नागरिक सहायता कक्ष स्थापना
सुर्खेत : सुर्खेत प्रहरीले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर नागरिक सहायता कक्ष स्थापना गरेको छ । चाडपर्वमा यात्रुले भोग्नुपर्ने समस्या समाधान गर्न र सहजताका लागि सुर्खेतको वीरेन्द्रनगर बसपार्कमा नागरिक सहायता कक्ष स्थापना गरिएको हो । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालयले संयुक्त रूपमा नागरिक सहायता कक्ष सञ्चालनमा ल्याएका हुन् । चाडपर्वमा आपराधिक क्रियाकलाप हुने र यसले यात्रुलाई समस्या सिर्जना गर्ने भएकोले सुरक्षित र सहज रूपमा यात्रुलाई गन्तव्यमा पुग्ने वातावरण बनाउन सहायता कक्षले सहयोग पुग्ने प्रहरीले अपेक्षा गरेको छ ।
नागरिक सहायता कक्षमा प्रहरी सहायक निरीक्षकसहितको टोली रहने छ । बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म बसपार्कमा गुनासा सुन्ने, उजुरी लिने र त्यसको समाधान गर्ने जिल्ला ट्राफिक प्रमुख उदयसिंह सिजापतिले जानकारी दिए । बसपार्क तथा सवारी साधनमा यात्रा गर्दा असहज र असुरक्षित भए नागरिक सहायता कक्ष र सम्बन्धित निकायमा उजुरी तथा गुनासो गर्न पनि उनले यात्रुलाई आग्रह गरे । उनल चाडपर्वमा यात्रु बढी राख्ने र तीव्र गतिमा सवारी चलाउँदा दुर्घटना हुन सक्ने भएकाले सवारी चालकलाई ध्यान दिन पनि सुझाव दिएका छन् । कतै यात्रु अलपत्र परे वा चोरी, दुव्र्यवहार भए तत्काल खबर गर्न पनि प्रहरीले आग्रह गरेको छ । चाडपर्वलाई लक्षित गरेर सवारी साधनका लागि टाइमकार्डको व्यवस्था पनि गरिने ट्राफिक प्रहरीले जनाएको छ ।
कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले सुरक्षित, मर्यादित र सुव्यवस्थित यात्रामा नागरिक सहायता केन्द्र्रले सहजीकरण गर्ने अपेक्षा लिएको बताए । उनले बसपार्कमा यात्रुलाई तानातान गरेर चालक र सह–चालकले दुःख दिने कार्य गरेको अनुगमनका क्रममा पाइएको भन्दै अबदेखि यस्तो कार्य नगर्न पनि आग्रह गरे । उनले भने, ‘बसपार्क क्षेत्रमा यात्रुलाई तानातान गर्ने, धरपकट गर्ने र दुःख दिएको पाइएमा हामी सार्वजनिक मुद्दा लगाएर कानुनी कारबाही गर्छौं । त्यसैले चालक र सह–चालकलाई यात्रुलाई दुःख नदिन आग्रह गर्छु ।’ उनले यातायात व्ययसायीलाई टिकट काट्दा परिचय–पत्र लगाएर मात्र टिकट काट्न निर्देशन दिँदै यात्रुलाई पनि परिचय–पत्र भएका कर्मचारीबाट मात्र टिकट काट्न अनुरोध गरे ।
प्रकाशित मितिः १० आश्विन २०७६, शुक्रबार १२:०६
साझा बिसौनी ।