सरसफाइमा असंवेदनशील

सरकारले सोमवार मुलुकलाई नै खुला दिसामुक्त घोषणा गरेको छ । बृहत सरसफाइ अभियान अन्तर्गतको यो पहिलो चरणको कार्यक्रम हो । विगत केही वर्षदेखि टोल, गाउँ, वडा हुँदै जिल्लासम्म खुला दिसामुक्त घोषणाको अभियान सञ्चालन गरिएको थियो । कर्णाली प्रदेशमा पनि यो अभियान निकै जोडतोडका साथ सञ्चालन भयो । सरकारीदेखि गैरसरकारी निकायले बजेट खर्चिए । त्यतिमात्रै होइन अन्तर्राष्ट्रिय सहयोग समेत भिœयाइयो । खुला दिसामुक्त अभियानकै लागि विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संघ–संस्थाले पनि आर्थिक सहयोग गरे । केही वर्षअघिसम्म कर्णालीमा खुला दिसामुक्त अभियान एउटा सामाजिक अभियानकै रुपमा सञ्चालन भयो ।

सरसफाइ अनिवार्य छ । व्यक्तिगत सरसफाइ होस् वा वातावरणीय सरसफाइ । मानव जीवनका लागि दुवै अपरिहार्य छ । प्रदूषित वातावरण मानव जीवनका लागि प्रतिकूल हुन्छ । विभिन्न किसिमका रोग निम्त्याउँछ । सरसफाइको कमीकै कारण मानिसहरुमा विभिन्न रोग लागेर ज्यान गुमाइरहेका प्रशस्त घटना हाम्रैसामु छन् । सरसफाइमा ध्यान नदिँदा सानादेखि अत्यन्तै जटिल प्रकारका रोग फैलिने सम्भावना बढी हुन्छ । त्यसैले पनि सरसफाइ अनिवार्य छ । तर आजको युगमा आइपुग्दा पनि सरसफाइप्रतिको संवेदनशीलता भने पूर्ण विकास विकास भइसकेको पाइँदैन । सहरी क्षेत्रमा त वातावरणीय प्रदूषणको अवस्था अझ भयावह नै छ । जताततै फोहोरका डङ्गुर देखिन्छन् ।

वातावरण प्रदूषणका अनेक कारणमध्ये एक हो खुला दिसामुक्त । ग्रामीण क्षेत्र होस् या शहरमै पनि खुला ठाउँमा दिसा गर्ने प्रवृत्ति कायमै छ । पछिल्लो समयमा भने शौचालयको प्रयोग विस्तारै बढ्दै गएको छ । खुला दिसामुक्त घोषणाका लागि चलाइएको अभियानले शौचालयको प्रयोगलाई थप प्रोत्साहित गरेको छ । घर–घरमा शौचालय बनेका छन् । तर ग्रामीण क्षेत्रमा भने अभियानले शौचालय बनाउन प्रोत्साहन गरे पनि त्यसको प्रयोगको अवस्थामा भने पूर्ण रुपमा सुधार ल्याउन सकेको पाइँदैन । सुर्खेतकै कतिपय ग्रामीण क्षेत्रमा अहिले पनि शौचालयको प्रयोग भएका छैनन् । बनाइएका शौचालय पनि दाउरा राख्न वा कुखुरा र बाख्राका पाठा राख्न प्रयोग भएको दृष्य प्रशस्तै देखिन्छन् ।

हुन त कुनै पनि अभियान निश्चित अवधिका हुन्छन् । खुला दिसामुक्त अभियान पनि त्यस्तै थियो । अभियान सम्पन्न भयो । अहिले त मुलुक नै खुला दिसामुक्त घोषणा भइसकेको छ । यसको अर्थ हो हरेक घरमा शौचालय बने र त्यसको प्रयोग भइरहेको छ । अर्थात् खुला ठाउँमा दिसा हुन पूर्ण रुपमा बन्द भएको छ । तर तथ्यांकमा यसो भए पनि व्यवहारमा भने हुन सकेको छैन । त्यसैले व्यवहारमै परिवर्तन ल्याउने गरी सरसफाइमा हरेकको बानी सुधार गर्ने योजना र अभियानको खाँचो अझै छ ।

प्रकाशित मितिः   १४ आश्विन २०७६, मंगलवार १३:५१