विकृतिरहित चाडपर्वको परिकल्पना

ध्रुबकुमार अधिकारी

विषय प्रवेश
नेपालको वर्तमान संविधानले बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक राष्ट्रको रूपमा नेपाललाई परिभाषित गरेको छ । बहुधार्मिक र बहुसांस्कृतिक देश भएरै होला यहाँ एक वर्षमा नववर्ष, वुद्धजयन्ति, दही चिउरा खाने चाडको रूपमा असार पन्ध्र, साउने सक्रान्ती, नागपञ्चमी, जनै पूर्णिमा, तीज, दशैँ, तिहार, छठ, इद, क्रिस्मस, ल्होसार, माघी, होली, विभिन्न जाती विशेषका कुल पूजा, महाशिवरात्री, चैते अष्टमी लगायतका थुप्रै चाडपर्वहरू मनाइएको हुन्छ । वि.सं. २०६८ सालको जनगणनालाई हेर्ने हो भने नेपालमा कुल जनसंख्याको करिब ८१.३ प्रतिशत हिन्दू धर्म मान्ने जनसंख्या रहेको छ । यसै गरी बौद्ध धर्म मान्ने ९ प्रतिशत, इस्लाम धर्म मान्ने ४.४ प्रतिशत, किराँत धर्म मान्ने ३.१ प्रतिशत र क्रिश्चियन धर्म मान्ने १.४ प्रतिशत रहेका छन् । सबै भन्दा ठूलो प्रतिशत जनसंख्या हिन्दू रहेको वर्तमान परिवेशमा सांस्कृतिक धरोहरका धेरै चाडपर्वहरू पनि हिन्दूहरूकै मान्यता र परम्परामा आधारित रहेका छन् । यसै मध्येको सबै भन्दा महत्वपूर्ण चाडको रूपमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गरेर धार्मिक आस्था समेत जगाउने दशैँलाई लिइन्छ ।

घटस्थापनादेखि नवरात्रीसम्म दशैँको आरम्भको रूपमा रहेको घटस्थापनाको दिनबाट हिन्दू संस्कृति अनुसार नवरात्री शुरू भएको मानिन्छ । यस दिन एउटा महत्वपूर्ण कृत्यको रूपमा घरघरमा जमरा राखिन्छ । पवित्र शुद्ध आत्मासँगै विहानै नुहाइ धुहाइ गरी नजिकको नदी, खोला वा खेतबारीको अत्यन्त चोखो ठाँउको पवित्र माटो ल्याएर दशैँ घर वा पूजाकोठामा राखी त्यस ठाँउमा जमरा उमार्नको लागि वैदिक यज्ञको लागि अति आवश्यक र पवित्र वस्तु मानिने जौ र यसका साथमा गहुँ, मकै समेत मिसाएर बाक्लै छरिन्छ । भगवान् विष्णुलाई सबै भन्दा मन पर्ने बनस्पति तुलसी भए जस्तै जौलाई देवी भगवतीको सबैभन्दा मनपर्ने चीज र यसैबाट उमारिएको जमरा देवी भगवतीको सबै भन्दा मन पर्ने बनस्पतिको रूपमा मानिन्छ । यसरी उमारेर हुर्काएको जमरा विजया दशमीको दिन आफ्ना कुलदेवतालाई चढाएर, अन्य आफ्ना मान्य पूज्ने देवीदेवताहरूलाई चढाएर त्यसपछि दशैँको साइतको टीकाको साथमा मालाको रूपमा मान्यजनबाट लगाइने चलन रहेको छ । अँध्यारो सूर्यको प्रकाश नपर्ने ठाँउमा जमरा राखेर पहेँलो बनाइएको हुन्छ । यति मात्र होइन, जमराका अतिरिक्त घट कलसको स्थापना गरी देवीदेवतालाई समेत यस पर्व भरी आफ्नो घरमा आउन् भनी निमन्त्रणा समेत गर्ने परम्परा रहेको छ ।

दशैँमा महत्वपूर्ण फलफूलको रूपमा केरा खाने गरिन्छ । विशेष गरी पहाडी क्षेत्रमा यसको औधि महत्व रहेको हुन्छ । दहीमा मिसाएर केरा खाएमा शरिरमा लाभ हुने भनिन्छ । त्यसैले पहाडी ठाँउहरूमा घटस्थापना कै दिन केरा पकाउन हाल्ने चलन रहेको छ । घोक्रो, धुर्सेली जस्ता वनस्पतिको सहायताबाट केरा पकाउने गरिन्छ । कतै थुन्से त कतै भकारीमा राखेर घोक्रो वा धुर्सेलीमा लपेटेर पनि केरा पकाउने गरिन्छ । कतिपय अवस्थामा खाल्डोमा हालेर धानको भुस सहित पनि केरा पकाउने गरिन्छ । यसै गरि विवाह भएको पहिलो वर्ष माइती मान्न जानेहरूले घटस्थापना का दिन देखि गाँउ भरी गएर दुध जम्मा गरेर कुराउनी तयार गर्ने गर्छन् । त्यही कुराउनी र केरा बनाएर दुलहीको माइतीघर, मावली घर र अन्य नातेदारहरूकोमा जाने गरिन्छ ।

