अठार खेलाडी छनौट

साझा बिसौनी संवाददाता
सुर्खेत, २० चैत ।
१४ वर्षमुनीको राष्ट्रिय फुटबल टोली निर्माणका लागि सुर्खेतमा पनि जिल्लास्तरीय छनौट प्रतियोगिता सम्पन्न भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्देशनअनुसार सुर्खेत जिल्ला फुटबल संघले शनिवार वीरेन्द्रनगरमा १८  खेलाडी छनौट गरेको हो ।
वीरेन्द्रनगरस्थित रंगशालामा भएको छनौटमा जिल्लाका १४ वर्षमुनीका ३० जनाभन्दा बढी खेलाडीहरू सहभागी भएका थिए । सहभागीहरूमध्येबाट उत्कृष्ट प्रदर्शनको आधारमा १८ जनालाई छनौट गरिएको सुर्खेत जिल्ला फुटबल संघका महासचिव गणेशकुमार कार्कीले जानकारी दिए । छनौट भएका खेलाडीहरू बन्द प्रशिक्षणमा सहभागी हुनेछन् । उनीहरूलाई एन्फा प्रशिक्षक नविन भण्डारीले केही दिन बन्द प्रशिक्षणमा राखेर अभ्यास गराउनेछन् । 
छनौट भएका खेलाडीहरूलाई नेपालगन्जमा हुने क्षेत्रीय छनौटमा सहभागी गराइनेछ । क्षेत्रीय छनौटमा उत्कृष्ट प्रदर्शन गरेमा काठमाडौंमा हुने राष्ट्रिय छनौटमा सहभागी हुन पाइनेछ । एसियाली फुटबल महासंघको कार्यक्रम अनुसार आउँदो जेठ ७ गतेदेखि १७ गतेसम्म ताजकिस्तानमा हुने १४ वर्षमुनीको एएफसी रिजनल फेस्टिभल अफ फुटबल प्रतियोगिताका लागि खेलाडी छनौट गर्न लागिएको हो ।