क्षेत्रीय अस्पताल साढे तीन सय शैयाको बन्दै

aspatalबिसौनी संवाददाता सुर्खेत, २५ असार ।
स्थापना भएदेखि नै विभिन्न आरोप र आलोचना खेप्दै आएको मध्यपश्चिम क्षेत्रीय अस्पताल अब नमुना बन्ने भएको छ । भौतिक संरचना र दक्ष जनशक्तिको अभावमा थला परेको यो अस्पताललाई प्रदेश नम्बर ६ को केन्द्रीय अस्पतालको रूपमा स्तरोन्नति गरिने भएको हो । त्यसका लागि सरकारले आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।
वीरेन्द्रनगरस्थित कालागाउँमा रहेको यो अस्पताल अब साढे तीन सय शैयाको बन्नेछ । भवन अभावमा हालसम्म साँघुरो कुनामा खुम्चिन बाध्य क्षेत्रीय अस्पतालमा शैया विस्तारका लागि नयाँ सुविधायुक्त भवन निर्माण गर्न लागिएको छ । नयाँ भवन निर्माणका लागि यही असार २० गते टेण्डरसमेत आव्हान भइसकेको छ । टेण्डर प्रक्रिया सुरु भएसँगै लामो समयदेखि आफै थला परेको क्षेत्रीय अस्पतालको मुहार फेरिने अपेक्षा गरिएको छ । सबै प्रक्रिया पूरा भए पनि विगत एक वर्षदेखि नयाँ भवन निर्माणका लागि टेण्डर हुन सकेको थिएन ।
प्रधानमन्त्री केपी शर्मा ओली सुर्खेत आएको बेला गत जेठ २५ गते अस्पताल विकास समितिले अस्पतालको भ्रमण गराएको थियो । सोही क्रममा अस्पतालको बिजोग देखेपछि प्रधानमन्त्री ओलीले अस्पतालमा नयाँ भवन निर्माण र शैया थप्नका लागि पहल गर्ने आश्वासन दिएका थिए । प्रधानमन्त्रीले आश्वासन दिएको एक महिनामै अस्पतालको नयाँ भवन निर्माणको प्रक्रिया अगाडि बढेको हो । अस्पतालमा नयाँ भवन निर्माणका लागि सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सुर्खेतले टेण्डर आव्हान गरेको छ । क्षेत्रीयस्तरको अस्पताल भए पनि भौतिक पूर्वाधार र दक्ष जनशक्तिको अभावमा अहिले सामान्य बिरामीलाई पनि उपचारका लागि नेपालगन्जमा रहेको अञ्चल अस्पतालमा रिफर गर्नुपर्ने बाध्यता रहेको छ । तर अस्पताल विकास समितिका अध्यक्ष खम्बराज थानी अब त्यो समस्या टर्ने बताउँछन् । ‘लामो प्रयासपछि हामीले सफलता प्राप्त गरेका छौं, अब अस्पताल साढे तीन सय शैयाको हुन्छ’ अध्यक्ष थानीले भने, ‘त्यसको लागि टेण्डर भइसक्यो, अब यो अस्पताल देशकै नमुना बन्नेछ ।’
हालै ओपीडी सेवा सञ्चालनमा ल्याइएको नयाँ भवनलाई थप सुधार गरेर त्यसमा दुई तला थप गरिनेछ । यस्तै अरु दुई वटा भवन निर्माण हुनेछन् । त्यसपछि अस्पतालमा तीन सय ५० शैयाको सुविधा उपलब्ध हुनेछ । अस्पताल विकास समितिका अनुसार यसका लागि करिब ७० करोड भन्दा बढी रकम खर्च हुने अनुमान गरिएको छ । अस्पताल विकास समितिका सदस्य पूर्णप्रसाद पौडेलले भने, ‘अबको तीन वर्षभित्र नयाँ भवन निर्माण हुनेछन्, त्यसपछि यो अस्पताल भौतिक रूपमा सुविधा सम्पन्न हुनेछ । डाक्टरहरूको दरबन्दी थप गर्ने पहल भइरहेको छ, क्षेत्रीय अस्पताललाई अब प्रदेश नम्बर ६ को केन्द्रीय अस्पतालको रूपमा स्थापित गर्नेछौं ।’ अब अस्पताललाई नाम अनुसारकै सेवा प्रदान गर्न सक्ने बनाउने अठोट विकास समितिले गरेको छ । अस्पतालको विकासका लागि भन्दै केही दिन पहिला मात्र अस्पताल विकास समितिका पदाधिकारीहरूले राजधानीमै गएर प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीलाई विभिन्न मागहरू बुझाएका छन् । अस्पतालमा तत्काल आइसीयू, इनआइसीयू र सीटी स्क्यान सुविधाको व्यवस्था गर्न माग गरिएको छ । यसमा स्वास्थ्य मन्त्रालय सकारात्मक बनेको छ ।
यो अस्पतालको सेवा विस्तार भएमा कर्णाली अञ्चल र यस क्षेत्रका अन्य पहाडि जिल्लाका बिरामीहरू लाभान्वित हुनेछन् । अस्पताल विकास समितिका अध्यक्ष थानी भन्छन्, ‘विदेशी प्राविधिकले भवनको डिजाइन गरेका हुन्, बजेट पनि ठूलो मात्रामा छ । ‘क’ वर्गका ठेकेदारसँग मात्र निर्माण सम्झौता हुनेछ, तोकिएको अवधिमै अस्पतालले काँचुली
फेर्नेछ ।’ सुर्खेतका राजनीतिक दलको एकता र वर्तमान सरकारको सहयोगले अस्पतालले मुहार फेर्ने मौका पाएको उनको भनाइ छ । उनका अनुसार अब यो अस्पताल देशकै नमुना र सुविधायुक्त हुनेछ । भवन अभावमा हाल यो अस्पतालको आकस्मिक सेवा, ओपीडी सेवा र प्रशासन छुट्टाछुट्टै स्थानबाट प्रदान भइरहेको छ । बिरामीको उपचारका लागि स्थापना गरिएको यो अस्पताल आवश्यक भौतिक पूर्वाधार र जनशक्ति नहुँदा आफै थला परेको छ । जसका कारण अस्पतालको आलोचना समेत हुँदै आएको छ । नयाँ भवन निर्माण र शैया विस्तारका लागि टेण्डर आव्हान भएसँगै यस क्षेत्रका बासिन्दाले अस्पतालमा सुधार हुने अपेक्षा गरेका छन् ।

प्रकाशित मितिः   २६ असार २०७३, आईतवार ०७:३५