‘गुणस्तरीय शिक्षा अपरिहार्य’
सुर्खेत : प्रतिनिधिसभा सदस्य नवराज रावतले कर्णाली प्रदेशको विकासका लागि गुणस्तरीय शिक्षा अपरिहार्य रहेको बताएका छन् । जनसेवा माध्यमिक विद्यालय घुस्राले आइतवार आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले कर्णाली प्रदेश एक भौगोलिक रूपमा विकट क्षेत्र भएको भन्दै यसको समग्र विकास गर्न प्राविधिक र गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने धारणा राखे । साथै विद्यालयको विकासमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि उनले जनाए ।
त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ का अध्यक्ष समेत रहेका नन्दलाल शर्माले विद्यालयको भौतिक पूर्वाधार विकासका साथै शैक्षिक गुणस्तर वृद्धिका लागि काम गरिरहेको बताए । विद्यालयका प्रधानाध्यापक भक्तबहादुर शाहीले गत वर्षका केही कक्षाहरू बाहिर चौरमा कक्षा सञ्चालन गर्नुपरेको भन्दै यस वर्षका कक्षाहरू नयाँ निर्मित भवनमा सञ्चालन गर्न पाएकोमा खुशी व्यक्त गरे ।
आइतवार नै विद्यालयको नयाँ भवनको उद्घाटन समेत गरिएको थियो । विद्यालयको चार कोठे भवन सांसद नवराज रावतको सांसद विकास कोष र वीरेन्द्रनगरको १० नं. वडा कार्यालयको सहयोग निर्माण गरिएको जनाइएको छ ।
प्रकाशित मितिः १३ आश्विन २०७६, सोमबार १३:३१
साझा बिसौनी ।