दलहरुको विवादले विकासको ठूलो अवसर गुम्यो
बिसौनी संवाददाता
सुर्खेत, २६ असार ।
विकासको नेतृत्वकर्ता भनिएका राजनीतिक दलहरूकै कारण सुर्खेतले विकासको ठूलो अवसर गुमाएको
छ । स्थानीय विकास मन्त्रालयले जिल्लाका तीन वटा सडक निर्माणका लागि करिब डेढ करोड बजेट खर्च गर्ने अख्तियारी दिएको थियो । तर दलहरूको स्वार्थ नमिल्दा बजेट खर्च गर्ने अवस्था नभएपछि जिल्लाले उक्त रकम गुमाउन पुगेको हो ।
स्थानीय विकास मन्त्रालयले यही असार १६ गते जिल्ला विकास समितिलाई एक करोड ३५ लाख रूपैयाँ खर्च गर्न अख्तियारीसहितको पत्र पठाएको थियो । सुर्खेत उपत्यकामा चक्रपथ, गढी–लेखगाउँ–धनीगाड–कल्याणकाँध सडक र बाबियाचौर–भक्तडी–जंगलाघाट सडक निर्माणमा खर्च गर्न भन्दै सो रकमको अख्तियारी दिइएको थियो । असार २५ गतेभित्र खर्च गर्न भनिएको सो रकम दलहरूको लडाईंका कारण खर्च हुन सकेन । बजेट खर्च गर्ने विषयमा दलहरूबीच पटक–पटक भएका छलफलहरू निश्कर्षमा नपुगेपछि अन्ततः जिल्लाले उक्त बजेट गुमाउन पुगेको हो ।
आर्थिक वर्षको अन्तिममा एक्कासी ठूलो रकम आएपछि दलहरू खर्च गर्ने विषयमा बाँझिएका हुन् । बजेट खर्च गर्न भन्दै जिविसले दलहरूसँग राजनीतिक सहमति खोजेको थियो । तर दलहरू खर्च गर्ने र नगर्ने विषयमा विभाजित हुँदा उक्त बजेट खर्च गर्नुपर्ने समय बितेको हो । दलहरूबीच सहमतिका लागि भन्दै जिल्ला विकास समितिमा विभिन्न ६ वटा बैठक पनि सम्पन्न भए । सहमति खोज्दा–खोज्दै बजेट खर्च गर्ने असार २५ गतेको समयसीमा घर्किएपछि जिल्लाले ठूलो अवसर गुमाएको स्थानीय विकास अधिकारी हिरालाल रेग्मीले बताए । ‘हिजो बजेट छैन भनेर चिन्ता हुन्थ्यो, अहिले पाएको बजेट पनि खर्च गर्न सकिएन’ स्थानीय विकास अधिकारी रेग्मीले भने, ‘राजनीतिक सहमति जुटेन, ६ पटकसम्म बैठक बस्यौं । आखिर जिल्लाले विकासको ठूलो अवसर गुमायो, खर्च गर्न सकेको भए
राम्रो हुन्थ्यो ।’
तीन वटा सडकका लागि ४५ लाखका दरले बजेट खर्च गर्न मन्त्रालयले अख्तियारी दिएको
थियो । उक्त बजेट खर्च गर्ने विषयमा दलहरूबीच विवाद भएको थियो । सत्तारुढ दल नेकपा एमालेले आर्थिक वर्षको अन्तिममा बजेट आएको र दुरूपयोग हुने खतरा रहेको भन्दै बजेट खर्च गर्न नहुने अडान लिएको
थियो । खर्च गर्ने समय कम भएकाले बजेट खर्च गर्न नहुने एमालेको अडान थियो । एमालेको उक्त अडानमा जिल्लाका अन्य केही साना दलहरूले पनि साथ दिए । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले भने उक्त बजेट खर्च गर्नुपर्ने अडान लिएका थिए । जिल्लाका प्रमुख तीन दलहरू नै बाँझिएपछि सहमति जुट्न नसकेको हो । जिविसले भने दलहरूको सहमति विना काम गर्न कठिन हुने भएकाले राजनीतिक सहमति खोजिएको बताएको छ । तर दलहरूका आ–आफ्नै स्वार्थका कारण बजेट खर्च गर्ने विषयमा सहमति जुट्न सकेन ।
नेकपा माओवादी केन्द्र सुर्खेतका संयोजक कृष्ण जिसीले जिल्लाले विकासको ठूलो अवसर गुमाएको बताए । उनले भने, ‘हामीले काम सुरु गरौं भनेका थियौं, जति सकिन्छ खर्च गरौं भन्ने हाम्रो भनाइ थियो । तर एमाले लगायतका दलहरूका कारण खर्च गर्ने वातावरण भएन, आखिर पाएको बजेट गुम्यो ।’ दलहरूबीच कुरा नमिल्दा जिल्लाको विकासका लागि प्राप्त भएको रकम गुम्नु दुःखद् भएको उनको भनाइ छ । यस्तै कांग्रेसले पनि खर्च गर्न सक्ने जति बजेट बराबरको काम गर्नुपर्ने धारणा राखेको थियो । तर दलहरूबीच छलफल गर्दागर्दै बजेट नै गुमेको हो । दलहरूको आपसी स्वार्थका कारण जिल्लाले ठूलो मौका गुमाएपछि सर्वसाधारणहरू भने आक्रोशित बनेका छन् । उनीहरूले दलहरूको असक्षमताका कारण ठूलो रकम गुमेको र विकास पनि अलपत्र परेको गुनासो गरेका छन् । विकास निर्माणमा पार्टीको स्वार्थलाई ढाल बनाएर बजेट फिर्ता गराएको भन्दै दलहरूप्रति सर्वसाधारणहरू रुष्ट बनेका हुन् ।
जिविसले पुरानै उपभोक्ता समितिबाट बजेट खर्च गर्ने प्रस्ताव गरेको थियो । उक्त प्रस्तावमा असहमति जनाउँदै एमालेले दलहरूको बैठक बहिस्कार गरेको थियो । एमालेले बहिस्कार गरेपछि अन्य दलहरूले बजेट खर्च गर्ने आँट गर्न सकेनन् । एमाले सुर्खेतका अध्यक्ष ध्रु्रवकुमार शाहीले भने, ‘आर्थिक वर्षको अन्तिममा बजेट आयो, खर्च गर्न सक्ने अवस्था नै थिएन । सदुपयोग भन्दा दुरूपयोग बढी हुने अवस्था भएपछि हामीले असहमति जनाएका हौं ।’ ठूलो रकम कम समयमा खर्च गर्नुपर्ने बाध्यता रहेको भन्दै उनले खर्चका नाममा भ्रष्टाचार हुने भएपछि आफूहरूले बजेटको खर्च गर्न नहुने अडान लिएको बताए ।
साझा बिसौनी संवाददाता ।