नलगाडको विद्युत उत्पादन क्षमता वृद्धि
जाजरकोट : जाजरकोटमा निर्माण हुन लागेको नलगाड जलविद्युत आयोजनाको क्षमता बढ्ने भएको छ । यसअघि चार सय १० मेगावाटको निर्माण गर्ने भनिएको थियो । तर अब भने ७ मेगावाट विद्युत उत्पादन क्षमता बढ्ने भएको छ ।
आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) गर्दा यो तथ्य सार्वजानिक भएको हो । आयोजनाको विद्युत उत्पादन क्षमता बढेसँगै स्थानीयवासी खुशी भएका छन् । सुरूमा गरिएको अध्ययनले चार सय १० मेगावाट विद्युत उत्पादन हुने सर्वेक्षण गरिएकोमा अहिले डीपीआरको प्रारम्भिक प्रतिवेदनबाट सात मेगावाट विद्युत उत्पादन क्षमता बढेको आयोजनाका इन्जिनियर पदम थापाले जानकारी दिए । बारेकोट गाउँपालिकाको अधेरीखोलामा निर्माण हुने बाँधको उचाइ सुरूमा दुई सय मिटर रहेकोमा अहिले दुई १० मिटर बनाएकोले विद्युत उत्पादन क्षमता बढेको उनले बताए । वातावरण प्रभाव मूल्यांकनको प्रतिवेदन तयार भइ वन मन्त्रालयमा स्वीकृतीका लागि पठाएको छ ।
त्यसैगरी, आयोजनाको जग्गा अधिग्रहणको कामसमेत सुरू भएको छ । जाजरकोट लामो समयदेखि अर्थ अभावका कारण किस्ता–किस्तामा वितरण हुँदै आएको नलगाड जलविद्युत निर्माणस्थलको मुआब्जा उपलब्ध गराउनका लागि सूचनासमेत प्रकाशन गरिएको छ । चार हजार चार सय ६२ (तीन हजार आठ सय ६१ कित्ता) रोपनी जग्गा अधिग्रहण गर्नका लागि सूचना प्रकाशन गरिएको छ । सरकारले सबै मुआब्जा दिने गरी दुई अर्ब ७२ करोड रकम विनियोजन गरेको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बताए । मुआब्जा यसै वर्षमा वितरण गरेर काम सुरु गर्ने मन्त्री बस्नेतले बताए । चार वर्ष अघिदेखि मुआब्जा वितरण कार्य सुरु गरिए पनि रकम अभावमा अहिलेसम्म बाँधस्थल अँधेरी खोलामा एक सय ५० रोपनी र विद्युतगृह निर्माणस्थलको दुई सय ५० रोपनीको मात्र मुआब्जा वितरण गरिएको थियो । अब बाँधस्थलका स्थानीयवासीको जग्गा अधिग्रहण गरी मुआब्जा वितरणको काम सुरु भइसकेको मन्त्री बस्नेतले जानकारी दिए ।
विस्तृत योजना प्रतिवेदन (डीपीआर) काम चार महिनाभित्र सकिने सम्भावना रहेको कम्पनीका इञ्जिनियर पदम थापाले जानकारी दिए । स्मेक, एमडब्लूएच कन्सल्टेन्टले विस्तृत योजना प्रतिवेदन बनाउने जिम्मा लिएको छ । तोकिएको समयमा प्रतिवेदन दिन नसकेको कन्सल्टेन्टलाई ६ महिनाको अवधि थपिएको भए पनि, थपिएको अवधि भदौ २ गते नै सकिएकोले अहिले म्याद थपिएको छैन । तोकिएको समयावधिमा डीपीआरको प्रतिवेदन दिन नसक्ने कन्सल्टेन्ट जति ढिला गर्छ, उति बढी विलम्ब शुल्क वापत सम्झौता रकमको १० प्रतिशतका हिसाबले तिर्नुपर्ने आयोजनाले जनाएको छ ।
यो आयोजना निर्माण भएमा चार सय १७ मेघावाट विद्युत उत्पादन हुने लक्ष्य राखिएको छ । बारेकोट गाउँपालिकाको अँधेरीखोलामा बाँध निर्माण र नलगाड नगरपालिका–७ दल्लीमा भूमिगत विद्युतगृह निर्माण हुनेछ । विद्युत गृह निर्माणका लागि तीन सय ४५ मिटर सुरुङ निर्माण गरी माटोको अवस्था पत्ता लगाउने काम सुरु भए पनि थपिएको मिति सकिँदासम्म दुई सय ५० मिटर मात्र निर्माण गरिएको आयोजनाका इञ्जिनियर थापाले बताए । सरकारले अबको १० वर्षभित्र सात प्रदेशमा १२ ठूला आयोजना सम्पन्न गर्ने लक्ष्य लिएर कर्णाली प्रदेशमा चार सय १७ मेगावाटको नलगाड जलाशययुक्त आयोजना अघि बढाउने योजना अगाडि सारेको थियो ।
प्रकाशित मितिः ६ आश्विन २०७६, सोमबार १२:११
साझा बिसौनी ।