उस्तै छ ग्रामीण क्षेत्र
दिनेश गौतम
आर्थिक रूपमा विपन्न वर्गका लागि भनेर विभिन्न समयमा ल्याउने विभिन्न प्रकारका लोकप्रिय भनिने कार्यक्रमहरू नेपालको ग्रामीण क्षेत्रमा कहिल्यै पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेनन् । त्यस्ता कार्यक्रमको बारेमा ग्रामीण क्षेत्रका बासिन्दाहरूले केही सुनेका त होलान् तर ती कार्यक्रमहरू वास्तवमै उनीहरूलाई लाभ पु¥याउन सक्ने किसिमका रहेनन् । ग्रामीण क्षेत्रमा सरकारको उपस्थिति जनाउने गाविस कार्यालय र भएसम्मका स्वास्थ्य संस्था बाहेक अन्य कुनै निकायहरू छैनन् । त्यस्ता निकायमा पनि सरकारको बद्नाम हुने किसिमका हर्कत मात्र हुन्छन् । निकै लामो पैदलयात्रा गरेर स्वास्थ्य संस्था वा गाविस कार्यालयमा आउने सेवाग्राहीहरू त्यहाँ प्रदर्शन हुने अमानवीय व्यवहारबाट हैरान हुन्छन् । त्यसबाट उनीहरूमा कति वितृष्णा पैदा हुँदो हो ।
विद्यालयः नाममा मात्रै
सरकारको संलग्नता देखिने गरी विकट गाउँमा स्कुलहरू स्थापना भएका छन् । त्यस्ता विद्यालयहरूमा अध्ययन अध्यापनको गुणस्तर अत्यन्त न्यून, अझ भनौं शून्य प्रायः नै छ । गरिबीको कारण अधिकांश बालबालिकाहरू स्कुल पुग्न सकेका हुँदैनन् । अहिले आएर स्कुल पुग्नै नसक्ने समस्या भने उल्लेखनीय रूपमा कमी भएको छ । जनचेतनाको कारण तथा विभिन्न पूर्वाधारको विकासको कारण बालबालिकाहरू स्कुलसम्म पुग्ने गरेका त छन् तर स्कुल बीचैमा छाड्ने क्रम भने उही पहिलेको जस्तै छ । यसमा शिक्षा गुणस्तरीय नहुनुको पनि भूमिका रहन्छ । शिक्षाको क्षेत्रमा लगानी गर्दा शिक्षाले दिने प्रतिफललाई ध्यान दिन सकिएको छैन । स्कुलहरूमा विद्यार्थीको संख्या त छ, तर त्यसबाट निस्कने प्रतिफल सन्तोषजनक छैन । उत्तीर्णहरूको संख्या अत्यन्त न्यून हुने गरेको छ भने उत्तीर्ण भएकाहरूमा पनि शैक्षिक गुणस्तर कायम हुन सकेको छैन । अधिकांश ग्रामीण क्षेत्रका विद्यालयहरूको भौतिक संरचना अत्यन्त कम गुणस्तरीय र जोखिमयुक्त छ । उनीहरूलाई मौसम परिवर्तन हुने सङ्केत पाएमा स्कुल छाडेर हिँड्नुपर्ने बाध्यता छ । त्यस्ता स्कुलहरूमा टिनको छानो प्रयोग गरिएको छ, जुन हावाहुरीको समयमा सर्वाधिक जोखिममा रहेको हुन्छ । त्यसैगरी स्कुलका पर्खाल माटा र ढुङ्गाबाट निर्माण गरिएको छ जुन भत्किएर विद्यार्थीमा ठूलो क्षति पु¥याउन सक्दछ ।
