प्रधानन्यायाधीशमा सुशीला कार्की अनुमोदित

sushila-karkiकाठमाडौं २६,  असार । संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा सुशीला कार्कीको नाम सर्वसम्मत अनुमोदन गरेको छ । संसदीय सुनुवाई विशेष समितिको केहीबेर अघि बसेको बैठकले कार्कीलाई प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदन गरेको हो । उनी नेपालको पहिलो प्रधानन्यायाधीश महिला हुने भएकी हुन् ।

समितिले कार्कीको सुनुवाई आजै सकाएको हो । कार्कीले आजै संसदीय सुनुवाई विशेष समितिको बैठकमा उपस्थित भएर आफू विरुद्ध परेको उजूरीको बिषयमा जवाफ दिएकी थिइन् ।

कार्कीको जवाफ सुन्नुअगाडि समितिले उनीविरुद्ध उजूरी गर्नेहरुसँग गोप्य बैठक गरेको थियो । आफूविरुद्ध परेको उजूरीको जवाफ दिंदै कार्कीले आफू महिला भएकाले मात्रै प्रधानन्यायाधीश हुन नलागेको दाबी गरिन ।

उनले आफू अस्थायी र स्थायी न्यायाधीश भएको अवधी ७ वर्ष ७ महिनामा ८ हजार ७ सय ६५ मुद्दा छिनेको बताउँदै बैशाख २ गते कायम मुकायम प्रधानन्यायाधीश भएपछि मात्रै ९ सय ३५ मुद्दा छिनेको जानकारी गराइन् ।

उनले अदालतमा मुद्दाको चाप अत्याधिक रहेको भन्दै ११ जना न्यायाधीशको सुनुवाई प्रक्रिया छिटो सुरु गर्न आग्रह गरिन् । समितिले प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस अन्य ११ जनाको पनि सुनुवाई प्रक्रिया अघि बढाएको छ ।

बैठकमा बोल्दै कार्कीले सिफारिसमा परेका ११ जना नै योग्य रहेको र प्रस्ताव सूची समावेशी रहेको बताइन् । ‘सिफारिसमा पर्नुभएका सबैजना यौग्य हुनुहुन्छ’, कार्कीले भनिन्,‘त्यसमा कसैले प्रश्न नउठाए हुन्छ ।’

उनले विभिन्न दलमा आस्था राख्ने व्यक्ति सर्वोच्चको न्यायाधीशमा सिफारिस भएको आरोपप्रति लक्षित गर्दै भनिन्,‘समानुपातिकमा कोही कुनै दलबाट पर्‍यो भन्ने कुराको कुनै अर्थ छैन । म पनि मोरङ नेविसंघको अध्यक्ष थिएँ । यसै कारण मलाई कुनै दल विशेषको आरोप लगाउन मिल्दैन ।’

उनले न्यायाधीशमा सिफारिस गरिएकी अधिवक्ता सपना मल्लको नामै लिएर उनी न्यायाधीश बन्न योग्य रहेको तर्क गरिन । ‘बारमा साधारण अभ्यास गरेकालाई ल्याएर न्यायाधीश बनाउन सकिंदैन’, कार्कीले भनिन्,‘उहाँ ९सपना मल्ल० वरिष्ठ अधिवक्ता हुनुहुन्छ । उहाँलाई ल्याउने मेरो एजेण्डा हो । म एक वर्षपछि बिदा हुँदैछु । मपछि महिलाको समवेदना कसले बुझ्छ रु’

कार्कीले मल्लको सिफारिसलाई लिएर निवर्तमान प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र कानुनमन्त्री अग्नी खरेललाई दोष नलगाउन आग्रह गरिन । ‘जे आलोचना गर्नुहुन्छ, मलाई गर्नुस्’, उनले भनिन्,‘कल्याण श्रीमान र मन्त्री खरेललाई दोष नदिए हुन्छ ।’

उनले अदालतमा केही न्यायाधीशमा कामै नगर्ने प्रवृत्ति देखिएको भन्दै गोल्डेन ह्यान्डसेकको प्याकेज ल्याएर बिदाई गर्नुपर्ने धारणा राखिन् ।

डीएनए टेष्टलाई नाता प्रमाणितको आधार नमानेको भन्दै उनीविरुद्ध परेको उजूरीको बिषयमा महत्वका साथ छलफल भएको थियो । बैठकमा सहभागी अधिकांश सांसदहरुले त्यसै उजूरीलाई आधार मानेर प्रश्न सोधेका थिए ।

उक्त उजूरीको जवाफ दिंदै कार्कीले डीएनए टेष्टलाई प्रमाणको रुपमा अस्वीकार नगरेको दाबी गरिन् । ‘नाता प्रमाणित हुने अन्य यथेष्ट प्रमाण भएमा डीएनए आवश्यक नरहेको उल्लेख गरेको हुँ’, कार्कीले भनिन् ।

 

प्रकाशित मितिः   २६ असार २०७३, आईतवार १०:४६