‘‘समृद्धिका लागि औद्योगिक विकास’

सुर्खेत : कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले कर्णालीमा उद्योग खोल्न आवश्यक रहेको बताएका छन् । सुर्खेत सुपर मार्केटको शनिवार उद्घाटन गर्दै मन्त्री बुढाले औद्योगिक विकासविना समृद्धि प्राप्त नहुने बताएका हुन् । ‘कर्णाली प्रदेशको समृद्धिको लागि उद्योग खोल्नु जरुरी छ’ उनले भने, ‘रोजगारको लागि पनि उद्योग आवश्यक छ ।’ कर्णालीकै कच्चा पदार्थलाई प्रयोग गरी प्रशोधन गर्न सकिने खालका उद्योगहरू सञ्चालन ल्याउन सक्ने हो भने कर्णाली आत्मनिर्भर बन्ने मन्त्री बुढाको भनाइ थियो ।

वीरेन्द्रनगरको मुख्य क्षेत्रको रूपमा रहेको प्रगतिनगर टोलमा १२ कठ्ठा जग्गा १५ वर्षका लागि भाडामा लिएर निर्माण भइरहेको सुपरमार्केट शनिवारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ । सुपर मार्केटको औपचारिक उद्घाटनमा उक्त मार्केटका सञ्चालक दानबहादुर जि.सी. ले भने, ‘व्यापारिक प्रयोजनका लागि गरिने कार्य सबै नाफाका लागि हुन्छन् यो सत्य हो । तर हामीले नाफा सस्तो मूल्यमा सबै सामग्री पाइने बजार निर्माण गर्न लागेका हौं ।’ यसैबीच सुपर मार्केटको उद्घाटन कार्यक्रममा ज्योति मगर, रामजी खाँड, शिव संगीतलगायतका कलाकारहरूले सांस्कृतिक प्रस्तुती समेत राखेका थिए ।

प्रकाशित मितिः   १२ आश्विन २०७६, आईतवार १३:१६