दरबन्दी ३२, कार्यरत १४ जना

सल्यान : जिल्ला अस्पताल सल्यानमा दरबन्दी अनुसारको चिकित्सक नहुँदा उपचारमा समस्या भएको छ । बिरामीको चाप बढे पनि दरबन्दीअनुसार चिकित्सक नहुँदा समस्या भएको हो । कार्यालय सहयोगीसहित ३२ जनाको दरबन्दी भएको अस्पतालमा अहिले १४ जना मात्रै कार्यरत रहेको कार्यालय प्रमुख डा. अर्जुन बुढा मगरले बताए । विगतमा अस्पतालमा दरबन्दी अनुसार कर्मचारी भए पनि समायोजन भएर जाँदा समस्या भएको उनले बताए ।

‘अस्पतालमा करिब–करिब दरबन्दी अनुसारका नै कर्मचारी थिए, तर समायोजन भएर अहिले सबै गइसकेका छन्’ उनले भने ‘दरबन्दीअनुसार चारजना डाक्टर हुनुपर्ने अस्पतालमा १ जना मात्रै हुँदा समस्या भएको छ ।’ उनले बिरामीको चाप बढेसँगै १५ शैयाको अस्पतालमा २२ शैया थपेर ३७ शैयाबाट सेवा प्रदान गर्दै आइरहेको डा. बुढाले बताए । ‘अस्पताल १५ शैयाको हो, तर बिरामीको चापले ३७ शैया बनाएर सञ्चालन गरेका छौं’ उनले भने ।

प्रमुख डा. बुढा मगरले स्वास्थ्य सेवा विभागको बेवास्ताका कारण समस्या भएको बताए । अहिले अप्रेशन, डेलिभरी, इमरजेन्सी, प्लाष्टरलगायतका काम एक्लै गर्दै आइरहेको बताए । कर्मचारी नहुँदा समस्या भएको विषयमा स्वास्थ्य सेवा विभागमा बेला–बेलामा जानकारी गराउँदै आएको भए पनि समस्याको समाधान नभएको उनको भनाइ छ । विभागले समयमा नै अस्पतालमा दरबन्दी अनुसार कर्मचारी नपठाउने हो भने आगामी दिनमा झनै समस्या बढेर जाने उनले बताए ।

प्रकाशित मितिः   ६ आश्विन २०७६, सोमबार १२:०७