उपकुलपतिमा गरंजा

                 डा. मस्तबहादुर गरंजा

सुर्खेत : मध्यपश्चिमाञ्चल विश्व–विद्यालयको उपकुलपतिमा डा. मस्तबहादुर गरंजा नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार गरंजालाई उपकुलपतिमा नियुक्त गरेका हुन् । यसअघिका उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइरालाको कार्यकाल सकिएपछि गरंजालाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको थियो । उनी विश्वविद्यालयकै व्यवस्थापन संकायका डीन हुन् । अब उनले पूर्ण अधिकारसहित उपकुलपतिको जिम्मेवारी सम्हाल्नेछन् । यद्यपि गरंजालाई अर्को व्यवस्था नहुँदासम्मका लागि उपकुलपति नियुक्त गरिएको हो ।

कोइरालाको कार्यकाल असोज ६ गते सकिएको थियो । नयाँ उपकुलपति नियुक्तिका लागि संघीय सरकारका शिक्षामन्त्रीको अध्यक्षतामा सिफारिस समिति गठन गरिन्छ । सोही समितिले सम्भावित तीन जना उम्मेदवारको नाम कुलपति समेत रहेका प्रधानमन्त्रीलाई पठाउँछ र प्रधानमन्त्रीले उपकुलपति नियुक्त गर्ने प्रावधान छ । तर सिफारिस समिति नै बन्न नसकेको अवस्थामा प्रधानमन्त्री ओलीले अहिलेका लागि गरंजालाई जिम्मेवारी दिएका हुन् ।

डा. गरंजा स्वयम् पनि उपकुलपतिका प्रमुख दावेदार हुन् । उनका साथै प्रा.डा. जीवेन्द्रदेव गिरी, कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष प्रा.डा. पूण्यप्रसाद रेग्मी लगायत पनि उपकुलपतिका लागि चर्चामा रहेका नाम हुन् ।

प्रकाशित मितिः   ९ आश्विन २०७६, बिहीबार १४:११