ग्रामीण क्षेत्रका विद्यालयमा अध्ययनरत विद्यार्थीले भोग्दै आएको अर्को समस्यामा हो समयमा पाठ्यपुस्तक नपाउनु । त्यस्ता विद्यालयमाहरूमा वर्षभरी नै पुस्तक पुग्दैनन् । पुगेको भए पनि त्यस्ता पुस्तकहरू निकै अपुग हुन्छन् र सम्पूर्ण विद्यार्थीहरूको पहुँचबाट बाहिर हुन्छन् । केही विद्यार्थीहरूले पूराना किताबले आफ्नो अध्ययन अगाडि बढाउलान्, धेरै जसो भने पुस्तकविहीनताको अवस्थाबाट गुज्रिन पुग्छन् । गाउँमा स्कुलमा पुस्तकालय हुनु त नसोचेकै कुरा भइहाल्यो । अतिरिक्त क्रियाकलाप पनि केही हुँदैनन् । व्यक्तिव विकास सम्बन्धी सामान्य कार्यक्रम कहिले काहीं गरिने भएको भए पनि ती पर्याप्त छैनन् । विद्यार्थीहरू घरमा पढ्न पाउँदैन । अधिकांश समय उनीहरूको घरको घरेलु काममै अलमलिनुपर्छ । निकै लामो यात्रा पूरा गरेर स्कुलसम्म पुग्नपर्छ । यही वीरेन्द्रनगरदेखि तीन किलोमिटर मात्र उत्तरमा रहेको गढी गाविसको वडा नम्बर एक दर्नाकोटबाट कक्षा ९ र १० मा पढ्नको लागि गोठीकाँडामा रहेको सिद्ध माविमा आउनुपर्छ । त्यसको लागि उनीहरूलाई पूरा अढाइ घण्टा लाग्छ । उनीहरू त्यति कठिन साथ हिँडेर आएका हुन्छन् । थाकेका हुन्छन् अनि उनीहरूले स्कुलमा के पढ्ने ? कसरी पढ्ने ? के बुझ्ने ? कसरी उज्जवल भविष्यको सपना देख्ने ? अनि कसरी त्यस्ता ग्रामीण क्षेत्रको शैक्षिक स्थितिमा सुधार आउन सक्छ ? स्थिति बेहाल छ ।
अस्पताल छन्, डाक्टर छैनन्
शिक्षाको मामलामा मात्र होइन स्वास्थ्यको मामलामा पनि ग्रामीण क्षेत्र वञ्चित छ । सहरी क्षेत्रमा अत्याधुनिक मेडिकल, नर्सिङ्ग होम तथा हस्पिटलहरू खुलेका छन् तर ग्रामीण क्षेत्रमा भएका स्वास्थ्यचौकी पनि बन्द गर्नुपर्ने स्थिति छ । स्वास्थ्यसँग सम्बन्धित दक्ष जनशक्ति ग्रामीण क्षेत्रमा जानै मान्दैनन्, कुनै वाध्यताले गइहाले भने पनि काजमा सहर बजारतिरै बस्न रुचाउँछन् । गाउँका स्वास्थ्यचौकीमा आएका सेवाग्राहीले दक्ष जनशक्तिबाट उपचार पाउँदैनन् । गाउँमा हरेक क्षेत्रमा सडक पुग्न नसकेकोले पनि त्यहाँका बिरामीलाई सहरमा उपचारको लागि ल्याउन सम्भव हुँदैन । अनि ग्रामीण क्षेत्रका बासिन्दाहरू कि अझै गरीब भएर सहरमा उपचारको लागि आउनुपर्छ कि मृत्युको मुखमा
पर्नुपर्छ । स्वास्थ्य सुविधा भएर पनि मानिसहरू त्यसको उपभोग गर्न पाइरहेका छैनन् ।
स्वास्थ्य संस्थाहरूमा प्रविधि पुग्न सकेको छैन । उपचारको लागि उपयुक्त व्यवस्था हुन सकेको छैन । स्वास्थ्य सेवामा हुने विभिन्न किसिमका अप्रिय क्रियाकलापले पनि स्वास्थ्य क्षेत्रको वद्नाम गर्ने गरेको छ । सरकारी स्वास्थ्य संस्थामा काम गर्ने तर निजी रूपमा पनि स्वास्थ्य सेवा प्रदायक संस्था चलाइरहेका कर्मचारीले सरकारी सम्पत्तिलाई निजी सम्पत्तिको रूपमा प्रयोग गरिदिनाले पनि स्वास्थ्य क्षेत्रको स्थिति सन्तोषपूर्ण हुन नसकेको हो । उपस्वास्थ्य चौकीको लागि आएको शैया आफ्नो निजी मेडिकलमा ल्याएर प्रयोग गर्ने गरिएको पनि पाइएको छ । यसरी स्वास्थ्य क्षेत्र ग्रामीण क्षेत्रमा अत्यन्त अप्रभावकारी बन्दै गएको छ ।
