मानव बेचबिखनको अपराध
मानव बेचबिखन अपराध हो । तर यही अपराध गम्भीर र भयावह समस्याका रुपमा रहेको छ । दिनप्रति दिन बढ्दै गएको छ । समग्र मुलुककै समस्या बनेको मानव बेचबिखन तथा ओसारपसार कर्णाली प्रदेशमा पनि विकराल रुपमा विद्यमान छ । यहाँबाट हरेक वर्ष चेलीहरु बेचिने गरेको पाइएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको पछिल्लो चार वर्षको तथ्यांक हेर्दा हरेक वर्ष चेलीहरु बेचिने क्रम पनि बढेको देखिन्छ । चार वर्षमा प्रदेशभर २४ जना छोरी बेचिएको तथ्यांक प्रहरीसँग छ । २०७२ यता कर्णालीबाट २४ जना छोरी बेचिन बाध्य भएका हुन् ।
अहिलेको समयमा पनि मानव बेचबिखनजस्तो अपराध विद्यमान रहनु आफैमा विडम्वनापूर्ण अवस्था हो । समयको गतिका हिसाबले होस् वा चेतनाको हिसाबले आजको समाज विगतभन्दा धेरै माथि आइसकेको छ । तर अझै पनि मानव बेच्ने कार्य भने अन्त्य हुन सकेको छैन । वर्षेनी यहाँका छोरी छिमेकी देश भारतलगायत अन्य क्षेत्रमा विभिन्न बहानामा बेचिँदै आएका छन् । रोजगारीमा लगाइदिने बहाना होस् या विवाह गरी सुखसँग राख्ने प्रलोभनमा होस् कर्णालीका जिल्लाहरुबाट उनीहरु वर्षेनी बेचिन बाध्य भएका हुन् । वैदेशिक रोजगारीको वहानामा भारत तथा अन्य खाडी मुलुकहरुमा बेचबिखन तथा ओसारपसार भइरहेका छन् । यसको पछाडि गरिबी प्रमुख कारण रहेको छ । कर्णालीका अधिकांश नागरिक गरिबीको रेखामुनी छन् । बढ्दो गरिबी, जनचेतना तथा शिक्षामा कमी, लैगिंक भेदभाव, न्यून आर्थिक स्तर, भारतसँगको खुला सिमाना, महिलामाथि हुने विभिन्न हिंसा, बेरोजगारी जस्ता कारणको लाभ मानव बेचबिखनका गिरोहले लिइरहेका छन् ।
गरिबी र अन्य बाध्यताहरुको फाइदा उठाई महिलाहरुलाई बेचबिखन गर्ने दलालहरु सक्रिय हुने गरेको प्रहरी बताउँछ । विभेदमा परेका कर्णालीका छोरीहरु सानो प्रलोभनमा परेर घर छोड्न तयार हुने प्रहरीको तर्क छ । केही घटनाहरु आफन्तहरुबाट समेत भएको पाइएको छ । यहाँका अधिकांश ग्रामीण क्षेत्रबाट सहरमा रोजगारीमा लगाइदिने वा विवाह गरी सुखसँग राख्ने बहाना बनाई आफन्तबाटै उनीहरु बेचिन बाध्य भएका छन् ।
मानव बेचबिखन रोकथामका लागि प्रयास भए पनि त्यो पर्याप्त हुन सकिरहेको छैन । सरकारी तथा गैरसरकारी क्षेत्रबाट विभिन्न कार्यक्रम हुँदै आएका छन् । तर विकराल रुपमा रहेको मानव बेचबिखनको जालोलाई तोड्न भने सकिएको छैन । यसका अनेक कारण छन् । कर्णालीका सन्दर्भमा जनचेतनाको कमी यसको प्रमुखमध्येको कारण हो । त्यसैले स्थानीयस्तरबाटै व्यापक रुपमा मानव बेचबिखनविरुद्धमा जनचेतना फैलाउन जरुरी छ । यसका साथै पीडितको न्यायमा सहज पहुँच स्थापित गर्नका लागि पनि ध्यान पु¥याउन आवश्यक देखिन्छ ।
प्रकाशित मितिः १२ आश्विन २०७६, आईतवार १३:१७
साझा बिसौनी ।