वृद्धवृद्धालाई भत्ता लिनै सास्ती

घरमै वा वडाबाटै वितरण गर्न ज्येष्ठ नागरिकको माग

सीता वली
सुर्खेत : वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ भैरवस्थानका जसन्तबहादुर खत्री ७७ वर्षका भए । उनी दशैंको मुखैमा सरकारले दिएको सामाजिक सुरक्षा भत्ता लिन बुधवार बिहानै उठेर बैँकसम्म आईपुगे । वृद्धभत्ता वापतको रकम बुझ्न बिहान ६ बजेदेखि लाईनमा बसेका खत्रीले दिनको साढे एक बजे मात्रै पालो पाए । करिब सात घण्टा कुरेपछि मात्रै पैसा हात प¥यो ।

सरकारले दिने भत्ता हात पर्दा उनको मुहार जति हर्षित थियो, पालो कुरेर घण्टौ लाइनमा बस्नुपर्दा भने त्यति नै थकित पनि थियो । महिनाको तीन हजारका दरले एकमुष्ठ प्राप्त भएको चार महिनाको १२ हजार रूपैयाँ बोकेर उनी खुशी हुँदै बैंकबाट बाहिर त निस्किए तर भोकले लखतरान परेका जस्ता देखिन्थे । उनको थकित चेहेरा प्रष्ट देखिन्थ्यो । ‘बिहानै आएर लाइनमा लागेकोे’ खत्रीले भत्ता बुझ्दाको सास्ती सुनाए, ‘करिब सात घण्टालाइनमा बस्नुपर्दा निक्कै दुःख भयो ।’

यस्तै वीरेन्द्रनगर–२ कि ७० वर्षीया देवीसरा सार्की पनि सामाजिक सुरक्षा भत्ता बुझ्न बुधवार बिहानै अटोरिक्सा चढेर बैंकसम्म पुगिन् । उनका ८० वर्षीय श्रीमान् तिलबहादुर सार्की समेतसँगै आएका थिए । बैंकसम्म आउँदाको सास्ती त छँदैथियो बैंकमा आएर पनि घण्टौंलाइन लाग्नुपरेको पीडा उनीहरूले पोखे । देवीसराले भनिन् ‘दुवै जनाको खुट्टामा समस्या भएकोले बंैकसम्म आउनलाई समेत समस्या छ, झन् यहाँ आएर पनि पालो कुर्नपर्छ ।’

जसन्तबहादुर, देवीसरा र तिलबहादुर मात्रै होइन सामाजिक सुरक्षा भत्ता बुझ्ने सबैले यस्तै सास्ती भोग्दै आएका छन् । त्यसमाथि चाडपर्वको समयमा बैंकहरूमा हुने चापले भत्ता बुझ्न आएका ज्येष्ठ नागरिकलाई थप सास्ती हुने गरेको छ । दशैंको मुखैमा वितरण गरिएको सामाजिक सुरक्षा भत्ताले वृद्धवृद्धाहरूलाई सहज त बनाएको छ तर बैंकसम्म पुग्न र पुगेपछि पनि रकम हात पार्न पार्नै कठिनाइ छ ।

भत्ता वितरणलाई सहज बनाइनुपर्ने ज्येष्ठ नागरिकहरूको माग छ । सकेसम्म घर–घरमै वितरण गर्नुपर्ने र त्यति पनि नभए वडास्तरबाटै वितरण गर्नुपर्ने तिलबहादुरको माग छ । जसन्तबहादुर खत्रीले पनि वडास्तरबाटै वृद्धभत्ता घरमै दिने व्यवस्था भएको भए सुनमा सुगन्ध हुने बताए । भैरवस्थानबाट भत्ता लिन यरीचौकमा रहेको लक्ष्मी बैंकमा पुगेका उनले वडामार्फत घरमै भत्ताको व्यवस्था गरीदिन सरकारलाई आग्रह गरे । ‘दशैंको मौकामा आएको पैसाले हामीलाई खुशी बनाएको छ’ उनले भने, ‘तर बिहानदेखि करिब सात घण्टालाइन बस्नुपर्दा भने निकै दुःख भयो, त्यसैले घरमै भत्ता बुझ्न पाइए हामीलाई सास्ती हुने थिएन ।’

यस्ता धेरै ज्येष्ठ नागरिकहरूलाई वीरेन्द्रनगर नगरपालिकाका विकट वडाबाट वृद्धभत्ता लिन आउनुपर्छ । वीरेन्द्रनगर १५, १६ बाट करिब ३ घण्टा सवारी साधनमा भत्ता लिनको लागि सदरमुकाम आउनुपर्ने बाध्यता छ । वीरेन्द्रनगर नगरपालिका १५ का पदमबहादुर लामिछानेले आफू अशक्त भएकोले भत्ता लिन आउन नपाएको गुनासो गरे । ‘गाडीमा घण्टौ यात्रा गर्नुपर्छ’ उनले भने ‘त्यतिमात्रै होइन मेरो घरबाट सडकसम्म पुग्न समेत एक घण्टा बढी हिँड्नुपर्छ । अनि कसरी भत्ता लिन बैंकसम्म पुग्ने ?’ रकम बुझ्न सम्बन्धित व्यक्ति नै आउनुपर्ने भएकाले पनि अपाङ्गता भएका, अशक्त र ज्येष्ठ नागरिकहरूले सास्ती भोग्नुपरिरहेको छ ।

यता वीरेन्द्रनगर नगरपालिकाकी उप–प्रमुख मोहनमाया ढकालले बैंकबाट पैसाको कारोबार गर्दा सुरक्षा हुने भएकोले नेपाल सरकारको निर्णयलाई नै नगरपालिकाले कार्यान्वयन गर्दै आएको बताइन् । वीरेन्द्रनगर नगरपालिकाका सामाजिक सुरक्षा शाखाका सुरेश आचार्यका अनुसार वीरेन्द्रनगरमा रहेको १३ वटा बैंकमार्फत भत्ता वितरण हुन्छ । मंगलवारदेखि सामाजिक सुरक्षा भत्ता खातावालाको खातामा ट्रान्सफर गरिएको र आवश्यकता अनुसार जहिले पनि पैसा झिक्न सकिने उनले जानकारी दिए । वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ को पहिलो चौमासिक किस्ता वितरण गरेको आचार्यले बताए ।

प्रकाशित मितिः   १६ आश्विन २०७६, बिहीबार १४:२१