ट्याक्टर व्यवसायीद्वारा नगरपालिकामा धर्ना

सुर्खेत : सुर्खेतमा ट्याक्टर व्यवसायीले वीरेन्द्रनगर नगरपालिकामा ट्याक्टरसहित धर्ना दिएका छन् । आइतवार ट्याक्टरसहित नगरपालिका पुगेका व्यवसायीले नगरपालिकाको कार्यालयमा धर्ना दिएका हुन् ।

बालुवा उत्खनन्का लागि टेण्डर नहुँदा आफूहरू कामविहीन भएको भन्दै उनीहरूले तत्काल टेण्डर गर्न माग गरेका छन् । असोज सुरू हुनुभन्दा अघि नै बालुवा उत्खनन्का लागि खुला गर्नुपर्ने भए पनि वीरेन्द्रनगर नगरपालिकाले नखोलेपछि कमाइ गर्ने बाटो बन्द भएको भन्दै नगरपालिका घेराउ गरेको ट्याक्टर चालक तुलाराम बाँस्कोटाले बताए ।

असार १ गतेदेखि ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन् कार्य बन्द गरिएको थियो । नियमानुसार असोज १ गतेबाट नै उत्खनन् गर्ने वातावरण मिलाउनुपर्ने भए पनि वर्षा नरोकिएको र अन्य विविध कारणले नखोलिएको वीरेन्द्रनगर नगरपालिकाका उप–प्रमुख मोहनमाया ढकालले बताइन् । ‘उहाँहरूको माग जायज छ’ उप–प्रमुख ढकालले भनिन्, ‘असोज २ गतेको बैठकबाट टेण्डर खोल्ने निर्णय गरिसकिएको छ, अब प्रक्रियामा जान्छौं ।’ ट्याक्टर चालक तथा मजदुरहरूले भने टेण्डर गर्दा समय लाग्ने भएकाले दशैंभन्दा अघि नै काम सुरू गर्ने गरी वातावरण मिलाउन माग गरेका छन् ।

प्रकाशित मितिः   ६ आश्विन २०७६, सोमबार १२:०८