मुख्यमन्त्रीको नक्कली फेसबुक बनाएर दुरूपयोग

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नक्कली फेसबुक एकाउण्ट बनाएर सरकारी निकायका प्रमुखलाई म्यासेज गर्ने गरेको पाइएको छ । मुख्यमन्त्री शाहीको नाममा खोलिएको नक्कली फेसबुक एकाउण्टबाट केही व्यक्ति र सरकारी निकायका प्रमुखलाई म्यासेज गएपछि गलत क्रियाकलाप भएको थाहा भएको हो ।

नक्कली फेसबुक चलाएका व्यक्तिले उक्त एकाउण्टबाट केही व्यक्तिहरू र सरकारी निकायका प्रमुखहरूलाई निर्देशन दिने र विभिन्न आयोजना दिन सिफारिस गर्ने गरेको पाइएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । मुख्यमन्त्रीकै नक्कली फेसबुक बनाएर गलत क्रियाकलाप भएको जानकारी भएपछि सचिवालयले कानुनी कारबाहीको प्रक्रिया सुरु गरेको जनाएको छ । सचिवालयले आइतवार विज्ञप्ती प्रकाशित गरी मुख्यमन्त्रीको नक्कली फेसबुक एकाउण्ट बनाएर अवाञ्छित क्रियाकलाप सञ्चालन भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताएको छ । ‘सामाजिक सञ्जाल फेसबुकमा माननीय मुख्यमन्त्रीज्यूको नाममा नक्कली एकाउन्ट बनाई अवाञ्छित क्रियाकलाप भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तीमा भनिएको छ । मुख्यमन्त्रीको सचिवालयले मुख्यमन्त्रीको आधिकारिक बाहेकका एकाउण्ट नक्कली रहेको जनाएको छ ।

प्रकाशित मितिः   १३ आश्विन २०७६, सोमबार १३:३०