सहभागिता केन्द्रित बजेटमा जोड

सुर्खेत : कर्णाली प्रदेशका सांसदहरूले कृषिको बजेट जनसहभागितामा केन्द्रित गर्न सुुझाव दिएका छन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कार्यविधि संशोधनका लागि सुझाव लिन बिहीवार आयोजना गरेको कार्यक्रममा सहभागी सांसदहरूले यस्तो सुझाव दिएका हुन् ।
बजेट कार्यान्वयन प्रभावकारी हुने हिसाबले कार्यविधि बनाउनुपर्नेमा सांसदहरूको जोड थियो । छलफलमा भाग लिँदै डोल्पाका सांसद वीरबहादुर शाहीले कृषिका कार्यक्रमहरू उपभोक्ता समितिमार्फत गएर जनसहभागिता वृद्धि गर्नुपर्ने बताए । त्यस्तै जाजरकोटका सांसद कृष्णा शाहले कृषिका हरेक कार्यक्रमहरू जनसहभागितामा जानुपर्ने धारणा राखिन् । ‘जनतालाई रोजगारी दिने, युवालाई विदेश पलायन हुनबाट रोक्ने खालका योजना हुनुपर्छ’ उनले भनिन् ।

सुर्खेतका सांसद पद्मा खड्काले अनुगमनको काम प्रभावकारी बनाएर भए पनि बजेटलाई जनसहभागितामा केन्द्रित गर्नुपर्ने बताइन् । दैलेखका सांसद अम्मरबहादुर थापाले उपभोक्तामा जाने विधि प्रभावकारी हुने हुँदा सरकारले निर्माण गर्ने कार्यविधि जनता लक्षित हुनुपर्ने धारणा राखे । सांसद विन्दमान विष्टले विकासको सही प्रयोग गर्न बजेट कार्यान्वयन गर्ने निकायलाई नियमन गर्ने कुरामा मन्त्रालयले निर्देशन दिनुपर्ने तथा दुरुपयोग हुन नदिन सबै पक्ष लाग्नुपर्नेमा जोड दिए ।

प्रकाशित मितिः   १० आश्विन २०७६, शुक्रबार १२:०४