सकियो वर्षे अधिवेशन

६ वटा विधेयक पारित

सुर्खेत : कर्णाली प्रदेशसभाको वर्षे अधिवेशन सकिएको छ । गत जेठ १० गतेबाट सुरु भएको अधिवेशन शुक्रवार समाप्त भएको हो । यो अवधिमा ५४ घण्टा १४ मिनेट ३५ सेकेण्ड बसेको बैठकले ६ वटा विधेयक पारित गरेको छ । आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम सँगसँगै कर्णाली प्रदेशको आर्थिक विधेयक, विनियोजन विधेयक, ऋण उठाउने सम्बन्धी विधेयक पारित गरेको छ ।

त्यस्तै अधिवेशनले प्राङ्गारिक कृषि सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७६, कर्णाली प्रदेश स्वयम्सेवक परिचालन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र खेलकुदको विकास गर्न बनेको विधेयक समेत पारित गरेको छ । अधिवेशनले कर्णाली प्रदेश आर्थिक कार्यविधि ऐनको पहिलो संशोधन पनि पारित गरेको छ ।

बैठकमा बोल्दै नेकपा सांसद यामलाल कँडेलले जनप्रतिनिधि र कर्मचारी मिलेर मात्रै बजेट कार्यान्वयन गर्न सकिने भन्दै त्यसतर्फ केन्द्रित हुन आग्रह गरे । सरकारबाट भएका कमजोरी सच्याउनुपर्नेमा समेत कँडेलले जोड दिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद सोशीला शाहीले सरकारले अपेक्षाकृत रूपमा काम गर्न नसकेको गुनासो गरिन् । सरकारले अहिलेसम्म गरेको कामको समीक्षा गर्नुपर्नेमा समेत उनले जोड दिइन् । यस्तै नेपाली कांग्रेस सांसद दिनबन्धु श्रेष्ठले पनि सरकारको क्रियाकलाप सन्तोषजनक नभएको बताउँदै ठूलो मौका हुँदाहुँदै सरकारले राम्रो काम गर्न नसकेको टिप्पणी गरे । सधैं वहाना बनाएर सरकार बस्न नसक्ने भन्दै उनले जनपक्षीय काम गर्न सुझाव समेत दिए ।

प्रकाशित मितिः   ११ आश्विन २०७६, शनिबार १८:००