दशैँको बेला विभिन्न मन्दिरहरू तथा शक्तिपीठहरूको पनि त्यत्तिकै महत्व रहेको छ । हाम्रो देशका विभिन्न स्थानहरूका शक्तिपीठहरूमा फूलपाती भित्राउने चलन पनि रहेको छ । फूलपातीमा नौ प्रकारका वनस्पतिको प्रयोग गरिएको हुन्छ । केरा, दारिम, बेल, लौका, अशोक, धान, काँक्रो आदिलाई घटस्थापनाका दिन देखि नै तयार गरिएको हुन्छ । ठाँउ र भूगोल अनुसारका वनस्पति तथा फलफूलको प्रयोग गरिएको हुन्छ । जमरा ढाक्नको लागि पनि केराको पात प्रयोग गरिएको हुन्छ । त्यसैले दशैँसँग केरा भन्ने वनस्पतिको र फलको त्यत्तिकै महत्व तथा सम्बन्ध रहेको हुन्छ । हाम्रो चाडपर्वको प्राकृतिक पक्षसँग पनि राम्रो सम्बन्ध रहेको भन्न मिल्छ । दशैँमा प्रयोग हुने जमराको रस बनाएर खाएमा मधुमेह, उच्च रक्तचाप र क्यान्सर जस्ता रोगहरूको लागि उपचारमा सहयोगी हुने मानिने हुनाले यसको आयुर्वेदिक उपचारको रूपमा समेत प्रयोग गर्न सकिन्छ । जौ आँफैमा एक भिन्न र पथि अन्नको रूपमा लिने गरिन्छ ।

दशैँलाई सरसफाइको पर्वको रूपमा पनि लिन सकिन्छ । पहाडतिरका कच्ची घरहरूमा सेतो माटो कमेरो र रातो माटोले घर पोतेर सफा र चहकिलो बनाउने परम्परा नै रहेको छ । शहरतिर भने विभिन्न प्रकारका रङहरूको उपयोग गरी घरहरू चम्काउने गरिन्छ । यस पर्वमा विदेशमा रहेका नेपालीहरू पनि विभिन्न तरिकाले नेपाल आउने तरखर पनि घटस्थापनाका दिन देखि गर्ने गर्छन् । यसले आफन्तजनहरूमा भेटघाट गराउने एक महत्वपूर्ण चाडपर्वको रूपमा यस पर्वलाई मनाइन्छ । नेपाली पहाडी मूलका धेरै मानिसहरू भारतका विभिन्न ठाँउहरूमा विभिन्न प्रकारका कामको खोजीमा गएका हुन्छन् र यही पर्वको अवसरमा आफ्नो घरपरिवार र आफन्तजनको सम्झना गरी घटस्थापनामा साइत सारेर आउने गर्छन् र घर फर्किने गर्छन् । यदि घर आउन नपाएकाहरूले पनि अहिले त सामाजिक सञ्जाल प्रयोग गरी शुभकामना साटासाट गरेको पाइन्छ । नेपालका सरकारी कार्यालयहरूमा पनि यस अवसरमा केही दिन सार्वजनिक विदा दिने हुनाले पनि यसको महत्व त्यसै बढेको हुन्छ । यो चाड त नेपालीहरूको मौलिक पर्व पनि हो । यसले सबै भन्दा राम्रो त सामाजिक पक्षलाई सुधारेको हुन्छ । घरपरिवार, दाजुभाई र नातेदार अघिपछि कुनै प्रकारको झै–झगडा र मनमुटाव गरेको भए पनि यसै चाडको अवसरमा मेलमिलाप गर्ने गरेका हुन्छन् । अरू जे भए पनि दशैँको टीका बाराबार गर्नु हुन्न भन्ने सामाजिक मान्यता रहेको छ । यसले सकारात्मक सन्देश प्रदान गरेको छ ।

घटस्थापनाबाट शुरू भएको दशैँको रनक पन्ध्र दिनसम्म चल्छ । यो अवधिलाई दुर्गा पक्ष भनिन्छ । पहिलो दिनलाई शैलपुत्री भनिन्छ भने दोस्रो दिनलाई ब्रह्रमचारिणी भनिन्छ । यसै गरी तेस्रो दिनलाई चन्द्रघण्टा भनिन्छ भने चौथो दिनलाई कुष्माण्डा भनिन्छ । यसै गरी पाँचौ दिनलाई स्कन्दमाता भनिन्छ भने छैँटौँ दिनलाई कात्यायनी भनिन्छ । सातौँ दिनलाई कालरात्री भनिन्छ भने आठौँ दिनलाई महागौरी र नवौँ दिनलाई सिद्धिदात्रिको पूजा गर्ने दिन मानिन्छ । यिनै नौ दुर्गाका रूपलाई नवदुर्गा भनिन्छ । माथि उल्लेख गरिएका दुर्गाका विभिन्न स्वरूपहरूमा भगवती दुर्गाले राक्षसहरू चण्ड, मुण्ड, रक्तबीज, शुम्भ, निशुम्भ लगायतका अन्य हजारौँ राक्षसहरू र तिनका सेनाहरूलाई बध गर्न लिइएका नौ रूपहरू थिए । त्यसैले पनि यस अवधिमा धर्ममा विश्वास गर्नेहरूले लगातार यि विभिन्न स्वरूपहरूको आराधना, ध्यान र पूजाआजा गर्ने गर्छन् ।

