‘ज्येष्ठ नागरिकको जिम्मा सरकारले लिन्छ’

सुर्खेत : सुर्खेतमा पनि २९औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइएको छ । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश तथा वीरेन्द्रनगर नगरपालिका सुर्खेतको आयोजनामा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम गरी दिवस मनाइएको हो । सम्मान कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री दल रावलले ज्येष्ठ नागरिकहरूको सम्पूर्ण जिम्मा सरकारले लिने बताए । उनले कानुनले नै ज्येष्ठ नागरिकहरूको सम्मान गर्नकै लागि भत्तालगायतको व्यवस्था गरेको उनको भनाइ थियो ।

वृद्धाश्रममा बस्ने वातावरण नहुनुपर्ने आफ्नो धारणा भए पनि पारिवारिक कारणले त्यस्तो अवस्था आएमा सरकारले जिम्मा लिनका लागि प्रदेशका सबै जिल्लामा वृद्धाश्रम खोल्ने तयारी गरेको मन्त्री रावलले जानकारी दिए । सम्मान कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति सुर्खेतका संयोजक छविलाल सिग्देलले ज्येष्ठ नागरिकहरूले राष्ट्र निर्माणमा पु¥याएको योगदानको सम्मान गर्नुपर्ने बताए । कार्यक्रममा ५० जना ज्येष्ठ नागरिकहरूलाई सम्मान गरिएको थियो ।

यसैबीच ज्येष्ठ नागरिकले प्राप्त गर्दै आएको सामाजिक सुरक्षा भत्ताको प्रभावकारी वितरणका लागि वीरेन्द्रनगर नगरपालिकाले बैंकहरूको अनुगमन गरेको छ । चाडपर्व नजिकिएसँगै बंैकहरूमा ठूलो भिडभाड हुने र ज्येष्ठ नागरिकले सहजै सामाजिक सुरक्षा भत्ता लिन नसकिरहेका बेला नगरपालिकाले मंगलवार वीरेन्द्रनगरका बैंकहरूको अनुगमन गरेको हो ।

नगरपालिकाका उप–प्रमुख मोहनमाया ढकालको नेतृत्वमा गएको टोलीले वीरेन्द्रनगरका विभिन्न वडाको सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मा लिएका बैंकहरूमा अनुगमन गरी ज्येष्ठ नागरिकलाई सहज रूपमा भत्ता दिन आग्रह गरेको हो । सहज रूपमा भत्ता वितरण गर्दा केही कानुनी जटिलता भए पनि तत्काल समस्या समाधान गरी वितरण प्रक्रियालाई छिटो र छरितो बनाइने उप–प्रमुख ढकालले बताइन् । उता बंैकहरूले भने चाडपर्वको बेला ग्राहकहरूको बाक्लो भिडभाड भएता पनि ज्येष्ठ नागरिकलाई भने सहज रूपमा सेवा प्रवाह गर्ने बताए । अनुगमनमा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाल, प्रशासकीय अधिकृत प्रकाश पौडेल, वडा नम्बर ६ का वडा अध्यक्ष मोतीप्रसाद कँडेललगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   १५ आश्विन २०७६, बुधबार १४:०२