरू सुत्केरी गराउन अस्पतालसम्म जाँदा निःशुल्क एम्बुलेन्स सेवाको समेत नगरले व्यवस्था गरेको उनले जानकारी दिइन् ।

त्यतिमात्र होइन पाँच लाखको लैंङ्गिक कोष समेत वीरेन्द्रनगर नगरपालिकाले स्थापना गरेको छ । छोरीमैत्री योजनामा जोड दिएको नगरपालिकाले महिला लक्षित कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । अघिल्ला वर्षहरूमा ल्याएका केही नमुना कार्यक्रमहरू यो वर्ष पनि निरन्तरता पाउने छन् भने केही नयाँ कार्यक्रम पनि सञ्चालन हुने नगरपालिकाका उप–प्रमुख मोहनमाया ढकालले बताइन् ।

आर्थिक वर्ष २०७५÷०७६ मा नगरपालिकाले महिलाहरूलाई स्वरोजगार र आत्मनिर्भर बनाउन पनि उत्तिकै पहल गरेको छ । महिला स्वरोजगार कार्यक्रमका लागि नगरले गत वर्ष एक करोड रूपैयाँ छुट्याएको थियो । जसबाट करिब दुई सय पचास भन्दा बढी महिलाले सीप सिकेर रोजगारीमा लागेको उनले बताइन् । महिलाहरूलाई ब्यूटीपार्लर, सिलाई–बुनाई लगायतका तालिम दिइ रोजगारीमा लगाएको ढकालको भनाइ छ ।

यो वर्ष पनि स्वरोजगार कार्यक्रमको लागि नगरले एक करोड रूपैयाँ बजेट विनियोज गरेको छ । ‘अघिल्ला वर्षहरूमा हामीहरूले सीपमा बढी जोड दिएका थियौं’ उनले भनिन् ‘यो वर्षदेखि प्रत्यक्ष रोजगारीमा जोड दिएर निगरानी समेत गर्ने गरेका छौं ।’ नगरले यो वर्ष ३० जना महिलालाई अटो व्यवसायमा जोड्ने गरी तालिम सञ्चालन गरे पनि १३ जनाले मात्रै तालिममा सहभागीभइ आठ जनाले अटो व्यवसाय सुरु गरिसकेका छन् । यसको लागि एक लाख अनुदान र एक लाख तीन वर्षमा फिर्ता लिने गरी नगरले विना ब्याज ऋण उपलब्ध गराएको उनले बताइन् ।

योसँगै किशोरीमैत्री नगर घोषणा गर्ने कार्य पनि अगाडि बढाइएको उप–प्रमुख ढकालले जानकारी दिइन् । ‘विद्यालय उमेरका छात्राहरूलाई सेनेटरी प्याडको व्यवस्था यस अघि नै गरिसकेका थियौं’ उनले थपिन् ‘अब नगरको सबै महिलाहरूले नजिकैको स्वास्थ्य संस्थाबाट महिनामा प्रति व्यक्ति एउटा प्याकेट सेनेटरी प्याड पाउनेछन् ।’ त्यसको लागि समेत काम अगाडि बढिसकेको उनले बताइन् । ढकालका अनुसार प्लाष्टिकमुक्त सहर निर्माणमा समेत वीरेन्द्रनगरका महिलाहरूलाई प्रयोग गरी झोला उत्पादनमा लगाइएको छ । महिलाहरूका उत्पादनलाई वीरेन्द्रनगर नगरपालिकाले बजारीकरणको जिम्मा समेत लिएको उनले जानकारी दिइन् । वीरेन्द्रनगर महिलामैत्री नगर स्थापना गर्नको लागि आफूहरूले गृहकार्य गर्दै आएको भन्दै ढकालले अबको केही वर्षमा वीरेन्द्रनगरका महिलाहरूलाई आर्थिक रूपमा समृद्ध बनाइ विभिन्न हिंसा र असमानता हटाउने लक्ष्य रहेको समेत जानकारी दिइन् ।

Loading...