बालश्रममुक्त बन्दै वीरेन्द्रनगर
सुर्खेत : वीरेन्द्रनगर नगरपालिकालाई बालश्रममुक्त बनाइने भएको छ । यसका लागि वडास्तरबाटै अभियान सञ्चालन गर्ने तयारी गरिएको छ । वडास्तरबाटै कार्ययोजना निर्माण गरी नगरलाई बालश्रममुक्त बनाउन लागिएको नगरपालिकाका उप–प्रमुख मोहनमाया ढकालले जानकारी दिइन् । श्रम तथा रोजगार मन्त्रालयले नेपालका ११ वटा नगरपालिकालाई बालश्रममुक्त नगर घोषणा गर्ने योजना बनाएपछि यो अभियानमा वीरेन्द्रनगर नगरपालिका समेत जुटेको हो ।
‘मन्त्रालयको योजनामा वीरेन्द्रनगर नगरपालिका समेत परेको छ’ उप–प्रमुख ढकालले भनिन् ‘वीरेन्द्रनगरका सबै वडाबाट विभिन्न कार्ययोजना निर्माण गरी बालश्रमलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने गृहकार्यमा हामीहरू लागिरहेका छौं ।’ यसका साथै वीरेन्द्रनगरलाई बालमैत्री नगर निर्माणको लागि बालसंरक्षण नीति तर्जुमा समेत गरिसकेको उप–प्रमुख ढकालले जानकारी दिएकी छन् । उनले बालविवाह, बालहिंसा लगायतबाट पनि नगरलाई मुक्त गर्ने लक्ष्य रहेको बताइन् ।
शनिवार वीरेन्द्रनगर नगरपालिकाले आयोजना गरेको बालहिंसा र बालविवाह न्यूनीकरण सम्बन्धी उत्प्रेरणात्मक अभिमुखीकरण तालिममा बोल्दै उनले भवन निर्माण भन्दा बालसंरक्षण नीति आवश्यक भएको समेत बताइन् । वीरेन्द्रनगर नगरपालिका कर्णाली प्रदेशको राजधानी भए पनि बालविवाहको कारण ठूलै चुनौती थपिएको ढकालको भनाइ थियो । ‘आमा–बुवाको विवाहदर्ताको उमेर पुगेको हुँदैन तर बच्चाको जन्मदर्ता गरी विद्यालय जाने उमेर भइसकेको
उदाहरण पनि हामीसँग छन्’ उनले भनिन् । बालविवाह न्यूनीकरण तथा बालअधिकार सुनिश्चित गर्नको लागि वडा तथा नगरस्तरीय बालक्लब गठनको पनि बाल संरक्षण नीति ल्याएको ढकालले जानकारी दिएकी छन् । वीरेन्द्रनगरलाई बालमैत्री नगर निर्माण गर्नको लागि सबैलाई सहयोग गर्न उनले अपिल समेत गरिन् ।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका सबै वडा अध्यक्षहरूले बालश्रममुक्त नगर निर्माणका लागि प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरूले आ–आफ्नो वडास्तरमा बालविवाह रोक्ने, बालहिंसा हुन नदिनको लागि जनचेतनामूलक कार्यक्रमहरू गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
प्रकाशित मितिः ५ आश्विन २०७६, आईतवार १२:०६
साझा बिसौनी ।