सुरक्षा टोली परिचालन हुँदै

सुर्खेत : चाडपर्वलाई लक्षित गरी सुर्खेतमा सुरक्षा टोली परिचालन गरिने भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले दशैं, तिहार लगायत चाडपर्वका समयमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न उच्च सुरक्षा टोली खटाउने भएको हो । दशैं र तिहार अवधिभरसम्म जिल्लाका विभिन्न ठाउँमा उच्च सुरक्षा टोली खटाइने जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज पन्तले जानकारी दिए । उहाँले सुर्खेत र बर्दियाको सीमामा पर्ने बबई, रत्नराजमार्ग, दैलेख, जाजरकोटलगायत सुर्खेतसँग सीमाना पर्ने ठाउँहरूमा उच्च सुरक्षा टोली खटाइने बताए ।

विभिन्न टोलहरूमा पनि दिउँसो र राती आठ÷आठ जनाको सुरक्षा टोली परिचालन गरिने उनको भनाइ छ । केही दिनअघि मात्रै सुर्खेतमा सरुवा भएर आएका प्रहरी प्रमुख पन्तले यहाँको शान्ति सुरक्षा कायम गर्न प्रतिबद्ध भएको बताए । बिहीवार वीरेन्द्रनगरमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सुर्खेतमा गुण्डागर्दी, जुवातास, घरेलु मदिरा नियन्त्रणका लागि अन्य कुनै पनि आपराधिक गतिविधि हुन नदिन योजना बनाएर अघि बढ्ने बताए ।

प्रहरीले मात्र समाजमा अपराध नियन्त्रण गर्न नसक्ने भन्दै यसमा सबैको साथ र सहयोग आवश्यक भएकाले सहयोग गर्न पनि प्रहरी प्रमुख पन्तले आग्रह गरे । चाडपर्वको समयमा चोरीका घटना बढेकाले नागरिकहरू पनि सचेत हुनुपर्ने उनको भनाइ थियो । ‘चाडपर्वमा चोरीका घटना हुने भएकाले घर खाली नछोड्नुहोस्, कतै आपराधिक क्रियाकलापका घटना भए तत्काल प्रहरीलाई खबर गर्नुहोस्’ उनले भने, ‘बसपार्कमा नागरिक सहायता कक्ष स्थापना पनि गरेका छौं । यात्रा गर्दा असहज र अप्ठेरो भए हामी तत्काल सहयोग गर्छौं ।’

प्रकाशित मितिः   १० आश्विन २०७६, शुक्रबार १२:०३