विदेश छाेडेर स्वदेशमा रमाउँदै
गुराँस गाउँपालिका–६, पिलाडी दैलेखमा वि.सं. २०३४ साल असोज १६ गते जन्मिएका गोपालप्रसाद रिजाल पेशाले एक व्यवसायी हुन् । वीरेन्द्रनगर–८ खजुरा सुर्खेतमा घर भएका उनी बुवा पदमप्रसाद रिजाल र आमा लक्ष्मी रिजालको कोखबाट जन्मिएका हुन् । हाल पेशाले व्यवसायी भएपनि रिजाल सानो छँदा भने नेपाली सेनाको जागीर खान चाहन्थे । बालापनको सपना पूरा नभएपछि विदेशको यात्रा गरेका उनी विदेशमा पनि रमाउन सकेनन् । अन्ततः विदेशभन्दा नेपालमै बसेर धेरै कमाउन सकिन्छ भन्ने उद्देश्य बोकेर नेपाल फर्किए । हाल उनले वीरेन्द्रनगरमा फेन्सी पसल सञ्चालन गर्दै आएका छन् । नेपालमा गरे के हुन्न र भन्ने मान्यता बोकेका व्यवसायी रिजालले हाम्रा सहकर्मी सीता वलीसंग आफ्नो पेशागत जीवनको कथा यसरी साटे ः
म साविकको पिलाडी गाउँ विकास समिति–८ दैलेखमा जन्मिएको हुँ । सानो छँदा एकदमै चञ्चल स्वभावको थिएँ । बदमासी गर्न र अरुसँग लडाईँ–झगडा गर्न अघि सर्थेँ । सँगसँगै पढाईमा समेत कमजोर भने थिइनँ । घरमा हामी पाँच भाइबहिनी थियौं । दुई बहिनी र तिन भाइ मध्येको म माईलो छोरा हुँ । म भन्दा अगाडि एकजना दिदी र एकजना दाई हुनुहुन्छ । ब्राह्मण परिवार भएकोले बुवाले भने जजमान पेशा गर्नुहुन्थ्यो । पढाईमा एसएलसी पास गरेको छु । सानैदेखी मेरो सपना भनेको नेपाली सेनाको बर्दी लगाएर हिड्ने थियो । आर्मीको त्यो बर्दीदेखी म साह्रै प्रभावित थिएँ । सायद मेरो स्वभाव पनि सुरक्षा मै जागीर गर्ने खालको थियो । नेपाल आर्मीको बर्दी लगाएर राईफल भिरेर हिड्ने सपना पूरा गर्नको लागि मैले प्रयास नगरेको पनि होईन । तीन पटकसम्म आर्मी हुनको लागि प्रयास गरेँ । तर मेरो त्यो बालापनको सपना पूरा भएन । त्यसपछि मैले आफ्नो सपनाको बाटो परिवर्तन गर्ने सोच बनाएँ ।
मैले केही समय कृषि पेशालाई निरन्तरता दिएँ । कृषिमा अलि बढि दुःख हुने र थोरै कमाई हुने भएपछि अरु नै केही गर्नुपर्छ भन्ने सोच लिएर वि.सं. २०६९ साल फागुन महिनामा वैदेशिक यात्रा तय गरेँ । साउदी अरबमा मैले जस्तो सोचेर गएको थिएँ त्यस्तो वातावरण पाईनँ । यहाँभन्दा धेरै दुःख भयो । जीवनमा कहिल्यै नगरेको काम पनि गर्नुपर्ने भयो । त्यसपछि करिब दुई वर्ष तीन महिना वैदेशिक बसाई सकेपछि मैले नेपाल फर्कने निधो गरेँ । नेपालमै केही गर्ने सोच लिएर म २०७२ सालमा फर्किएँ । त्यसपछि फेन्सी पसल सञ्चालनमा लागेको हुँ । हाल वीरेन्द्रनगरमा होराईजन फेन्सी कलेक्सन सञ्चालन गर्दै आएको छु ।
मैले विदेशबाट आएपछि वि.सं. २०७२ सालबाट व्यवसाय शुरु गरेको हुँ । विशेष गरी व्यवसायमा मलाई प्रेरणा दिने मेरो जीवनसंगीनी तारा रिजालले समेत व्यवसायमा सहयोग गर्दै आएकी छन् । दुवैजना मिलेर व्यवसायलाई अगाडि बढाएका छौं । विदेशमा रहँदा मैले कमाउनेभन्दा बढि पैसा मैले यही व्यवसायबाट कमाएको छु । परिवारसँगसँगै बसेर कमाएको यही पैसाले मलाई जीवनको वास्तविक खुशी दिएको छ । हाम्रो पाँच जनाको परिवार छ । दुई जना छोराछोरी, आमा अनी हामी दुईजना खुशी छौं । हाल वीरेन्द्रनगर–८ खजुरामा बस्दै आएको छु । जीवनमा सन्तुष्टि नै ठूलो कमाई रहेछ । जुन मलाई मेरो पेशाले दिएको छ । विदेशमा बस्दा परिवारको एकदमै याद आउने गर्दथ्यो । अहिले सँगै सुख–दुःख साट्दै पेशालाई अगाडि बढाएको छु ।
व्यवसाय मान्छेले कमाउने उद्देश्यले नै गरेको हुन्छ । त्यो उद्देश्यबाट म पनि अछुतो छैन । धेरै कमाउने भन्दा पनि परिवारलाई खुशी बनाउन सकेको छु । यसैमा मलाई खुशी लाग्छ । व्यवसाय नै मेरो जीवनको अन्तिम ईच्छा बनेको छ । यसैगरी सबै युवाहरु विदेशको माया मारेर नेपालमै रमाउन थाले भने नेपालको विकास असम्भव छैन । व्यवसायले व्यक्तिलाई आत्मनिर्भर बनाउँछ । सँगसँगै सन्तुष्टि पनि दिन्छ । त्यसैले पैसा कमाउनकै लागि विदेशिनु पर्छ भन्ने छैन । आफ्नै ठाउँमा पनि व्यवसाय गरेर विदेशमा हुने कमाई जत्तिकै कमाउन सकिन्छ । व्यवसाय गर्दाका अनेक चुनौती पनि छन् । तर लगन र मेहेनतले अघि बढे समस्या आफै समाधान हुँदै जान्छन् । त्यसैले व्यवसायमा सफल हुन मेहेनत र धैर्यता चाहिन्छ ।
प्रकाशित मितिः ८ आश्विन २०७६, बुधबार १२:४७
सीता वली ।