दिगो घर बनाउन प्राविधिकलाई प्रशिक्षण

सुर्खेत : स्थानीय तहका प्राविधिकहरूलाई दिगो घर र सुरक्षित बस्ती बनाउन प्रशिक्षण दिइएको छ । स्थानीय तहमा बनेका पुराना घरहरूको स्वरूप परिवर्तन नगरेर भूकम्परहित बनाउन प्राविधिकहरूलाई भवन प्रवलीकरण (रेट्रोफिटिङ्ग) प्रशिक्षण दिइएको हो ।

भूकम्पीय दृष्टिकोणले कमजोर पूराना भवनहरूलाई प्रवलीकरण गर्दै मजबुत बनाउने सम्बन्धी प्राविधिकहरूलाई डिजाइन प्रशिक्षण दिइएको भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) का दरो घर दिगो बस्ती कार्यक्रम संयोजक शोभाराम भट्टराईले जानकारी दिए । ‘भवनसंहिता लागू हुनुभन्दा पहिला बनेका भवनहरूलाई भूकम्परहित बनाउन प्रवलीकरण आवश्यक छ’ भट्टराईले भने, ‘स्थानीय तहहरूका प्राविधिकहरूलाई यस सम्बन्धी दिएको प्रशिक्षणले भविष्यमा जान सक्ने
भूकम्पबाट मानवीय क्षति रोक्नु यसको ध्येय हो ।’ एनसेटले नमुना प्रवलीकरणका रूपमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा काम गरिरहेको छ । पिल्लरविनाको भवनमा हाल प्रवलीकरण (रेट्रोफिटिङ्ग) गर्न एनसेटले प्राविधिक सहयोग गरिरहेको भट्टराईको भनाइ छ ।

असोज १० गतेसम्म सञ्चालन हुने प्रशिक्षणमा देशभरका १२ स्थानीय तहका प्राविधिकहरू, परामर्शदाता तथा मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा स्नातकोत्तरमा अध्ययनरत विद्यार्थीहरू प्रशिक्षणमा सहभागी छन् । उनीहरूलाई कृति तिवारी, कुवेर बोगटी, आशिष तिवारी, शोभाराम भट्टराई, शरद वाग्लेले प्रशिक्षण दिनेछन् । प्रशिक्षकहरूले भवन प्रवलीकरण डिजाइन तथा त्यसबारे स्थानीय तहहरूले कसरी काम गर्न सकिन्छ भन्नेबारेमा जानकारी दिइने एनसेटले जनाएको छ । यूएसएआईडी÷अफडाको सहयोगमा वीरेन्द्रनगर नगरपालिका, घोराही उप–महानगरपालिका र भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) ले कार्यक्रमको आयोजना गरेको हो ।