एकीकृत कार्यक्रम ल्याउन सुझाव

सुर्खेत : कर्णाली प्रदेशका कृषि प्राविधिकहरूले कर्णालीमा कृषि सम्बन्धी कार्यक्रममा बजेट खर्च गर्दा एकद्वार प्रणाली अवलम्बन गर्न सुझाव दिएका छन् । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आयोजना गरेको प्रदेशभित्र रहेका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत पकेट तथा ब्लक सम्बन्धी अभिमुखीकरण गोष्ठीमा सहभागी कृषिका कर्मचारीहरूले प्रदेशमा सञ्चालन हुने कृषिको बजेट एकद्वार प्रणालीमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा सहभागी कर्मचारीहरूले सबैको लक्ष्य भनेको कृषिको विकास गर्ने नै हो भने सबैले एकद्वार प्रणाली अपनाउनुपर्ने सुझाव व्यक्त गरेका थिए । योजना तथा कार्यक्रमको दोहोरोपनलाई कम गर्न कृषिका कार्यक्रमहरू एक रूपतामा सञ्चालन गर्नुपर्ने उनीहरूको भनाइ थियो । संघीय सरकार, प्रदेश र स्थानीय तहले गर्ने कृषिको विकासको मोडल भनेको फरक नहुने भन्दै सबैका कार्यक्रमहरू एकरूपतामा लिनुपर्नेमा जोड दिएका हुन् ।

छलफलमा भाग लिँदै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाई कार्यालय सुर्खेतका प्रमुख विजयकुमार गिरीले कृषिका कार्यक्रमलाई एकरूपतामा लिन बजारीकरणका लागि उत्पादन क्षेत्रको विस्तार गर्ने र त्यसका लागि पर्याप्त मात्रामा जनशक्तिकोे व्यवस्था गर्नुपर्ने बताए । कृषकले उत्पादन गरेका वस्तुको बजारीकरणका लागि सरकारले सहजीकरण गर्नुपर्ने गिरीको भनाइ थियो । त्यस्तै कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले जोन र सुपर जोनको सँगसँगै कृषि विकास कार्यालयका कार्यक्रमहरूलाई एकरूपतामा लिँदा सहज हुने बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाई कार्यालय सल्यानका प्रमुख घनश्याम चौधरीले बजेट अनुसारको जनशक्तिको व्यवस्था गर्नुपर्ने बताए ।

कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले स्थानीय आवश्यकता तथा ठाउँको छनौट गरेरमात्र कार्यक्रम सञ्चालन गरे दोहोरोपन नहुने बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना निर्देशक रेवतीरमण पौडेलले सबै पक्षको समन्वयमा जोनका कार्यक्रम तथा योजना सञ्चालन गरिने प्रतिबद्धता जनाए । कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले स्थानीय आवश्यकता अनुसार जोन र सुपर जोनको विस्तार गर्नुपर्ने बताइन् । कर्णाली प्रदेश सरकार कर्णालीको पहिचान बदल्न खोजेको बताउँदै मन्त्री केसीले परिणाम देखाउने गरी काम गर्न कर्मचारीलाई निर्देशन समेत दिइन् ।