‘विद्यालयक्षेत्रको संरचना परिवर्तन आवश्यक’

सुर्खेत : कर्णाली प्रदेशसभाका सदस्य धर्मराज रेग्मीले संघीयताको मर्मअनुसार विद्यालयक्षेत्रको संरचना समेत परिवर्तनको आवश्यकता भएको बताएका छन् । मार्टिन चौतारी काठमाडांै र मध्यपश्चिमाञ्चल विश्वविद्यालय शिक्षाशास्त्र संकायको संयुक्त आयोजनामा सोमवार वीरेन्द्रनगरमा सम्पन्न ‘संघीयतामा विद्यालय शिक्षा’ विषययक सरोकारवालाहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

रेग्मीले विद्यालयक्षेत्रको परिवर्तनका लागि सरकारी क्षेत्रबाट हुने लगानी र नियमनको कमजोरीलाई सुधार्नुपर्ने समेत बताएका छन् । शिक्षामा गुणस्तरीयता ल्याउनको लागि संघीयताको ढाँचामा विद्यालयका संरचनाहरू बनाउनुपर्ने धारणा रेग्मीको रहेको थियो ।

त्यस्तै कार्यक्रममा बोल्दै योजना आयोग कर्णाली प्रदेशका सदस्य डा. दीपेन्द्र रोकायले परम्परागत शिक्षालाई निरन्तरता दिए संघीयता कार्यान्वययन गर्ने जनशक्ति उत्पादन नहुने उनले बताए । उनले व्यवहारिक शिक्षामा सबैले जोड दिनुपर्ने धारणा राखेका थिए । कार्यक्रममा मार्टिन चौतारीको तर्फबाट लोकरञ्जन पराजुलीले विषयवस्तुबारे जानकारी दिएका थिए भने, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका तर्फबाट उप–प्राध्यापक विष्णुकुमार खड्काले प्रस्तुती राखेका थिए । संघीय प्रणालीमा नेपालको विद्यालय शिक्षाको अनुभव, अभ्यास कस्तो छ र पुनर्संरचना गर्दा पुनर्याेजनाका कार्यक्रम के हुन सक्छन् भन्ने विषयमा छलफल गरिएको थियो ।