दुर्गाभवानीका जति धेरै स्वरूप भए पनि महाशक्तिकी देवीको रूपमा महाकाली, कोटीविद्याकी देवीकी रूपमा महासरस्वती र ऐश्वर्य प्राप्तीकी महामाताकी रूपमा महालक्ष्मीको आराधना र पूजा गरिन्छ । दुर्गादेवीले मानवलाई राक्षसी प्रवृत्तिबाट जोगाएर मानवता कायम गर्नको लागि बाटो देखाएकोले पनि नवदुर्गाको आराधाना र पूजाआजा गर्ने गरिएको विश्वास गरिन्छ । हिन्दू धर्म मान्नेहरूले बढी महत्व दिएर धुमधामका साथ मनाए पनि यो पर्व मनाउँदा कुनै जात, धर्म लाई मात्र आधार नबनाएर समग्र मानव कल्याण र हितको लागि मनाउने गरिएको शास्त्रीय मान्यता रहेको धार्मीक विशेषज्ञहरूले बताउने गरेका छन् । यसलाई एउटा दैवी शक्तिको सम्झनाको पर्वको रूपमा मनाउने गरिन्छ । नवदुर्गालाई कतै चण्डिका, कतै भद्रकाली, कतै वैष्णवी, कतै शिवप्रिया समेतको रूपमा समेत पूजाआजा र आराधाना गर्ने चलन रहेको छ ।

नेपालमा मात्र नभएर विश्वका विभिन्न स्थानहरूमा पनि यो पर्व धुमधामका साथ मनाइएको हुन्छ । विशेष गरी भारतमा रामको रावण माथिको विजय पर्वको रूपमा मनाइन्छ । भारतको हिमाञ्चल प्रदेशतिर दशहराको रूपमा यो पर्व मनाउने गरिन्छ । पश्चिम बंगालमा दशैँ पर्वलाई नेपालमा जस्तै दुर्गा पूजाको रूपमा नै मान्य चलन रहेको छ । त्यहाँको परम्परा अनुसार दशैँलाई पश्चिम बंगालमा पाँच दिन सम्म मनाइन्छ ।
नेपालमा पछिल्लो पटक चाडपर्व मनाउँदा विभिन्न प्रकारका विकृतिहरू पनि बढेका छन् । हाम्रा चाडपर्वहरू बढी खर्चिला र बढी भड्किलो बन्दै गएका छन् । दशैँमा घरमा नै एउटा खसी ढाल्नुपर्ने , राम्रा कपडा लगाउनै पर्ने, मिठो खाना खानै पर्ने, नयाँ उपभोग्य वस्तुहरू किन्नै पर्ने र असंख्य रूपमा पशुबलि दिनैपर्ने जस्ता अशोभनिय व्यवहारहरू विकृतिको रूपमा आइरहेका छन् । यस्ता अनुचित व्यवहारहरू अब कसरी कम गर्न सकिएला भन्ने चिन्तन र चासो पनि बहसका विषय बन्न सकेमा राम्रो हुनेथियो जस्तो लाग्छ ।

उपसंहार
सुखी, सम्बृद्धि र सामञ्जस्यताको चाड दशैँ सबैको सुख, सम्पन्नता र सुमार्गतिर डो¥याउने पर्व बनोस् । अहिले देखिएका भ्रष्टाचार, व्यवभिचार, लुट, ठगी, बाहानाबाजी, सरकारी कार्यमा सास्ती र ढिलासुस्ती, हत्या, हिंसा, अन्याय, अत्याचार आदि जस्ता राक्षसी प्रवृतिहरू भागुन् । मान्यजनहरूले दिएको आर्शिवादलाई सबैले मनन् गरून् । समाज सम्बृद्धि र विकासको बाटोमा लम्कियोस् । यस पुनित र पावन अवसरमा सम्पूर्ण नेपालीहरूमा सुस्वाथ्य, दीर्घायू, उन्नती र विकासको लागि हार्दिक मंगलमय शुभकामना ।

(लेखक अमरज्योति माध्यमिक विद्यालय नेवारेमा कार्यरत शिक्षक हुन् ।)

प्रकाशित मितिः   १२ आश्विन २०७६, आईतवार १३:१९