विद्यार्थी छँदै राजनीतिमा

कृष्णबहादुर जिसी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुर्खेतका सचिव हुन् । वि.सं. २०३७ पुस ९ गते चिङ्गाड गाउँपालिकाको वडा नंं. ३ (तत्कालीन मटेला गाविसमा) बुबा डिलबहादुर घर्ती र आमा नैनसरा घर्तीको सन्तानका रूपमा जन्मिएका उनी विद्यार्थी छँदैदेखि राजनीतिमा सक्रिय थिए । तत्कालीन नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुमा आवद्ध भएर राजनीति यात्रा सुरु गरेका जिसी एमाले पार्टी फुटेर एमाले र माले भएपछि वि.सं. २०५३ सालमा तत्कालीन माओवादीमा प्रवेश गरेका थिए । सशस्त्र द्वन्द्वको क्रममा उनी भूमिगत भए । छापामार बनेर भूमिगत भएका उनी सेनाको बिग्रेड कमाण्डर हुँदै चिङ्गाडमा इलाका जनसरकार र सुर्खेतको जनसरकार उप–प्रमुख भए । वि.सं. २०५९ सालमा पार्टीको जिल्ला सचिवालय सदस्य भएका उनी पार्टी शान्ति प्रक्रियामा आइसकेपछि तत्कालीन माओवादी सुर्खेतको सेक्रेटरी र संयोजक भए । एमालेसँगको पार्टी एकीकरणपछि जिसी नेकपा सुर्खेतको सचिव भए । पूर्णकालीन राजनीतिमा सक्रिय जिसीले आफ्नो बाल्यकालको सम्झना हाम्रा सहकर्मी मुना हमालसँग यसरी साटे ः

एउटा कृषक परिवारमा जन्मिएँ । बुवा–आमा कृषि पेसा गर्नुहुन्थ्यो । चार भाइ र एक दिदीमध्ये म कान्छो छोरा । मैले सानै उमेरदेखि विद्यालय जाने अवसर पाएँ । प्राथमिक तहसम्म मैले घर नजिकैको विद्यालयमा पढेँ । माध्यमिक तह पढ्ने समयमा विद्यालय घरदेखि टाढा थियो । विद्यालय पुग्न झण्डै एक घण्टाभन्दा बढी हिँड्नुपथ्र्यो । पढाइमा राम्रो विद्यार्थी थिएँ । प्रावि तहमा प्रायः प्रथम नै हुन्थें । माविमा गएपछि दोस्रोसम्म भएँ । तर पनि पढाइ राम्रो नै थियो । पढाइमा राम्रो भएकाले पनि सबैले माया गर्नुहुथ्यो । मेहेनती र लगनशील विद्यार्थीको रूपमा शिक्षकहरूले हेर्नुहुन्थ्यो । साथीहरूले पनि माया गर्थे । नजिक हुन्थे ।

बाल्यकालमा कहिलेकाँही बदमासी पनि गरेका सम्झना पनि छन् । विद्यालयबाट भागेर खेल्न जाँदा शिक्षकबाट कुटाइ खाएको सम्भना छ । शिक्षकले पातीका मसिना लठ्ठीले पिट्नुहुन्थ्यो । कहिलेकाहीँ हामी स्कुलबाट भागेर खेल्न जान्थ्यौँ । नजिकैका जंगलमा चरा मार्न पुग्थ्यौं । उतै खेल्दाखेल्दै समय बितेको पत्तै नहुने । त्यो थाहा पाएर शिक्षकले कुट्नुहुन्थ्यो । त्यो समयमा खेल्नुमै रमाइलो लाग्थ्यो । एक पटक कस्तोसम्म भयो भने हामीलाई कुट्ने सरलाई नै ‘ठीक पार्नुपर्छ’ भनेर योजना बनायौं । उहाँलाई बाटोमो एक्लै भेटेको बेला कुट्ने हाम्रो योजना थियो । चार÷पाँच जना साथीको टिम थियो । सबै साना थियौँ । बाटोमा एक्लै सर भेटिएपछि हामी समात्न गयौं । उहाँलाई झम्टिन त गयौंँ तर केही गर्न सकेनौं । उल्टो भोलिपल्ट स्कुलमा पुगेपछि झन धेरै पिटाइ सहनुप¥यो ।

गाईगोठालासँगै पढाइ घरको कामसँगै पढ्नुपर्ने हुन्थ्यो । बिहान–साँझ घरको काम गर्ने र दिउँसोको समयमा विद्यालय जाने दैनिकी थियो । विद्यालय टाढा थियो । घरको काम पनि गर्नु परेकाले घरमा पढ्ने समय त्यति हुँदैनथ्यो । जति पढ्यो विद्यालयमा नै पढ्ने हुन्थ्यो । बत्तीकोे सुविधा थिएन । रातीको समयमा दियालो बालेर होमवर्क गर्थें । टुक्की बाल्ने चलन थिएन । विस्तारै मट्टितेल गाउँगाउँमा पु¥याउन थालेपछि टुक्की बालेर पढ्न थाल्यौं ।