अरुमा पछाडिः प्रविधिमा अगाडि
शिक्षा र स्वास्थ्य सेवा ग्रामीण क्षेत्रमा प्रभावकारी हुन नसके पनि प्रविधिको प्रयोगको सन्दर्भमा भने ग्रामीण क्षेत्र सहरी क्षेत्रको पिछा गरिरहेको छ । खासगरी रोजगारीको लागि देश छाडेर बाहिर जाने युवाहरू अधिकांश ग्रामीण क्षेत्रकै हुने भएकाले पनि त्यहाँ यस्ता प्रविधिमूलक सामानहरूमा लगानी बढीरहेको छ । मोबाइल, ल्यापटप तथा अन्य उच्च प्रविधिका सामानहरू वैदेशिक रोजगारीमा गएकाले त्यतैबाट लिएर आउने र परिवारको माझ छोड्ने हुनाले मासिनहरू प्रविधिसँग अभ्यस्त हुन थालेका छन् । मोबाइल फोनले राम्रो र नराम्रो दुवै सन्देश छाडेको छ ग्रामीण क्षेत्रमा । यसका साथ–साथै विगत १० वर्षमा इन्टरनेटको प्रयोगको क्षेत्रमा पनि ग्रामीण क्षेत्रले फड्को मा¥यो । पहिले रेडियो नेपालको पहुँचमा मात्र पुगेका ग्रामीण क्षेत्रका नागरिकहरू सामुदायिक रेडियोको पहुँचसम्म पुगे । र अहिले आएर सूचना प्राप्त गर्न खोज्ने उनीहरूको आधार फेरिएको छ । उनीहरू फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालबाट देशविदेशका समाचार पढिरहेका छन् । उनीहरू विभिन्न घटनासँग प्रविधिकै कारण नजिक भइरहेका छन् ।
अन्तिममा
ग्रामीण क्षेत्रमा भइरहेका परिवर्तनहरू सकारात्मक हुन जरुरी छ । प्रविधिको परिवर्तनलाई मात्रै परिवर्तन मान्न सकिने स्थिति छैन । विकासका आधारभूत मापदण्डहरू ग्रामीण क्षेत्रमा अझैं पनि अपुग छन् । शिक्षाको स्थिति सुधारिन सकेको छैन । गाउँलाई हचुवाका भरमा पूर्ण साक्षर घोषणा गर्ने क्रम बढी नै रहेको छ । गाउँका मानिसहरू प्रभावकारी स्वास्थ्य सेवाबाट वञ्चित छन् । उनीहरू सडक, खानेपानी, बिजुली जस्ता विकासका लागि चाहिने पूर्वाधारहरूको प्रयोग गर्न सकिरहेका छैनन् । देशका धेरै गाविसलाई सडक सञ्जालले छुन सकेको छैन । दिनहुँ जसो पढेलेखेका युवाहरू देश छाड्दैछन् । उनीहरूमा देशमै बसेर केही गर्न सकिने अपेक्षा छैन । ग्रामीण क्षेत्रका अधिकांश युवाहरू खाडी भासिएका छन् धन कमाउनलाई । उनीहरू रेमिट्यान्सको रूपमा पठाएको रकमको यहाँ उत्पादनमूलक क्षेत्रमा लगानी हुन सकेको छैन । जम्मै बिलासी साधनहरूमा जो उत्पादकत्व बढाउनमा योगदान गर्न सक्दैनन्, त्यस्ता सम्पत्तिहरूमा मात्र लगानी गरिएको छ । सहर धनी हुँदै गइरहेको छ र ग्रामीण क्षेत्र झन् गरीब ।
साझा बिसौनी संवाददाता ।