काँक्रेविहार यातायातमा सापकोटा

सुर्खेत : सुर्खेत काँक्रेविहार यातायात प्रा.लि. को सञ्चालक समिति अध्यक्षमा रमेशकुमार सापकोटा चयन भएका छन् । प्रा.लि.को बुधवार वीरेन्द्रनगरमा सम्पन्न प्रथम अधिवेशनले सापकोटाको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा खड्कप्रसाद जैसी, उपाध्यक्षमा सन्तोष विष्ट, महासचिवमा कलमबहादुर खड्का, सचिवमा पंकज ढकाल, सह–सचिवमा नमन रावल र कोषाध्यक्षमा दिनेशप्रसाद न्यौपाने चयन भएका छन् । सदस्यमा मनोज शाही, पदमसिं विक, मुक्तिनाथ बराल र सोमराज अधिकारी रहेका छन् ।

अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष विजयबहादुर थापाले स्थानीय सरकार र प्रदेश सरकारले यातायात व्यवसायी र यातायात आवद्ध संघ–संगठनहरूलाई अनुगमन र निगरानी गर्नुपर्ने बताए । कार्यक्रममा प्रदेश ट्राफिक प्रहरी प्रमुख रामेश्वर यादवले कर्णाली प्रदेशलाई दुर्घटनारहित बनाउनको लागि आम नागरिकहरूले आफूबाट नै सकारात्मक सोचको विकास गर्नुपर्ने बताए ।

यसैबीच प्रा.लि. ले बोनम्यारो प्रत्यारोपणका क्रममा रहेका पत्रकार डिलप्रसाद शर्माका लागि आर्थिक सहयोग गरेको छ । अधिवेशनकै अवसर पारेर बुधवार नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालमार्फत नगद ११ हजार रूपैयाँ प्रदान गरिएको हो ।

प्रकाशित मितिः   ९ आश्विन २०७६, बिहीबार १४:१३