घाँस–दाउरा काट्नुपर्ने, गोठाला जानुपर्ने काम हुन्थ्यो । नभए भकारो सफा गरेर विद्यालय समयमा हिँड्नुपर्ने हुन्थ्यो । विद्यालय जाँदा खाजामा रोटी र अचार लिएर जान्थ्यौं । कहिलेकाहीँ बाटोमा लुकाएर विद्यालय जान्थ्यौं । आउँदा साथीहरूले बदमासी गर्थे । साथीहरूले खाजा खाइदिए पछि भोकै घर फर्कनुपथ्र्यो ।

पढ्ने क्रममा बुवा–आमाले सहयोग गर्नुभयो । मेरो दाइ शिक्षक हुनुन्थ्यो । कापी–कलम किन्दा उहाँले पनि सहयोग गर्नुहुन्थ्यो । कहिलेकाहीँ कतिसम्म बदमासी गरिन्थ्यो भने कापी–कलम किन्नका लागि आमाले राख्नु भएको घ्यू चोरेर बेचेको पनि सम्झना छ । विद्यालय पढ्दा सुरुसुरुमा निगालाको कलम र कटुसको पातको मसी गराएर लेख्नुपथ्र्यो । कालोपाटी विद्यालयमा बोकेर लिएर जान्थ्यौं । निमावि पढ्न थालेपछि भने कापी–कलम प्रयोग गर्न थालेका थियौं ।

विद्यालयबाटै राजनीतिमा कक्षा ८ पढ्दा नै विद्यार्थी संगठनमा आवद्ध भएँ । मलाई नेतृत्व गर्नमा रुचि थियो । कक्षामा पनि मोनिटर छान्दा म नै अघि सर्थें । संगठित हुने र काम गर्ने मेरो रुचिको विषय थियो । तत्कालीन एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा आवद्ध भएँ । म इकाई अध्यक्ष भएर विद्यार्थी राजनीति सुरुवात गरें । हामीले विद्यार्थीहरूलाई संगठित गर्ने, कक्षाकोठामा मोनिटर छान्दा पनि राजनीतिक प्रभाव हुन्थ्यो । विद्यार्थी राजनीति यात्राले मलाई यहाँसम्म ल्याएको जस्तो लाग्छ । समाजमा हुने भेदभाव, छुवाछुत, विकृति र विसंगतिलाई हटाउनुपर्छ भन्ने सोचले पनि मलाई राजनीतिमा बाल्यकालदेखि नै प्रेरित गरेको हो । दलितले छोएको खानुहँुदैन भनेर हाम्रो मनमस्तिकमा थियो । तर मेलै थाहा नै नदिएर साथीहरूसँग खान्थें । दलित समुदायको साथीहरूसँगै खाजा खाएको भन्दै बुवा–आमाबाट पिटाइ पनि खानुपरेको छ । तर म साथीहरूसँग मिल्ने नै गर्थें । कहिलेकाहीँ केही कारणले झगडा पथ्र्यो नै तर आफू झगडा गर्न भने अघि कहिल्यै सरिनँ ।

घरको आर्थिक अवस्था कमजोर भए पनि खेतबारी भएकाले खान पुग्थ्यो । त्यसबेलामा बाहिर गएर पढ्न कमजोर आर्थिक अवस्थाले चुनौती नै थियो । एसएलसीपछि वीरेन्द्रनगर पढ्न आएँ । मैले १४ वर्षको उमेरमा एसएलसी पास गरेको हुँ । त्यस बेलामा यहाँ आएर पढ्न चानचुने कुरा थिएन । संकटपूर्ण अवस्थाको बाल्यकालले संघर्ष गर्न सिकायो । समाजमा रहेको अन्धविश्वासलाई चिरफार गर्नुपर्छ र समाजलाई सही दिशातर्फ बदल्नुपर्छ भन्ने सोच गरायो । हाम्रा संस्कृतिलाई परिस्कृत गर्नुपर्छ भन्ने लाग्थ्यो । म जिज्ञासु स्वभावको थिएँ । नयाँ विषय अध्ययन गर्ने रुचि थियो । र पढेर नयाँ केही काम गर्नुपर्छ भन्ने सोच थियो । त्यसैले नै आफ्नो जीवनलाई राजनीतिमा समर्पित गरें । हाम्रो देशमा व्यवस्था फेरिए पनि अवस्था भने अझै फेरिएको छैन । यसलाई बदल्नका लागि सामाजिक अभियान नै सञ्चालन गर्नुपर्छ भन्ने लाग्छ ।

प्रकाशित मितिः   १३ आश्विन २०७६, सोमबार १३:३२