दुर्घटनामा दुई जनाको मृत्यु

कालिकोट : जिल्लाको खाडाँचक्र नगरपालिका–५ बिहानी खोलामा डोजर पल्टिँदा एक जनाको मृत्यु भएको छ । मंगलवार बिहान बिहानी खोलामा डोजर पल्टेर डोजरका सह–चालक भरतबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । प्रहरीका अनुसार मृतक शाही दैलेख ठाटीकाँधका स्थानीय हुन् । कर्णाली राजमार्ग खुलाउन जाँदा डोजर पल्टिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख श्यामबाबु ओलियाले बताए । डोजर बिहान ४ बजेतिर पल्टिएको हो ।

यस्तै मंगलवार नै सल्यानमा रोकीराखेको टिप्पर चल्दा एक मजदुरको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । शारदा नगरपालिकाको कार्यालय नजिकै बा ३ क २३६५ नम्बरको टिप्पर दुर्घटना हुँदा शारदा नगरपालिका–८ मार्केकी ४५ वर्षीया रामकली विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । विक खलंगा–सुर्खेत सडकमा मजदुरको रूपमा काम गर्दै आइरहेकी थिइन् । घाइते हुनेमा सन्तोषी सेवा निर्माणका कामदार ३५ वर्षका मोहिसन मुसिया, हरिशंकर भन्तु र शेषनाथ कुमाल रहेका छन् । घाइते तीनै जनाको सल्यान अस्पतालमा उपचार भइरहेको छ । मृतक विकले पानी पिउन भनेर झ्याल खोलेर पानीको खोज्ने क्रममा गाडीको ब्रेकमा हात जाँदा टिप्पर व्याक भइ सडकबाट तल खसेको थियो ।

प्रकाशित मितिः   १५ आश्विन २०७६, बुधबार १४:०४