‘प्रहरी मेरो साथी’ अभियान सुरु, ७४ प्रतिशत नागरिक प्रहरीसँग असन्तुष्ट

साझा बिसौनी संवाददाता
सुर्खेत, २७ असार ।
आफूमाथि अन्याय हुँदा तपाईं सबैभन्दा पहिला कहाँ जानुहुन्छ ? प्रहरी या अन्य निकाय ? यसको एकिन जवाफ पाउन गाह्रो छ । किनभने अहिले पनि २५ प्रतिशत नागरिक आफूमाथि अन्याय हुँदा न्यायका लागि प्रहरीकहाँ नगएर अन्य निकायमा जाने गरेका छन् । ७५ प्रतिशत नागरिक न्यायका लागि प्रहरीकोमा पुग्ने गरी ७४ प्रतिशत नागरिक भने प्रहरीको सेवाप्रति सन्तुष्ट नभएको पाइएको छ ।
मुलुकको शान्ति सुरक्षा र नागरिकको रक्षार्थ खटिएका प्रहरी र नागरिकबीचको यही दूरी घटाउन ‘प्रहरी मेरो साथी’ अभियान सुरु गरिएको छ । यो अभियानले प्रहरीप्रति जनताको विश्वास बढाउने अपेक्षा गरिएको छ । नेपाल प्रहरीका नागरिक समुदाय केन्द्रित सबै कार्यक्रम तथा क्रियाकलाप ‘प्रहरी मेरो साथी’को अवधारणामा समेटिनेछ । देशभरका विद्यालय तथा समुदायमा सामुदायिक सम्पर्कको माध्यमबाट प्रहरीलाई नागरिकमैत्री बनाई अपराध, दुर्घटना र सामाजिक विकृतिलाई नियन्त्रण गर्दै शान्ति सुरक्षा कायम गर्ने उद्देश्य यो अभियानले राखेको छ । समाजमा ‘प्रहरी मेरो साथी’ हो भन्ने भावना र सम्बन्धको विकास गरेर प्रहरी सङ्गठनको छविलाई गरिमामय तुल्याइने बताइएको छ ।
अझै पनि नागरिकहरू प्रहरीप्रति पूर्ण रूपमा विश्वस्त हुन नसकेको पाइएपछि यस्तो अभियानको सुरुवात गरिएको हो । प्रहरीले नै गरेको अध्ययन अनुसार ७४ प्रतिशत नागरिक प्रहरी सेवाप्रति असन्तुष्ट रहेको पाइएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी बहादुरजंग मल्लका अनुसार प्रहरीको सेवालाई १० प्रतिशत नागरिकले राम्रो भनेका छन् भने १४ प्रतिशतले ठीकठीकै र ७४ प्रतिशतले सुधार गर्नुपर्ने सुझाव दिएका छन् । त्यसैगरी आफूमाथि अन्यया पर्दा ७५ प्रतिशत नागरिक प्रहरीमा पुग्ने गरे पनि २५ प्रतिशत नागरिक भने अन्य निकायमा जाने गरेको पाइएको छ ।
यो अभियान अन्तर्गत नागरिकसँग हातेमालो गर्दै अघि बढ्ने बताइएको छ । नेपाल प्रहरीले यसअघि ‘मुस्कानसहितको सेवा’ भन्ने नाराका साथ जनतामा पुग्ने अभियान सुरु गरेको थियो । नेपाली समाज नै मुख्य कार्यथलो रहेको प्रहरीको समाजमा शान्ति सु–व्यवस्था कायम गर्नु नै प्रमुख दायित्व हो । उक्त दायित्वलाई अझ सुदृढ बनाउन प्रहरी मेरो साथी अभियान सुरु गरिएको जनाइएको छ ।
सुर्खेतमा पनि सोमवार एक कार्यक्रमको आयोजना गरी अभियान सुरु गरिएको छ । स्थानीय मंगलगढीचौकबाट ¥यालीसहित अभियानको उद्घाटन गरिएको हो । अभियानको उद्घाटन गर्दै पुनरावेदन अदालतका मुख्य न्यायाधीश तेजबहादुर केसीले यो अभियानले प्रहरीले समाजमा पूरा गर्नुपर्ने दायित्व र परिवर्तनको मूल्य मान्यतालाई संस्थागत गर्न सघाउ पुग्ने बताए । उनले प्रहरीको सङ्गठन कुनै व्यक्ति विशेषको आदेशमा नभएर विधि र कानुन अनुरूप सञ्चालन हुन्छ भन्ने कुरा पनि यो अभियानले पुष्टि गर्ने विश्वास व्यक्त गरे । आम नागरिकले सम्झौता गर्न नसक्ने शान्ति सुरक्षाको जिम्मेवारी पाएको नेपाल प्रहरीले दिएको सेवा र जनताको आकाङ्क्षाबीच देखिँदै आएको खाडललाई पुर्न अभियान सफल हुने भन्दै यसमा साथ दिन समेत उनले सबैसँग आग्रह गरे ।
कार्यक्रमका सहभागीहरूले नेपाल प्रहरीले शान्ति सु–व्यवस्था कायम गरी राष्ट्रको उत्थान हुने गरी नौलो तर ठीक अवधारणाका रूपमा ‘प्रहरी मेरो साथी’ अभियान सुरु गरेको जनाउँदै यसलाई विद्यालयको पाठ्यपुस्तकमा समेत समावेश गर्नुपर्ने सुझाव दिएका थिए । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख एसपी वीरेन्द्र श्रेष्ठले अब जनता र प्रहरीबीचको दूरी नरहने बताए ।
उनले जनताकै सेवामा प्रहरी पनि लागिरहेको भन्दै हातेमालो गर्दै अघि बढ्नुपर्ने बताए । कार्यक्रममा जिल्लास्थित विभिन्न राजनीतिक दल, सरकारी तथा गैरसरकारी कार्यालय, विद्यार्थी लगायत नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   २८ असार २०७३, मंगलवार ०५:४२