सुल्झियो मुआब्जा विवाद
सीता वली
सुर्खेत : राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय आयोजना प्रभावित क्षेत्रमा देखिएको मुआब्जा विवाद सुल्झिएको छ । आयोजनाको बाँध निर्माण गर्दा डुबानको खतरामा रहेका सुर्खेत जिल्लाका तीनवटा स्थानीय तहका नागरिकहरूले उचित मुआब्जाको माग गर्दै आएका थिए । मुआब्जामै अल्झिएको बाँध निर्माण कार्य प्रभावित नागरिकहरूलाई दिने मुआब्जाको रकम निर्धारण भएसँगै विवाद सुल्झिएको हो । आयोजनाको बाँध निर्माणबाट प्रभावित क्षेत्र भेरीगंगा नगरपालिका, गुर्भाकोट नगरपालिका तथा लेकवेशी नगरपालिकाका जग्गाधनीहरूलाई अधिकतम १० लाखसम्मको मुआब्जा प्रदान गर्नेगरी विवाद समाधान भएको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाका सूचना अधिकारी कृष्णप्रसाद उपाध्यायले जानकारी दिए । गुर्भाकोट नगरपालिकामा पर्ने लेखफर्सा, छोटे, गुमी, कोटमाझखर्क लगायतको क्षेत्रमा न्यूनतम जग्गाको प्रकृति हेरी प्रतिकठ्ठा चार लाख ५० हजार रूपैयाँबाट मुआब्जाको काम सुरु हुने उनले बताए ।
त्यस्तै भेरीगंगा नगरपालिका क्षेत्रभित्रका जग्गाहरूको लागि भने रोपनीको हिसाबले मुआब्जा वितरण गर्ने गरी रकम निर्धारण गरिएको उपाध्यायले जानकारी दिए । न्यूनतम मुआब्जाको रकम चार लाख ५० हजार देखि १० लाखसम्म निर्धारण भएको उपाध्यायले बताए । ‘दर्तावाला जग्गाको लागि मात्रै मुआब्जा निर्धारण भएको छ’ उनले भने ‘ऐलानी जग्गाको हकमा भने मन्त्रिपरिषद्को निर्णय आवश्यक पर्ने भएकोले फाइल अगाडि पठाइएको छ ।’
यसअघि निर्धारण गरिएको मुआब्जा निकै न्यून भएको भन्दै प्रभावित क्षेत्रका नागरिकले विरोध जनाएका थिए । उनीहरूले मुआब्जा रकम वृद्धि नगरिए काम नै अघि बढ्न नदिने चेतावनी समेत दिए । सुरुवातमा २० लाख प्रतिकठ्ठा पाउनुपर्ने माग गरे पनि पछिल्लो पटक भने त्यसबाट घटेर प्रतिकठ्ठा न्यूनतम १२ लाख रूपैयाँसम्म दिए मान्य हुने स्थानीयको भनाइ थियो । यद्यपि प्रतिकठ्ठा १० लाखसम्म दिनेगरी सहमति जुटेको छ । मुआब्जा वितरणको काम पनि चाँडै सुरु गर्ने तयारी भइरहेको छ ।
४८ मेघावाट बिजुली उत्पादन र करिब ६० हेक्टर जमिन सिँचाइ गर्ने लक्ष्यसहितको भेरी–बबई आयोजना निर्माण गर्दा सुर्खेतका तीन स्थानीय तह लेकवेशी नगरपालिका, गुर्भाकोट नगरपालिका र भेरीगंगा नगरपालिकाको करिब २२ विगाहा क्षेत्रफलमा बसोबास गर्दै आएका नागरिक प्रभावित हुने जनाइएको छ । प्रभावित क्षेत्रका नागरिकलाई सरकारले मुआब्जा दिनेछ ।
मुआब्जा विवाद टुङ्गिएसँगै आयोजनाको दोस्रो चरणको काम अघि बढेको छ । अब बाँध र पावर हाउस निर्माणको काम अघि बढ्नेछ । सूचना अधिकारी उपाध्यायका अनुसार अझै दुईवटा प्याकेजको कामको लागि ठेक्का प्रक्रियाको तयारी आयोजनाले गरेको छ । हाईड्रोमेकानिकको काम र ईलेक्ट्रोमेकानिकको काम गरी दुईवटा प्याकेजको कामको लागि ठेक्का आह्वान गर्ने तयारी भइरहेको उपाध्यायले जानकारी दिए । आयोजनाको पहिलो चरणमा मेशिनबाट सुरुङ खन्ने काम तोकिएको समयभन्दा एक वर्ष अघिनै सकिएसँगै दोस्रो चरण अन्तर्गत भेरी नदीमा बाँध निर्माणको काम सुरु गरिएको हो । बाँध निर्माणका लागि मुख्य चाइनिज कम्पनी रहने गरी गुवाङडुवाङ यूएनटीएन इन्जिनियरिङ्ग कम्पनी तथा रमण जेभीसँग आयोजनाले ६ अर्ब १६ करोड ५२ लाख रूपैयाँ बराबरको पूर्वाधार विकास निर्माण गर्ने गरी सम्झौता गरेको उनले जानकारी दिए ।
‘दोस्रो प्याकेजको काम अन्तर्गत दुई कम्पनीले पुलसहितको ब्यारेज, सर्जसाफ्ट (ट्यांकी) र पावर हाउस बनाउने छन्’ उनले थपे ‘कम्पनीले सम्झौता भएको मितिदेखि ४८ महिनाभित्र बिजुली उत्पादन गरिसक्नुपर्नेछ ।’ दोस्रो प्याकेजको कामसमेत समयमै सम्पन्न गर्नेगरी अहिले कम्पनीले काम गर्न सुरू गरिसकेको उनले जानकारी दिए । बाँध निर्माण बाहेक अन्य थप काम नभएको समेत उनले बताए । आयोजनाले आर्थिक वर्ष २०७९÷८० सम्म गरी चारवर्षमा बाँध निर्माण सक्नेगरी कामलाई अगाडि बढाएको छ ।
प्रकाशित मितिः १३ आश्विन २०७६, सोमबार १३:२७
सीता वली ।