पेट्रोलियम अन्वेषण कार्तिकबाट सुचारु हुने

 

सुर्खेत : दैलेखमा पेट्रोलियम तथा ग्यास खानी अन्वेषणको काम आगामी कार्तिकबाट पुनः सुचारु हुने भएको छ । वर्षात्का कारण रोकिएको कार्य आउँदो महिनाबाट सुचारू गर्ने तयारी भइरहेको छ ।

खानी विभाग र चाईना जियोलोजिकल सर्भेको प्राविधिक टोलीले गत वैशाखबाट दैलेखमा पेट्रोलियम अन्वेषण सुरू गरेको
थियो । तर वर्षात्का कारण अन्वेषण प्रभावित भएपछि काम रोकेर टोली फर्कियो । जोखिमयुक्त भौगोलिक बनावटमा वर्षात्को समयमा काम गर्न नसकिने भन्दै गत साउन १५ गते चिनियाँ टोली स्वदेश फर्किएको हो । अब कार्तिक पहिलो साताबाट अन्वेषण सुरू हुने खानी विभागले जनाएको छ ।

पहिलो चरणमा यसअघि नै भौगोलिक अवस्थाको प्रारम्भिक अध्ययन गरिएको थियो । उक्त अध्ययनबाट ग्यास निस्किरहेको तथा पानीमा तेल तैरिरहेको पाइएपछि खानी भएको बताउँदै दोस्रो चरणको अन्वेषण थालिएको हो । पेट्रोलियम भएको सम्भावित क्षेत्रको जमिनमा सेन्सर राखेर कृतिम कम्पनमार्फत उक्त पदार्थको भित्री स्थान पहिल्याउने काम गरिनेछ । भौगर्भिक शब्दावलीमा ‘सेस्मिक सर्भे’ नाम दिइएको यस्तो अध्ययनले जमिनको ‘एक्सरे’ गरिन्छ । यो अध्ययनबाट जमिनमुनी ठ्याकै कुन भागमा पेट्रोलियम छ भन्ने पत्ता लाग्ने छ ।

चीनको नेशनल चाइना पेट्रोलियम कर्पोरेसन (एनसीपीसी) का विज्ञहरूले नेपाली टोलीलाई सहयोग गरिरहेको छ । चिनियाँ प्राविधिक टोलीको नेतृत्व प्रोफेसर चाङयूफानले गरेका छन् भने नेपाली टोलीमा रजौरेको नेतृत्वमा चार जना प्राविधिकहरू संलग्न छन् । एनसीपीसी पेट्रोल अन्वेषण र उत्खनन् गर्ने विश्वकै अग्रणी मानिन्छ । २०७२ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा द्विपक्षीय सम्झौता भएपछि २०७३ वैशाखमा चिनियाँ टोलीले नेपालमा पेट्रोलियम उत्खनन्को सम्भावनाबारे प्रारम्भिक अध्ययन गरेको थियो । सम्भावित क्षेत्रका चट्टानलगायत नमूना चीनमा परीक्षणपछि सम्भावित क्षेत्रको अन्वेषण तालिका बनाएर गत वैशाखबाट थप अध्ययन सुरु
भएको हो ।

प्रकाशित मितिः   ४ आश्विन २०७६, शनिबार १२:१३