संविधान दिवसमा विविध कार्यक्रम

सुर्खेत : संविधान दिवस शुक्रवार कर्णाली प्रदेशमा पनि विविध कार्यक्रम गरी मनाइएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा कर्णाली प्रदेश सरकारको आयोजनामा प्रभातफेरीसहित विशेष समारोह सम्पन्न हुँदा अन्य जिल्लाहरूमा पनि विविध कार्यक्रम गरिएको छ ।

दिवस मनाउने क्रममा आयोजना गरिएको समारोहलाई सम्बोधन गर्दै कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संविधानले दिएको अवसरलाई सदुपयोग गर्नुपर्ने धारणा राखेका छन् । मुख्यमन्त्री शाहीले संघीय शासन प्रणालीको संस्थागत विकास गर्दै संविधानले ग्यारेण्टी गरेका नागरिकका मौलिक हकको कार्यान्वयनको दिशामा अघि बढ्नुमा नै संविधान दिवस मनाउनुको सार्थकता रहेको समेत बताएका छन् । उनले संविधान कार्यान्वयन प्रक्रियालाई केही प्रतिगामी शक्तिहरूले अवरोध गर्न खोजेको समेत आरोप लगाए । ‘अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना तथा जनताको संविधान निर्माणका लागि सहिदहरूको बलिदानी नै मुख्य कारण हो’ उनले भने ‘यसलाई जोगाउन सके मात्रै कर्णालीको विकास सम्भव छ ।’

मुख्यमन्त्री शाहीले तीव्र गतिमा आर्थिक, सामाजिक तथा भौतिक विकास गर्दै सामाजिक न्यायसहितको समृद्ध प्रदेश निर्माणको लागि सबै नागरिक लाग्नुपर्ने समेत बताएका थिए । दिवसको अवसरमा सरकारले आयोजना गरेको कार्यक्रममा विभिन्न झाँकीलगायत साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

प्रकाशित मितिः   ४ आश्विन २०७६, शनिबार १२:११