हुम्ला सदरमुकाम विद्युतविहीन

हुम्ला : जिल्ला सदरमुकाम सिमकोट आसपासका नागरिक दुई सातादेखि विद्युतविहीन र चार दिनदेखि सञ्चारविहीन भएका छन् । २० भदौबाट हिल्दुम वितरण केन्द्रले नयाँ पेन स्टक पाइप बदली र नहर मर्मत गर्ने भन्दै विद्युत बन्द गरेपछि टेलिकमले जेनेरेटरबाट सेवा प्रवाह गर्दै आएको थियो ।

नेपाल टेलिकमले जेनेटर मेसिनबाट सञ्चालन गरेको टेलिफोन दिनमा एकछिन मात्र चल्ने गरेको थियो । ४ दिनदेखि टेलिफोन इन्टरनेट नहुँदा जिल्ला सदरमुकाम सिमकोटका सेवाग्राही मर्कामा परेका छन् । नेपाल टेलिकम हुम्लाले गुणस्तरीय सेवा प्रवाह गर्न नसक्दा जिल्ला सदरमुकाम सिमकोटमा रहेका सरकारी तथा गैरसरकारी संस्थालाई समस्या परेको छ ।

नेपाल टेलिकम हुम्ला शाखाका कर्मचारी खड्क विकका अनुसार १९ भदौदेखि सञ्चालन गरेको जेनेरेटर पनि १ असोजबाट बिग्रिएको छ । १३ दिनसम्म जेनेरेटर चलाउँदा एक लाख ३८ हजार बराबरको तेल खर्च भएको उनले बताए ।

प्रकाशित मितिः   ५ आश्विन २०७६, आईतवार १२:०४